भर्खरै :

तर्साएरै सरकार टिकाउने !

तर्साएरै सरकार टिकाउने !

तेस्रो ठूलो दलका शासक पुष्पकमल दाहाल कहिले सबभन्दा ठूलो दल नेका त कहिले दोस्रो ठूलो दल एमालेलाई तर्साएर सत्तामा बसेर जुँगा मुसार्दै छन् । हिजो एमालेको गठबन्धनमा बस्दा एमालेलाई र अहिले नेकाको गठबन्धनमा बस्दा नेकालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तर्साइरहेका छन् । कहिले एमाले र कहिले नेकासँग समन्वय गरेर एक नम्बरको अवसरवादी, अस्थिर र बोलीको ठेगान नभएका शासक दाहाल कुर्सीबिना बाँच्नै नसक्ने, सरकारमा नगई र अरू दलसँग पालैपालो नमिली पार्टीको जोहो गर्न नसक्ने नेताको रूपमा परिचित छन् । अहिले उनी केही दिनमा समाजवादी मोर्चा बनेर फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ भनी धाक लगाउँदै छन् । क्रान्तिकारी बाटो छोडेर सरकारसामु हतियार बुझाएर आत्मसमर्पण गरेको माओवादी केन्द्र अरू वर्गसङ्घर्षको बाटो रोजेका दलहरूसँग कसरी मिलेर बस्न सक्छन् ?
शक्तिशाली कम्युनिस्ट केन्द्र बनाएर माओवादी केन्द्रले गर्ने के ? अहिलेझैँ सरकारमा टाँसिरहने हो कि सत्ता छोडेर देशमा आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गर्ने ? माक्र्सवादी–लेनिनवादी मूल्य र मान्यताअनुसार समाजवादी बाटो कम्युनिस्ट केन्द्रले रोज्दैन, क्रान्ति गर्न वर्गसङ्घर्षको बाटो रोज्दैन भने ठूलो दल बनेरै के गर्ने ? संविधानसभाको निर्वाचनपछि भएको निर्वाचनमा माओवादी केन्द्र ठूलो दल बनेकै थियो । सबभन्दा ठूलो दल बनेको माओवादी केन्द्र अर्काे निर्वाचनमा तेस्रो ठूलो दल बन्यो । हालै भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकासँग मिलेर निर्वाचन नलडेको भए माओवादी केन्द्र अझ सुक्थ्यो र तेस्रो ठूलो दल पनि बन्दैनथ्यो । माओवादी अध्यक्ष दाहालको धम्की, खबरदारी सहन नसकेर नेकाका नेता मिनेन्द्र रिजालले माओवादीले प्रतिबद्धता भुले नेका र एमाले सँगै हुने बताए । सत्तासीन दलका नेताहरूको यी अभिव्यक्ति सत्तासित सम्बन्धित छ । यो सत्तामुखी राजनीति हो । सत्तामुखी र भागबन्डामा केन्द्रित राजनीति कसरी विश्वासिलो र भरपर्दाे हुन्छ ? विष्णु रिजालले भने, “विश्वमा जति पनि मुलुकमा कम्युनिस्टहरू धराशायी भएका छन्, कार्यकर्ता र जनताका कारण होइन बरु पुष्पकमल दाहालजस्तै कम्युनिस्ट आन्दोलनका भष्मासुरका कारण भएका छन् ।” अन्नपूर्ण पोष्ट, २८ फागुन ०७९ ।
कम्युनिस्ट भनिने शासकहरूको यो कस्तो चरित्र ! यस्ता शासकहरू रहेसम्म देशमा राजनीतिक स्थिरता हुनेछैन, देश आत्मनिर्भर हुनेछैन । देशले केही नबनाई, केही उत्पादन नगरी विदेशबाट मात्र आयात गरेर, विदेशी शक्ति राष्ट्रसँग मात्र मागेर या आर्थिक सहयोग र ऋणमा देश चलाएर कसरी विकास हुन्छ ? हिजो पञ्चायतकालमा राजनीतिक र मौलिक अधिकार थिएन । आज अधिकारको दुरूपयोग गरी शासकहरू देशको राजस्वमा रजाइँ गर्दै छन् । लाज छोपेर उनीहरू भागबन्डाको राजनीति गर्दै छन् । देश चलाउने शासकहरूको यो कस्तो बदख्वाइँ ! सिद्धान्त, विचार, चरित्र बन्धकी राखेर शासन चलाउने नेताहरूको खोइ नैतिकता ! खोइ इमानदारिता ! सिद्धान्तको राजनीति नगर्दाको परिणाम शासकहरू जो आए पनि कानै चिरेका भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *