भर्खरै :

ईश्वरको नाममा शपथग्रहण सामन्तवादकै अवशेष

ईश्वरको नाममा शपथग्रहण सामन्तवादकै अवशेष

काठमाडौँ, २९ फागुन । राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई सोमबार एक समारोहबिच शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरियो । विज्ञान र प्रविधिको यो युगमा उक्त शपथग्रहण ईश्वरको नाममा गरियो । देश र जनताको नाउँमा गर्नुपर्ने शपथग्रहण ईश्वरको नाममा भएको घटनाले नेपालमा अझै सामन्तवादको अवशेष भएको थाहा हुन्छ । पञ्चायत या राजा–महाराजाको पालामा झैँ अहिले पनि ईश्वरको नाममा राष्ट्रपतिको शपथग्रहण किन आवश्यक भयो ? के ईश्वरको नाम लिएपछि शपथग्रहणमा शपथ खाएझैँ राष्ट्रपतिले काम गर्ने हो ? कसैको दबाब र प्रभावमा नपरी राष्ट्रपतिले के आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो ? के ईश्वरलाई अहिले पनि संसारका सृष्टिदाता भनेर बखान गर्ने हो ?
ईश्वरको नाउँमा शपथग्रहण गर्ने व्यवस्था निरङ्कुश पञ्चायती व्यवस्था या राजतन्त्रमा भए पनि अहिले त्यसलाई संशोधन गर्नुपर्ने थियो । शपथ भनेको वाचा पूरा गर्ने हो, शपथ खाएअनुसार आफूले कर्तव्य पालना गर्ने हो । वाचा पूरा गर्न या प्रतिबद्धता कार्यान्वयन गर्न ईश्वरको नाउँ लिनु आवश्यक छैन । ईश्वरको नाम लिएपछि के त्यो बाचा पूरा हुन्छ ? ईश्वरको नाउँमा शपथग्रहण गर्ने कार्य राजावादीहरूले समर्थन गरेकोमा कुनै आश्चर्य छैन, ‘ईश्वर’ शब्द हटाइएको खण्डमा राजावादी दलले विरोध गर्नु स्वाभाविक हो । राजावादीहरू सामन्तवादलाई टिकाइ राख्छन्, टिकाइ राख्न अनेकानेक यत्न गर्छन् । तर, आफूलाई प्रजातन्त्रवादी, गणतन्त्रवादी, ठूला भनिने शासक कम्युनिस्ट त्यस व्यहोरा संशोधन गर्न किन अघि बढ्दैनन् ? नेमकिपाका सांसदहरूले त्यसबारे पटकपटक सरकार र सांसदहरूको ध्यानाकर्षण गरेका थिए । देश र जनताको नाउँमा शपथग्रहण गर्नुपर्ने विचार नेमकिपाले अघि सारेको थियो । नेमकिपाको त्यो मागप्रति सरकारले खासै चासो राखेन । फलतः हरेक पटक राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरूको शपथग्रहण ईश्वरको नाममा गर्नुपर्ने बाध्यता अद्यापि छ । सोमबार गरिएको राष्ट्रपतिको शपथग्रहण पनि ईश्वरकै नाममा गरिएको थियो । उक्त ‘ईश्वर’ शब्द हटाएर देश र जनताको नाउँमा शपथग्रहण गर्न कुन निकायले कहाँ के गर्नुपर्ने हो ? त्यो प्रक्रिया अगाडि बढाउनुपर्ने गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *