भर्खरै :

नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?

नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?

भारत सरकारले नयाँ गुणस्तर परीक्षणसम्बन्धी मापदण्ड लागू गरी नेपालबाट निर्यात भएको चिया बिक्रीमा अवरोध गरेको समाचार छ । नेपालको भन्सार चेकजाँचपछि भारतको कोलकाता पुगिसकेको तीन लाख किलोभन्दा बढी चिया अहिले भन्सार गोदाममै थन्किएको छ । यसमा नेपाली उद्योगीहरूले अतिरिक्त भाडा तथा अन्य आर्थिक भार व्यर्होन बाध्य भएका छन् ।
भारतीय चिया बोर्डले १ मेदेखि लागू गरेको ‘ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी)’ मा नेपालबाट निर्यात हुने प्रत्येक खेप चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआउञ्जेल बिक्री गर्न नपाइने तथा नमुना असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने नियम छ । यसले व्यापारिक जोखिम अत्यधिक बढाएको उद्योगीहरू बताउँछन् ।
चिया निर्यात ठप्प भएपछि इलामका ५३ चिया उद्योग असार १ गतेदेखि बन्द छ । झापाका ३० चिया उद्योग पनि असार ४ गतेदेखि बन्दको घोषणा गरिएको छ । यतिबेला उद्योगहरूमा दश लाख किलोभन्दा बढी तयारी चिया मौज्दात छ । भण्डारण क्षमता सीमित हुँदा नयाँ उत्पादन राख्नसमेत समस्या भएको उद्योगीहरूको भनाइ छ ।
इलामको सूर्योदय नगरपालिकामा करिब २ हजार ९ सय ९५ चिया किसान आबद्ध छन् । यहाँ ३३ हजार ६ सय ५५ रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । वार्षिक करिब २ करोड किलो हरियो चियापत्ती उत्पादन हुन्छ ।
यसभन्दा अघि पनि भारत सरकारले विभिन्न बहानामा नेपालको सामानलाई अवरोध गर्ने गरेको थियो । अहिले बजारमा पुगिसकेको चियासमेत बिक्री गर्न नपाउने अवस्थामा पारियो । चिया निर्यात बन्द हुँदा नेपाली उद्योगमा कार्यरत श्रमिक प्रभावित हुन्छ । यसले चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पार्दै छ । उद्योग बन्द लम्बिए हरियो चियापत्ती छिपेमा किसानलाई नोक्सान पुग्नेछ । चिया निर्यात रोकिएको कारण किसानलाई यसअघि झैँ हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन हुने उद्योगीहरू बताउँछन् ।
चैत र वैशाख महिना सबैभन्दा धेरै गुणस्तर र मूल्यको चिया उत्पादन हुने सिजन हो । त्यसबाट प्रशोधित उच्च मूल्यको तयारी चिया बेच्ने सिजनमा भारतले गुणस्तर परीक्षणमा निकै झन्झटिलो मापदण्ड लागु गरेको छ । गुणस्तरमै समस्या हो भने भन्सारमै परीक्षण हुनुपथ्र्यो । बजारमा पुगिसकेपछि बिक्री रोक्नु कुनै पनि दृष्टिले न्यायोचित होइन, नेपाल सरकार किन चुप छ ¤?
नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स (पत्तीवाला) चिया निर्यात हुन्छ । जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजार निर्भर छ । इलामलगायतका पहाडी जिल्लामा अर्थोडक्स चिया तयार गरिन्छ । झापामा सीटीसी (दानादार) चिया तयार गरिन्छ । वार्षिक १ करोड ९० लाख किलो सिटिसी चिया उत्पादन हुन्छ, १ करोड किलो चिया भारतमै बिक्री हुनेगरेको तथ्याङ्क छ । नेपालले वार्षिक करिब सवा ४ अर्ब रुपियाँ बराबरको तयारी चिया निर्यात गर्दै आएको छ । नेपाली चिया उद्योगमा श्रमिक र किसान गरी ५० हजार जना प्रत्यक्ष संलग्न छन् ।
चियाको हरियो पातले प्रशासनिक प्रक्रिया र कूटनीतिक पत्राचार नपर्खने भएकोले नेपाल सरकारले तत्काल समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने किसानहरूको माग रहेको छ । रास्वपा सरकार पनि भारतीय विस्तारवादको अवरोधको विरोधमा किन बोल्न सक्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *