भक्तपुरको ख्वप अस्पतालबाट सिक्नुपर्ने पाठ
- कार्तिक १८, २०८३
‘नयाँ संसार’ को रूपमा परिचित विश्वकै सबभन्दा धनी र शक्तिशाली मानिने देश अमेरिका धेरै मानिसको लागि ‘स्वप्नलोक’ नै मानिन्छ । डीभी भरेर होस् वा अवैधरूपमै प्रवेश गरेर होस्, अमेरिका गएकाहरू पनि धेरै छन् । जान चाहनेहरू घटेका छैनन् । अन्य देशमा बस्ने तथा काम गर्नेहरूको पनि पहिलो रोजाइ अमेरिका नै देखिन्छ । त्यसो त अमेरिका जाति भेद, रङ्ग भेद, अपराध, हत्या हिंसाको केन्द्र पनि हो । त्यहाँ हरेक दिन गोली काण्डहरू हुन्छन् र धेरै निर्दाेषले अनाहकमा ज्यान गुमाउने गर्छन् ।
अमेरिकाले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा अणुबम खसालेको थियो । विभिन्न देशमा युद्ध थोपर्ने, जनता मार्ने, आफूविरोधी नेताहरूलाई सिध्याउने देशको रूपमा अमेरिका कुख्यात छ । त्यसैले न्यायप्रेमी सचेत र देशभक्त नागरिकले अमेरिकालाई ‘अत्याचारी’, ‘साम्राज्यवादी’, ‘आतङ्कककारी’ नाम दिएर निन्दा गर्छन् । अमेरिकाको निन्दा गर्ने देशका नागरिकको सरकार, त्यही देशले विभिन्न क्षेत्रमा उपलब्ध गराएको सहयोग स्वीकार्छन् । निरूपाय जनता त्यही सहयोगबाट लाभान्वित हुन्छन् ।
संरा अमेरिका आज समृद्ध छ, त्यसको कारण एकातिर अफ्रिकी दासहरूको श्रमको शोषण र अर्काेतिर दक्षिण अमेरिका र विश्वका विभिन्न देशका स्रोत साधनमाथि दोहनको परिणाम हो । तर, आज संसारकै शक्तिशाली र आकर्षणको केन्द्र बनेको अमेरिकाको अवस्था, आजभन्दा ंसय वर्षअघिसम्म ज्यादै दयनीय थियो । त्यहाँका मानिसहरूले धेरै दुःख पाएका थिए । तिनीहरू माटो र घाँसले बनेका घरमा बस्थे । त्यस्ता घरहरू अहिले पनि क्यान्सस, आयोवा, कोलोराडो, साउथ डकोटा, मिनेसोटा, विस्कनसिन, नेब्रास्काजस्ता राज्यमा संरक्षण गरेर राखिएका छँदै छन् । तर, स्रोतको प्रचुरतालाई ध्यान दिई तिनीहरूले समय र श्रमलाई विशेष महत्व दिन थाले । हरेस नखाइकन आफ्नो जीवन सुखमय बनाउन प्रयासरत रहे । यसरी आजको अमेरिका छिट्टै र सजिलै बनेको होइन । यस क्रममा उनीहरूले श्रमका पुजारी नेताको नेतृत्व पाए । तीमध्ये एकजना उल्लेख्य नेता हुन्— अब्राहम लिङ्कन । एकैछिन उनकै कुरा गर्दा असान्दर्भिक नहोला ।
अत्यन्त गरिब परिवारमा जन्मेका लिङ्कनले बाल्यकालमा धेरै दुःख पाएका थिए । खेतबारीमा काम गर्नुपर्ने बाध्यताका कारण उनले नियमित विद्यालय जान पनि पाएनन् । अति नै श्रम गर्दा पनि हरेक काममा उनी असफलता प्राप्त गर्थे । तर, कोसिस जारी राख्न उनले कहिल्यै छोडेनन् । बढी श्रम, असफता र दुःखबाट उनी झन्झन् बलिया, परिश्रमी र आत्मविश्वासी बन्दै गए । उनको इमानदारी, अध्ययनशील बानी, कठोर सङ्घर्ष र सादा जीवनका बारेमा धेरै त्यस्ता प्रसङ्गहरू छन् जसले हामीलाई प्रेरणा दिन्छन् । पढ्न पाइने लोभमा, धेरै किताब भएको वकिलको घरमा उनी घरेलु कामदारका रूपमा बसेका थिए । उनले सडकको पोलबत्तीका माध्यमबाट पढेको कुरा सम्झँदा धेरैको आँखामा आँसु आउन सक्छ । सानैदेखि उनमा भएका यस्तै गुणका कारण उनी पछि गएर अमेरिकाका सो¥हौँ राष्ट्रपति बन्न सफल भए ।
कतिलाई थाहा नहुन पनि सक्छ—लिङ्कनका पिता जुत्ता बनाउने गर्थे । लिङ्कन राष्ट्रपतिमा चुनिएपछि अमेरिकी कुलीन वर्गलाई पीडादायी ठेस लागेझैँ भयो । सिनेटसमक्ष राष्ट्रपतिका रूपमा जब उनी पहिलो भाषण दिन उभिए, एकजना सिनेटरले उनलाई बोल्नै नदिई ठूलो स्वरले भने, “मिस्टर लिङ्कन ! राम्ररी सम्झ, तिम्रा पिताले मेरो र मेरा परिवारका सबै सदस्यको जुत्ता बनाउने काम गर्थे ।”
सिनेटरहरूमध्ये धेरैजसो सम्पन्न परिवारका थिए । उक्त कुराले सिनेटमा निकैबेरसम्म उपहासको हाँसो गुञ्जियो । तर, लिङ्कनले एकरत्ति पनि नहडबडाइकन तत्काल भने, “तपाईँले एकदम सही भन्नुभयो माननीयज्यू ! हो त, मेरा पिता जुत्ता बनाउनुहुन्थ्यो । तपाईँ र तपाईँका परिवारका सदस्यहरूको मात्र होइन, यहाँ बस्नुभएकाहरूमध्ये धेरै माननीयहरूको जुत्ता उहाँले नै बनाउनुभएको होला ! उहाँ सा¥है ध्यान दिएर जुत्ता बनाउनुहुन्थ्यो । उहाँले तयार गर्नुभएको जुत्तालाई लिएर अहिलेसम्म कसैले पनि गुनासो गरेको मलाई थाहा छैन । के तपाईँहरूमध्ये कसैलाई केही गुनासो छ उहाँको कामप्रति ? म उहाँको छोरा हुँ । म पनि जुत्ता बनाउन जान्दछु । मेरा बुआले बनाएका जुत्तामा कुनै कमजोरी भए मलाई भन्नुस् ! ती उध्रेफाटेका भए म मर्मत गरिदिउँला । तपाईँहरूलाई त खिल्ली उडाउनु होला तर मलाई त उहाँको कामप्रति अति नै गर्व छ । के जुत्ता सिउनु कुनै तल्लो स्तरको काम हो ?”
लिङ्कनको एकदमै सही र तार्किक कुराले सिनेट स्तब्ध भयो । उनको त्यो भाषण अमेरिकी सिनेटको इतिहासमा सबैभन्दा उत्कृष्ट मानिन्छ । सोही ओजपूर्ण भाषणबाट एउटा ‘थ्योरी’ नै बनाइयो—डिग्निटी अभ लेबर’ अर्थात् ‘श्रमको मर्यादा’ । उक्त कुराको यस्तो असर भयो कि, अमेरिकामा जति पनि मजदुर थिए, उनीहरूले आफ्नो पेशालाई ‘सरनेम’ (थर) नै बनाए । जस्तै–कोब्लर, सुमेकर, बुचर, टेलर, स्मिथ, कारपेन्टर आदि ।
लिङ्कन राष्ट्रपति भएको बेला उनले आफ्नो छोरा पढ्ने विद्यालयका शिक्षकलाई विशेषगरी आफ्नो छोराले श्रमको महत्व बुझोस् भन्ने विषयमा लेखेको पत्र अहिले पनि विश्वव्यापी प्रेरणाको स्रोत बनेको छ । त्यस्तै उनी राष्ट्रपति भएकै बेलामा कुनै ठाउँमा चारजना मजदुरहरूलाई एउटा मेसिन उचालेर गाडीमा राख्न सकस भइरहेको देखेर उनी गएर मद्दत गरेको अनि त्यस कामबाट त्यहाँका उच्च कर्मचारीहरू लज्जित र नतमस्तक भएको प्रसङ्ग पनि धेरैतिर चर्चित हुने गरेको छ ।
अमेरिकामा आज पनि श्रमलाई ज्यादै महत्व दिइन्छ । त्यहाँको जीवनलाई घडीको सुइसँग तुलना गरिन्छ । उमेरमा बूढो भए पनि त्यहाँ काम गर्नैपर्छ । काम नगरी कोही पनि टिक्न सक्दैनन् । उच्च ओहदामा रहेर काम गरेकाहरू पनि पदमुक्त भएपछि काममा फर्कन्छन् । उनीहरूको जीवनशैली सादा हुन्छ ।
अमेरिकापछि दोस्रोतेस्रो धनी राष्ट्रका रूपमा आउने चीन र जापानमा पनि श्रम र समयलाई ज्यादै महत्व दिइन्छ । ती देशका विद्यालयमा सानै कक्षादेखि प्राविधिक र व्यावसायिक शिक्षा प्रणाली लागू गरिएको छ । तर, यो कुरा हाम्रो राजनीति र शिक्षा प्रणालीले राम्ररी बुझेजस्तो लाग्दैन । बुझोस् पनि कसरी ? यहाँ संविधानमै, “… …समतामूलक समाजको निर्माण गर्ने …”, “…समाजवादप्रति प्रतिबद्ध रही…” जस्ता मीठामीठा वाक्यांश लेखिए पनि राज्य सञ्चालन गर्ने नीति, ‘राजनीति’ नै बिग्रिएर संस्थागत भ्रष्टाचार र ‘सबभन्दा आकर्षक कमाउ पेसा’ मा रूपान्तरण भएको छ । नेता हुन् वा कर्मचारी–ठूलो पदमा पुग्नासाथ टन्न मोटाएर शानमानमा सजिने, ऐसआराममा देखिने र सुविधामा डुब्ने चलन छ यहाँ ।
हाम्रो शैक्षिक नीतिमै श्रमलाई उच्च महत्व दिन सकिएको छैन । शैक्षिक पाठ्यक्रममै, व्यावहारिक ज्ञान दिलाउने स्थलगत सक्रियताभन्दा सैद्धान्तिक ज्ञानको भारी बोकाउने कक्षाकोठे ज्ञानमा जोड दिइएको पाइन्छ । माटो नछोइकन कृषिविज्ञ बन्ने, वर्कसपमा काम नगरिकनै इन्जिनियर बन्ने, सहरमा पढेर ‘ग्रामीण विकास’ विषयमा उच्च शिक्षा हासिल गर्नेहरू प्रशस्त पाइन्छन् यहाँ । यस्तो शैक्षिक प्रणालीले देश कसरी उँभो लाग्छ ? त्यसैले विकासमा पछि परेको यो देशलाई अगाडि लैजान, व्यावहारिक शिक्षामा जोड दिइनुपर्छ । विद्यालयमा पढाइ हुने हरेक विषयका लागि कक्षाकोठामा दिइने समत्न्दा कार्यस्थलमा दिइने समय बढी हुने गरी व्यवस्था मिलाइनुपर्छ । अन्य देशमा जनशक्ति पठाउनका लागि श्रम सम्झौता गर्दै जाने होइन, आत्मनिर्भर नीति ल्याएर यहीँको माटोमा श्रम पोख्ने र यहीँका स्रोतसाधनको उपयोग गर्ने वातावरण बनाउनका लागि यो सरकारले युद्धस्तरमा काम गर्न थाल्नुपर्छ ।
Leave a Reply