राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सीपीसीको राजनीतिक ब्युरोको बैठकको अध्यक्षता
- मंसिर १२, २०८०
रुसबारे जान्ने नयाँ कौटुहलता
सन् १९९१ मा सोभियत सङ्घ विघटन भई १५ वटा प्रान्तका गणतन्त्र देशहरू स्वतन्त्र भए । सोभियत सङ्घ विघटनपश्चात् आफूलाई एक्लो महाशक्ति ठानेका संयुक्त राज्य अमेरिकाले स्वतन्त्र भएका ती देशहरूलाई एक एक गरी नाटोमा सम्मिलन गर्दै लग्यो । योजनाबद्ध उद्देश्य थियो– रुसलाई घेर्ने । यही क्रममा अमेरिकाले युक्रेनलाई आफ्नो नयाँ अखडा बनायो र त्यहाँ रुसविरोधी सरकारको स्थापना गर्न सन् २०१४ मा त्यहाँको निर्वाचित सरकारलाई सडक आन्दोलन गराई अपदस्थ गर्यो । युक्रेनको पूर्वी राज्यहरू लोहान्स्क र डोनबासका बहुमत मूल रुसी भाषीहरूलाई युक्रेन सरकारले नियोजितरूपमा दबाउन थाल्यो । सैनिक तालिमको नाउँमा नाटोका प्रमुख देशहरू अमेरिका, क्यानडा, बेलायतलगायतले सैनिक अखडा स्थापना गरी युक्रेनी सेनालाई तालिम दिन थाले । सन् २०१९ मा जेलेन्स्ककी राष्ट्रपतिमा निर्वाचित भएपछि युक्रेनलाई नाटोमा सम्मिलन गराउन अमेरिकाले तीव्ररूपमा कदम चाल्यो । युक्रेन सोभियत रुसको लागि लक्ष्मणरेखा (रेडलाइन) थियो । युक्रेनलाई नाटोमा सम्मिलन गराउनु रुसको लागि युद्धको लागि हाँक दिनुसरह नै थियो । यसको बारेमा सोभियत सङ्घ विघटन भएका दिनदेखि नाटोलाई प्रसारण (विस्तार) नगर्नेबारे रुस र अमेरिकाको एक किसिमको भद्र सहमति थियो । रुसको आग्रहलाई अमेरिकाले टेरपुछ लगाएन र परिणाम रुसबाट युक्रेनविरुद्ध विशेष सैनिक कारबाही वा प्रत्याक्रमणले आज युद्धको रूप लियो ।
रुस–युक्रेन द्वन्द्वको कारण आज धेरैले रुसको विगत र वर्तमानको बारेमा कौटुहलता जगाएकोे देखिन्छ । यही पृष्ठभूमिमा सन् १९८६ देखि १९९१ सम्म पाँच वर्ष सोभियत सङ्घमा इन्जिनियरिङ अध्ययन गरेका रामबिन्दु श्रेष्ठद्वारा लिखित पुस्तक ‘मेरा सोभियत सम्झनाहरू’ बजारमा देखियो । लेखक श्रेष्ठले अध्ययन गरेको त्यो अविधि भनेको यता नेपालमा पनि २०४२ सालको सत्याग्रहको शान्तिपूर्ण राजनैतिक आन्दोलन र त्यसपछि पञ्चायती व्यवस्थाको अन्त गरी बहुदलीय व्यवस्थाको पुनस्र्थापनाको लागि भएको आन्दोलनको अवधि थियो । उता, सोभियत सङ्घमा पनि रुसी कम्युनिस्ट पार्टीका महासचिव मिखाइल गोर्भाचोभले कम्युनिस्ट व्यवस्थालाई उदार र खुकुलो बनाउने नाममा सन् १९८५ मा ‘पेरेस्त्रोइका’ (आर्थिक प्रणालीका लागि पुनःसंरचना) र ‘ग्लासनोस्ट’ (खुलापन) को नीति लागु गर्दैगर्दा ७० वर्षको परिपक्व सोभियत सङ्घ नै विघटन हुन गएको सङ्क्रमणकालीन अवधि पनि थियो । सोभियत सङ्घको विघटन संसारका सारा समाजवादी व्यवस्था अङ्गालेका देशहरूको लागि ठूलो धक्का त थियो नै । तर, दोस्रो विश्वयुद्धसम्ममा अथवा करिब तीन दशकको छोटो अवधिमा महाशक्ति अमेरिकालाई विज्ञान प्रविधिदेखि देशको तीव्र औद्योगिकीकरण, कृषि उत्पादन, अन्तरमहाद्विपीय क्षेप्यास्त्रको विकासदेखि अन्तरिक्ष युगसम्म पुग्न सफल भई अर्को महाशक्ति राष्ट्र बन्न सक्षम देश कसरी २÷४ वर्षमा विघटनको सङ्घारमा पुग्यो भन्नेबारे अहिलेसम्मै चर्चा, परिचर्चा र अध्ययन अनुसन्धानको विषय रहेकै छ । यस पुस्तकमा चर्चा गरिएका केही घटनाहरू तथा लेखकको आफ्नै अनुभव र तर्कले पनि यो विषयका केही आयामलाई बुझ्न पाठकलाई मद्दत गर्छ । यो पुस्तकका परिचयको उद्देश्य पुस्तकलाई राम्रो वा नराम्रोको कल्गी (ट्याग) झुन्ड्याउनुभन्दा यसमा उल्लेखित घटना, सूचना र जानकारीहरूलाई केलाउँदै पाठकलाई रुस र समाजवादी व्यवस्थाको बारेमा थप जानकारी दिने उद्देश्य हो । सोभियत सङ्घको विघटनपश्चात् नेपालमा पनि रुससँग सम्बन्धित आधिकारिक सूचनाहरूको खडेरीजस्तै भयो । पहिला, नेपाली भाषाको सोभियत भूमिदेखि स्पुटनिक अङ्ग्रेजी डाइजेस्ट र प्रोगे्रस पब्लिकेशनका पुस्तकहरू र अरू धेरै पत्रपत्रिका उपलब्ध हुन्थ्यो रुसको बारे जानकारी लिन ।
रुसबारेका नयाँ जानकारीहरूको खडेरीको बेला प्रस्तुत पुस्तकले सोभियत सङ्घको समाजवादी व्यवस्थाका विभिन्न आयामहरू शिक्षा, स्वास्थ्य, कला, साहित्य, ज्ञान विज्ञानको विकासदेखि सोभियत सङ्घ विघटनको सङ्घारमा पुग्दा त्यहाँ देखिएका परिवर्तनहरू र तत्कालीन महासचिव मिखाइल गोर्वाचोभको नीति र ऊप्रति रुसी जनताको धारणाका बारेमा पुस्तकले केही भए पनि जानकारी पस्केका छन् । यी जानकारीहरूले सोभियत सङ्घको बारेमा पश्चिमाहरूले छर्ने भ्रम र गलत सूचनाहरू निस्तेज पार्न पनि सहयोग गर्ने आशा गर्न सकिन्छ ।
मस्को विश्वविद्यालयको एक झलक
शिक्षा र शिक्षण पद्धति
लेखकले दिएको जानकारीअनुसार नेपालको शिक्षा प्रणालीमा अभ्यस्त रहेका विद्यार्थीलाई सोभियत सङ्घको शिक्षा व्यवस्थाले नौलो अनुभूति गराउँदो रहेछ । हाम्रोमा जस्तो सबै विद्यार्थीहरूलाई परीक्षामा एउटै खालको प्रश्नपत्रको साटो विद्यार्थीपिछे फरक÷फरक प्रश्नपत्रको व्यवस्था हँुदोरहेछ । अनि नक्कल गर्ने वा सँगैको साथीको सार्ने सम्भावना नै हुँदैनथ्यो । हामीकहाँ जस्तै परीक्षा सकिएपश्चात् परीक्षाफलको लागि महिनौँ कुर्नु पनि नपर्ने । हाताहाती शिक्षकले उत्कृष्टलाई ५, राम्रोलाई ४, सन्तोषजनकलाई ३ र २ पाए फेल हुने ग्रेडिङ सिस्टमको बन्दोबस्त थियो । यस्तो अक्षराङ्कन परीक्षा प्रणाली हामी नेपालमा भर्खरै लागु भयो । पाठ्यक्रमको पढाइबाहेक दर्शनशास्त्र, संस्कृति तथा साहित्यको पनि आधारभूत अध्यापन गराइन्थ्यो । सुरुमा यस्तो पढाइ किन गरियो भन्ने लेखकलाई लागेको थियो । तर, पछि यस अतिरिक्त अध्यापनले जीव र जगतका विभिन्न आयामहरू बुझ्न सजिलो हुनेरहेछ भन्ने लेखकलाई महसुस भएको कुरा लेखकले ठाउँ–ठाउँमा व्यक्त गरेका छन् ।
भाषा कक्षाको पहिलो वर्ष बिदामा विषयवस्तुका पढाइबाहेक अत्तिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम, म्युजियम र थिएटर, गोष्ठीमा लैजाने गर्थे जहाँ विद्यार्थीहरू इतिहास, संस्कृति तथा राजनीतिका बारेमा नयाँ कुराहरू सिक्थे । उनीहरूलाई नृत्य, गायनमा पनि सहभागी गराउँथे ।
विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू सा¥है मेहनती हुने कुरा उल्लेख गर्दै लेखकले उनीहरूको मुक्तकण्ठले प्रशंसा गरेका छन् । विश्वविद्यालयको दिनको पढाइको निर्धारित समय सकिएपछि आफ्ना विद्यार्थीहरूको सहयोगको लागि उनीहरू सधैँ तयारी र व्यग्र रहन्थे । विद्यार्थीहरू आएर कक्षाको पढाइमा नबुझेका पाठ र विषयहरूका बारेमा आएर छलफल वा प्रश्न सोध्न आउन प्रेरित गरिरहन्थे । यस्तो व्यवस्थालाई कन्सलटेसन कक्षा भन्दोरहेछ र यो व्यवस्थाले कुनै निजी ट्युसनको व्यवस्थाको आवश्यकतालाई शून्य पाथ्र्यो । गृहकार्य भने अलि बढी नै हुने भएकोले पढाइ गर्न समय भ्याइनभ्याई हुन्थ्यो ।
स्वास्थ्य, उपचार र आरामप्रतिको सजगता
सरुवा रोग लागेका बेला कति सावधानी अपनाउनुपर्छ भन्नेबारे क्वारेन्टाईन के हो, मास्कको व्यापक प्रयोग, सरुवा रोगका बिरामीदेखि कसरी सावधानी अपनाउनुपर्छ भन्नेबारे हामीले कोभिड १९ र लक–डाउनको बेलामात्र सिक्यौँ र थाहा पायौँ । सोभियत सङ्घमा झाडापखाला, रुघाखोकी, ब्रोन्काइटिस्, दम तथा अन्य क्रोनिक रोगका बिरामीलाई धेरै कुरामा परहेज र सावधानी गराउँथ्यो । औषधि खुवाउनुभन्दा फिजियोथेरापी धेरै हुन्थ्यो । खोकी लाग्दा कफ सीरप ख्वाउने चलन हामीकहाँ छ भने त्यहा दुई चार दिनसम्म बाफ लिन लगाइन्थ्यो । शिक्षण संस्थामा भर्ना भएको वर्ष शारीरिक शिक्षा वा खेलकुद अनिवार्य थियो । क्रोनिक बिरामीहरूलाई आरामगृह सेनेटोरियममा पठाइन्थ्यो । सेनेटोरियमको स्वच्छ, सफा र आरामदायी वातावरणले क्रोनिक बिरामीलाई ठूलो राहत मिल्थ्यो ।
एकपल्ट नेपालबाट फर्केका विद्यार्थीलाई झाडापखाला लाग्दा उसबाट रोग सर्ला भनेर उसलाई चिठी लेखेर घरमा पठाउने अनुमति दिइएन । उनीहरूको तर्क थियो, चिठीबाट पनि उसका जीवाणुहरू फेरि नेपालमै पुग्नसक्छ र परिवारका मानिसलाई रोग सार्न सक्छ । यी सरुवा रोग लागेकालाई कसैसँग भेट्न दिइँदैन । कुरा गर्नु परे एक तलामाथि वा तलबाट मात्र गराइन्थ्यो ।
विश्व मानव अधिकारको अवधारणा पश्चिमा उदारवादको उपज मानिन्छ । फ्रान्सेली राज्य क्रान्ति तथा अमेरिकी स्वतन्त्रता सङ्ग्रामले दिएको सन्देशअनुसार नागरिक र राजनैतिक अधिकारलाई नै मानव अधिकारको रूपमा लिइन्थ्यो । तर, रुसको सन् १९१७ को अक्टोबर क्रान्तिपश्चात् यसले अर्को सन्देशको सञ्चार गर्यो । रोजगारी, आराम, शिक्षा, खानपान तथा बसोबासजस्ता आधारभूत मानवीय आवश्यकता नै मानिसको पहिलो अधिकार हुनुपर्छ । यी अधिकारबिना कुनै पनि नागरिक तथा राजनैतिक अधिकारको गुञ्जायस रहँदैन । अक्टोबर क्रान्तिको यही सन्देशलाई पछि आर्थिक र सामाजिक अधिकारको रूपमा विश्व जगतले स्वीकार्यो । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घले जारी गरेको विश्व मानव अधिकार घोषणापत्रमा यसलाई आर्थिक तथा सामाजिक अधिकारको रूपमा स्वीकार्यो । नागरिक र राजनैतिक अधिकारलाई पहिलो पुस्ता तथा आर्थिक र सामाजिक अधिकारलाई दोस्रो पुस्ताको मानव अधिकारको रूपमा अहिले परिभाषित गरिन्छ ।
रुसी अक्टोबर क्रान्तिको उपज नै आर्थिक र सामाजिक अधिकार भएकोले सोभियत सङ्घले यी अधिकारलाई प्रत्याभूत गर्न हरसम्भव कोशिश गरेको तथ्य पुस्तकका लेखकको बयानले पनि पुष्टि हुन्छ । उदाहरणको लागि रुसी संविधानको धारा ११९ मा रुसी नागरिकलाई आराम गर्न पाउने अधिकारको प्रावधान सन् १९३६ मा सुनिश्चित गरेको थियो । यही आराम गर्ने अधिकारको प्रत्याभूत गर्न सरकारले विभिन्न आरामगृह (रुसी भाषामा – दोम अद्विखा) तथा सेनिटेरियमको बन्दोबस्त गरेकोे रहेछ । गर्मी र जाडो बिदामा यस आरामगृहमा आराम गर्न पाउँथे । तीनपल्ट खाना, भलिबल खेल्ने, तास खेल्ने, सिनेमा हेर्ने, तालमा पौडी खेल्ने आदिको बन्दोबस्त दोम अद्विखामा गरिएको हुन्थ्यो । अहिले विचार गर्दा लाग्छ आजको हाम्रो पुँजीवादी समाजमा यी सुविधा भनेको पाचतारे होटलमा लाखौँ खर्च गरेमात्र हामी पाउन सक्छौँ ।
विद्यार्थीहरू खेलकुद कक्षामा
श्रमप्रतिको सम्मान
सोभियत सङ्घको अर्को विशेषता लेखकले उल्लेख गरेअनुसार श्रमप्रति सम्मान गर्न सिकाउनु हो । होस्टलमा आफ्नो कोठा, करिडोर आफै सफा गर्नुपर्ने र लुगा आफैले धुनुपर्ने हुन्छ । जाडो मौसममा होस्टल वरिपरि झरेको हिउँ पनि सफा गर्न लगिन्थ्यो । त्यस्तै, विद्यार्थीहरूलाई राष्ट्र निमार्णको कार्यमा अनिवार्य सहभागी गराउने परम्परा थियो । सन् १९२६ मा सुरू भएको भोलखोब्स्की जलविद्युत केन्द्र र सन् १९३८ मा सुरू भएको ४३०० कि.मि. लामो बैकाल–अमूर राजमार्ग निर्माणकै क्रममा विद्यार्थीहरूलाई सहभागी गराएको र आधिकारिकरूपमा सन् १९५९ देखि यो परम्परालाई थालिएको थियो । विश्वविद्यालयहरूमा गृष्मकालीन दुई महिना छुट्टी (जुलाई र अगष्ट) मा विद्यार्थीहरू यस्तो निर्माण कार्यमा सहभागी हुँदा उनीहरूको आम्दानी पनि हुन्थ्यो । काम गर्ने विशेष युनिफर्म र खानाको बन्दोबस्त सरकारले नै गर्दथ्यो ।
सोभियत सङ्घ विघटनपश्चात् रुसी जनता त्यतिबेलाको त्यो राष्ट्र निर्माणमा विद्यार्थीहरूको सहभागिता र लन्चको समयमा उपलब्ध गराउने फलफुलको जुस र खानाको गुणस्तरीयताको बारेमा खुब सम्झिन्थे र भन्थे रे अब त्यस्तो कार्य र खाना कहाँ पाउनु । त्यतिबेला कुखुरा र खसीको मासु खान कतिपयलाई चाडपर्व कुर्नुपर्ने नेपाली विद्यार्थीहरू नियमितजस्तो मासु खान पाएर जवानीमै चाउरी परेका गालाहरू भुक्क परेको लेखकले सम्झना गरे ।
यसरी राष्ट्र निर्माणको कार्यमा विश्वविद्यालयका विद्याथीहरूलाई सहभागी गराउँदा कामप्रतिको सम्मानमात्र हुने होइन बरु काम पनि सिक्ने, राष्ट्र प्रेमको भावना बढ्ने र नैतिक आचरणका कुराहरू र सामाजिक प्रणाली पनि सँगसँगै सिक्ने लेखकको अनुभव रहेको देखिन्छ ।
(यस पुस्तक परिचयको दोस्रो भाग भोलिको अङ्कमा प्रकाशित गरिनेछ –स.)
धन्यवाद ” मजदुर ” अनलाइन, धन्यवाद योगन्द्र सर