प्यालेस्टिनमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा बल तत्काल तैनाथ गरिनुपर्छ !
- कार्तिक १९, २०८३
चुनाव भनेको लोकतन्त्रको गहना हो भनिन्थ्यो । अन्य देशमा यो कुरो व्यवहारमै लागू पनि हुँदो हो । तर हाम्रोमा यही दर्शनको आधारमा पछिल्लोपटक देशमा अरबौँ रुपियाँ खर्चेर चुनाव भयो । आखिर चुनिएर आउने त तिनै, तिनैका मतियार र तिनीहरूजस्तै खन्चुवा नै रहेछन् ! यसले उपलब्धि के भयो ? यता हामी नागरिकमाथिको ऋणभार बढ्यो । उता जित्नेहरू शपथ खाएर राजसी सुविधामा मस्त हुन पाए । यही होइन त ? कसैले पनि, “यत्रो सुविधा बढी भयो”, “यत्रो महँगो गाडी मलाई चाहिँदैन”, “सुरक्षाविनै म हिँड्न सक्छु”, “मेरा लागि निजी सचिव मै हुँ” भनेको सुनिएन ।
यो अवधिमा नागरिकमा निराशा र आक्रोश बढेको देखिएको छ । उनीहरू, जसरी हुन्छ गुणात्मक परिवर्तन चाहन्छन् । तर त्यो चाहना पूरा नहुने छाँट देखेपछि यहाँ आत्महत्याको लहरै चल्यो । यस्तो संवेदनशील अवस्थामा देशको चुनौतीपूर्ण अर्थव्यवस्था सुधार्ने, वैदेशिक ऋण घटाउने, रोजगारी बढाउने, कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउनेजस्ता कुरामा कुनै पनि काम थालनी हुनु त परै जाओस्, नेमकिपाबाहेकका सांसद कसैले पनि कतै एकवचन बोलेको सुन्न पाइएन ।
प्रचण्डमाथिको मुद्दा ब्युँझाइयो । केही होला कि भन्ने आस गर्दागर्दै केही पनि भएन । बरु, हिजो भाग नमिलेर बाँडिएका माओवादी समूहहरू कतै आफू पनि परिएला कि भन्ने पीरले एकीकृत भएको देख्दा चोरको खुट्टा काट्भन्दा झिकेजस्तो भनेजस्तो उखान सम्झना भयो । सत्ताका कारण अनेक गालीगलौज सुनिए । हिजो प्रशंसित मानिस आज निन्दित भयो । आजको निन्दित भोलिको प्रशंसित हुन्छ । आखिर सबैको अर्जुनदृष्टि त सत्ता र सुविधामै मात्र केन्द्रित रहेछ !
सत्ता साझेदारी र पदकै लागि विभिन्न टार, कोट र महलमा धपेडीका साथ भेटघाट र कुराकानीहरू भए । हाम्रा रगतपसिनाबाट तलबभत्ता खान पाएका, विलासी महलमा बस्न पाएका र सडक खाली गराएर महँगो गाडीमा सवारी हुन पाएकाहरूको दिनचर्या र कर्तव्य यही हो ? उहाँहरूको योग्यता भनेकै कसले कसलाई कतिसम्म धोका दिने, कसलाई उचाल्ने, कसलाई पछार्ने, कसलाई खुइल्याउने, कसलाई समर्थन गरेर फिर्ता गर्ने, छलकपटमा कसरी अर्कोभन्दा आफू सिपालु बन्ने भन्ने नै हो ?
यस्ता प्रश्नहरू प्रत्येक जनताको मनमा आगो भएर उब्जेका छन् । तर आश्चर्य ! यी आवाज उठाइदिने सच्चा प्रतिपक्ष यहाँ किन नेमकिपाबाहेक कुनै देखिँदैन ? देश र जनताका लागि एकचिम्टी सोच नभएकाहरू सत्ताप्राप्तिकै आशा र ध्याउन्नमा मग्न छन् । यस्ता भएपछि देश कसरी र कहिले उँभो लाग्नु !
Leave a Reply