भर्खरै :

महिलालाई हरेक क्षेत्रमा सक्षम बनाउनु आवश्यक

महिलालाई हरेक क्षेत्रमा सक्षम बनाउनु आवश्यक

भक्तपुर, ३० फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘समाजवादी आन्दोलन अगाडि बढाउन महिलाहरूको एकता’ विषयक प्रवचन मङ्गलबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिलालाई आरक्षणभन्दा हरेक क्षेत्रमा सक्षम बनाउँदै लानु आवश्यक भएको बताउनुभयो । महिलाहरू साँचो अर्थमा समानरूपमा अगाडि बढ्न शिक्षा र रोजगारीमा महिलालाई प्राथमिकता दिइनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त र शिक्षा, स्वास्थ्य उपचार निःशुल्क तथा रोजगारीको सुनिश्चित हुने हुँदा कसैले भेदभावको अनुभूति नै गर्न पाउँदैनन् ।”
भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीका कारण आज भक्तपुरको समाज तुलनात्मकरूपमा अगाडि बढेको बताउँदै उहाँले समाज परिवर्तनको निम्ति महिलाहरूको योगदान महत्वपूर्ण भएकोे बताउनुभयो । भनपाका उपप्रमुख रजनी जोशीले महिलाहरूलाई आरक्षणभन्दा समान शिक्षा र व्यक्तित्व विकासमा समान अवसरको खाँचो रहेको बताउँदै महिलाहरूले आफ्नो उच्च शिक्षा सँगसँगै विज्ञता हासिल गर्ने ढङ्गले आफ्नो अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । २१ औँ शताब्दीको लागि योग्य महिला बन्न महिलाहरूलाई शिक्षाको माध्यमबाटै अगाडि बढाउनुपर्ने आजको आवश्यकता हो, उपप्रमुख जोशीले भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका अध्यक्ष अनुराधा थापामगरले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको मुख्य उद्देश्य नेपालमा समाजवादी आन्दोलनलाई अगाडि बढाउनको निम्ति हो भन्नुभयो ।
पुँजीपति पार्टीका महिला सङ्गठनहरूले नारी दिवसको नाममा गलत मुद्दालाई अगाडि सार्दै महिला सङ्घकै धज्जी उडाउने काम गर्दै आइरहेको स्पष्ट पार्दै उहाँले कामदार वर्गका महिलाहरूको अवस्थामा आमूल परिवर्तन ल्याउन समाजवादी व्यवस्थाको आवश्यकता भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य विष्णुकेशरी दुवालले चिनियाँ कम्युनिस्ट पार्टीका प्रथम महिला ‘शियाङ चिङ यू’ को जीवनी र वडा सदस्य सुमित्रा बोहजुले महिला योद्धा ‘ह्यारिट टबम्यान’ को जीवनी सङ्क्षेपमा प्रस्तुत गर्नुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैँया सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य छोरीमैंया सुजखुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *