भर्खरै :

निर्वाचन बिथोल्ने बदनियतले अराजक र अप्रजातान्त्रिक गतिविधि

निर्वाचन बिथोल्ने बदनियतले अराजक र अप्रजातान्त्रिक गतिविधि

काठमाडौंँ, २९ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौँ उपत्यका क्याम्पस परिचालन समितिले सोमबार एक विज्ञप्ति जारी गरेको छ । समितिका अध्यक्ष तारा न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ :
विद्यार्थी हकहितको लागि आवाज उठाउने साझा सङ्गठन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत ५ गते हुन गइरहेको छ । चुनावको कार्यतालिकाअनुसार फागुन १९ गते काठमाडौँ उपत्यकासहित त्रिविका विभिन्न आङ्गिक र सामुदायिक क्याम्पसहरूमा सङ्गठन/समूह दर्ता भएका छन् । त्यसयता शासक दलका विद्यार्थी सङ्गठनहरूले निर्वाचन बिथोल्ने बदनियतले गरेका अराजक र अप्रजातान्त्रिक गतिविधिहरूप्रति नेक्राविसङ्घको ध्यानाकर्षण भएको छ ।
कुनै ठोस कारण नखुलाई नेविसङ्घ, अनेरास्ववियुलगायतका विद्यार्थी सङ्गठनले मनोमानी गर्दै काभ्रेका क्याम्पस प्रशासन र निर्वाचन कार्र्यालयमा तालाबन्दी गरी कुनै पनि चुनावी गतिविधि नगर्न धम्कीपूर्ण विज्ञप्ति जारी गरे । यसको पछाडि भित्री भागबन्डा नमिलेको आम विद्यार्थीको बुझाइ छ । शासक दलका विद्यार्थी सङ्गठनहरूको कुत्सित कार्यले आम विद्यार्थीको प्रजातान्त्रिक अधिकार कुण्ठित गरेको छ । यस्ता अराजक गतिविधिप्रति नेक्राविसङ्घ खेद प्रकट गर्दछ ।
सत्तासीन गठबन्धनकै एक घटकले काठमाडौँ रत्न राज्यलक्ष्मी क्याम्पसमा एकलौटी मनोनयन दर्ता गराउने उद्देश्यले खुकुरी देखाएर आतङ्क मच्चाउने कार्य ग¥यो । आफूअनुकूल मनोनयन दर्ता गराउन नेविसङ्घका विद्यार्थीहरूले पद्मकन्या क्याम्पसमा दर्ता समय नै परिवर्तन गराउनु दादागिरी नै हो ।
आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्यनरत २०७४ ब्याचका इन्टर्नका विद्यार्थीहरूको नामावली क्याम्पसले नै प्रकाशन गरेन । पाठ्यक्रमअनुसार साढे पाँच वर्षसम्म ती विद्यार्थी क्याम्पसकै विद्यार्थी रहने प्रावधान छ ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुरका ‘निजी कार्यक्रम’मा अध्ययनरत विद्यार्थीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नदिँदा केही विद्यार्थी सङ्गठनले विरोध जनाइरहेका छन् । क्याम्पस प्रशासनको विद्यार्थीविरोधी रवैयाले विद्यार्थीको अधिकारमाथि अङ्कुश लगाइरहेको नेक्राविसङ्घको पनि ठहर छ ।
निर्वाचनसँग जोडिएका यी यावत् विषयको गम्भीर समीक्षा गर्दै स्ववियु निर्वाचन समिति २०७९ तथा सम्बन्धित सङ्गठनहरूलाई सौहार्द, निष्पक्ष तथा भयरहित वातावरणमा तोकिएकै मितिमा निर्वाचन गराउन नेक्राविसङ्घ जोडदार माग गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *