नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भनिन्छ, नेपालको विद्युत् उत्पादनको क्षमता ८३ हजार मेगावाट छ । आकारको हिसाबले नेपाल भारतभन्दा सानो भए पनि जलस्रोत विकासको क्षमतामा नेपाल भारतभन्दा धनी छ । सिँचाइको निम्ति भारतसँग पानीको वैकल्पिक स्रोत छैन । पानीको विकल्प अर्को हुँदैन । सिँचाइको लागि पानी नभई हुँदैन । भारतले पानीको विकल्प अर्को जुटाउन सक्दैन । यसकारण, भारतले नेपालबाट पानी नलिई सुखै छैन । भारतको लागि आवश्यक पानी नेपालबाट लिनुपर्छ । यही भएर भारतले नेपाललाई कहिले विकासको लोभ देखाएर त कहिले आर्थिक सहयोग गरेर नेपालका ठूलठूला नदीनाला आफ्नो नियन्त्रणमा राख्न बेलाबखत असमान सन्धि सम्झौता गरेको थियो । यसमा नेपालका शासकहरू फस्दै छन् ।
भारतले नेपालको पानी सित्तैमा लगेर भारतको जमीनलाई सिँचित गरिरहेको छ । भारतले आफ्नो भूमि सिँचित गरे पनि भारतको ठूलो आवादी छ । भारतको ठूलो जग्गामा वर्षाको भरमा खेतीपाती हुन्छ । भारतको एकतिहाइ भाग सुख्खा छ । सुखा जग्गामा सिँचित गरेर हराभरा गर्ने प्रयास भारतले गर्नु स्वाभाविक हो । यसकारण, नेपालबाट बग्ने नदीलाई सित्तैमा उपयोग गर्न भारतले एकतर्फीरूपमा बाँध तथा तटबन्ध निर्माण गरिरहेको हो । भारतले नेपाल सरकारसँग पटकपटक असमान सन्धि सम्झौता गरेर नेपालका ठूला नदीहरू आफ्नो हातमा लिइसकेको छ । नेपालको पानी लगेर भारतले आफ्नो जग्गा सिँचित गरेर हराभरा बनाएको छ । यसरी भारतले नेपालको पानी आफूतिर लगेर फाइदा उठाइरहेको छ ।
नेपालको पानी नेपालकै जग्गामा सिँचित गर्न र देशको लागि आवश्यक विद्युत् आपूर्ति गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । जलस्रोतको भण्डार रहेको नेपालले पर्याप्त बिजुली निकालेर जनतालाई सस्तो र सर्वसुलभ वितरण गरेर सेवा सुविधा दिनुपर्छ । बिजुली सस्तो र सर्वसुलभ भए उद्योग र घरायसी काममा उपयोग गर्न सकिन्छ । यसले ग्यासको प्रयोग कम हुनेछ र देशको रकम देशमै रहनेछ । बिजुली पर्याप्त आपूर्ति भए बिजुलीबाटै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न सकिन्छ । आवश्यकताअनुसार बिजुली आपूर्ति गर्न सरकारले ठाउँ ठाउँमा बाँध तथा तटबन्ध बनाउनुपर्छ ।
भारतले नेपालको पानी कब्जा गर्न नै नेपाल सरकारसँग असमान सन्धि सम्झौता गरेको थियो र बाँध तथा तटबन्ध बनाएको थियो । नेपालले विद्युत् अरू देशमा बेच्ने होइन, पानी बेच्ने हो । पानी बेचेर नेपालको आर्थिक स्थिति मजबुत पार्न सकिन्छ । नेपालको जलस्रोतको विकास गर्नुभन्दा भारतको हिततर्फ नेपाल सरकारको ध्यान गयो । यस्ता निर्णयहरू अधिकांश भारतभक्त नेपाली काङ्ग्रेसको पालामा भयो र त्यसको निरन्तरता अन्य शासकहरूले दिए । यो विडम्बनाको विषय हो । अरब देशहरूमा तेलको भण्डार छ । अरब मुलुकहरू ती नै तेल बेचेर सम्पन्न देश बनेका छन् । यसरी नै जलस्रोतको भण्डार रहेको देश नेपालले पनि पानी बेचेर देशलाई सम्पन्न बनाउनुपर्छ । विद्युत्मा नेपाल आत्मनिर्भर हुनुपर्छ ।
Leave a Reply