पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
संयुक्त राज्य अमेरिका साम्राज्यवादी देश हो । संसारका स्वतन्त्र र सार्वभौम देशहरूमा साम्राज्य फैलाउने उसको ध्येय हो । संसारका स्वतन्त्रताप्रेमी र देशभक्त शासकहरूलाई आफ्नो नियन्त्रण या उठबसमा राख्न संयुक्त राज्य अमेरिकाले विभिन्न एनजीओ, आइएनजीओ खटाइरहेको छ, गुप्तचर विभागमार्फत आफूभन्दा भिन्न विचारका राष्ट्र नायक या राष्ट्र प्रमुखहरूको हत्या गर्ने र गराउने तालिम दिन अमेरिकी प्रशासन लागिरहेको छ । संसारका स्वतन्त्र र सार्वभौम देशको सरकार र जनतालाई आतङ्कित पार्ने काम संयुक्त राज्य अमेरिकाले गरिरहेको विश्वसामु छर्लङ्ग छ । संसारका दर्जनौँ देशमा सशस्त्रधारी अमेरिकी सेना तैनाथ गर्ने देश अमेरिका नै हो । अरू देशमा नाकाबन्दी गर्ने, देश देश जुधाएर शान्ति बिथोल्ने र अरूलाई लडाएर हतियार बेची धनी बनेको देश अमेरिका हो । प्रजातन्त्र र स्वतन्त्रताको बखान गरेर संसारकै प्रजातान्त्रिक र स्वतन्त्र देशलाई आफ्नो उठबसमा राख्ने काम अमेरिकाले गरिरहेको छ । यसरी संसारमा आतङ्क मच्चाउने, आक्रमण गर्ने, युद्धमा हतियार बेच्ने र युद्ध गराउन षड्यन्त्र गर्ने देश अमेरिकालाई ‘सही छ अमेरिकी नेतृत्व’ शीर्षकको लेख नागरिक दैनिकको चैत १४ मा छापियो । सो लेख गार्जियन स्रोत देखाएर सिमोन टिसडलले लेखेका थिए ।
लेखमा भनिएको छ, पच्छिमा राष्ट्रको सहयोगमा आवश्यक पर्दा अमेरिकाले गर्ने हस्तक्षेपलाई सम्पूर्ण हिसाबमा परित्याग गर्नुपर्छ भन्ने छैन । अव्यवस्थामा रहेको विश्वलाई शान्ति कायम गर्न र समस्याको समाधान गर्न शक्ति चाहिन्छ । सी चिनफिङ, पुटिनभन्दा अमेरिकी नेतृत्व सही छ ।” यो भनाइबाट अमेरिकी हस्तक्षेप स्वीकार्नुपर्ने या अमेरिकाले अरू देशमा हस्तक्षेप गरे पनि हुन्छ र विश्वलाई शान्ति कायम गर्न अमेरिकी शक्ति चाहिन्छ भन्ने पुष्टि हुन्छ । अमेरिकाको कारण कुन देशमा शान्ति भएको छ ? शान्त मुलुकमा भड्काउने, आन्तरिक कलह गराउने, अरू देशका शासकहरूको हत्या गरेर आतङ्क मच्चाइरहेको देश अमेरिकाले शान्ति होइन अशान्ति मच्चाइरहेको छ, त्यस्तो शक्ति विश्वको लागि जरुरी छैन । अतः अमेरिकी नेतृत्व सही होइन गलत छ ।
विश्वमा शान्तिको सन्देश छर्ने, शान्तिको निम्ति भूमिका निर्वाह गर्ने देश संयुक्त राष्ट्र सङ्घ पनि अमेरिकाको हतियार बनेको छ । अमेरिकाले आक्रमण गरे पनि टुलुटुलु हेरेर बस्ने या अमेरिकी हस्तक्षेप र अमेरिकी नाकाबन्दीको विरुद्ध एक शब्द नबोल्ने संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बनेको छ । यतिबेला साम्राज्यवादी नीतिको विश्वमै विरोध भइरहेको कारण अमेरिकी सरकार छटपटिन थालेको छ । आफूले जमाइरहेको हैकम समाप्त हुन लाग्यो भनी अमेरिकी सरकार चिन्तामा डुब्दै छ । अमेरिकाले जस्तै चीनले अरू देशमा आक्रमण गर्ने, आफ्नो देशको नीतिमा रहेर या आफ्नो सर्त राखेर कुनै देशलाई दबाब दिएर सहयोग गरिरहेको छैन । यसकारण, विश्वमा साम्राज्यवादी देश अमेरिकाको बदनाम र पतन भइरहेको छ भने चीनको प्रशंसा या गुणगान भइरहेको छ । विश्वको यो सत्य कुरा छोप्न ‘सही छ अमेरिकी नेतृत्व’ भनी अमेरिकी सरकार र अमेरिकी सरकारका पिछलग्गूहरू खोक्दै छन् । यो अमेरिकी सरकारको प्रभाव र दबाब छोप्ने दाउ हो । विश्वका न्यायप्रेमी र स्वतन्त्रताप्रेमी जनता साम्राज्यवादविरुद्ध एकजुट हुनु आवश्यक छ ।
Leave a Reply