भर्खरै :

टोखामा क्रान्तिकारी महिला भेला

टोखामा क्रान्तिकारी महिला भेला

काठमाडौँ, १५ चैत । नेपाल मजदुर किसान पार्टी टोखाको आयोजनामा मङ्गलबार टोखामा महिला भेला भयो ।
उक्त भेलामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य रोशनमैयाँ सुवालले अहिले देश सामन्तवादी व्यवस्थाबाट पुँजीवादी व्यवस्थामा आए पनि काम गरी खाने वर्गका महिलाको जीवन ज्यूँका त्यू नै छ भन्नुभयो । अन्धविश्वास र कुरीतिले गरिब महिलाहरू नै मारमा परेका छन् भन्दै उहाँले बोक्सी, छाउपडी, झुमा, देउकीलगायत कुप्रथाका कारण कैयौँ चेलीहरू नारकीय जीवन भोग्न बाध्य छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “हत्या र बलात्कारका घटना बढ्दो छ । बलात्कारी र हत्याराहरू सरकार र शासक दलकहरूकै संरक्षणमा छन् । तराईमा दाइजो र तिलक प्रथाका कारण कैयौँ महिलाहरू जिउँदै जलाइँदै छन् भने शारीरिक र मानसिक यातना भोग्न विवश छन् । यस्ता महिला समस्या समाधान गर्न नेपाल क्रान्तिकारी महिला सङ्घ लागिरहेको छ । पुँजीवादी व्यवस्थाको अन्त्य गरी समाजवादी व्यवस्थामा मात्र त्यस्ता विकृति समाप्त हुन्छ ।
नेमकिपा टोखाका अध्यक्ष रवीन्द्र डंगोलले समाजवादी व्यवस्थामा उत्पादनका साधन र सेवा सामाजिकीकरण हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, व्यक्तित्व विकासमा समान अवसर प्राप्त हुने, शिक्षा, स्वास्थ्य निःशुल्क र स्वदेशमै रोजगारीको बन्दोबस्त हुने भएकोले सम्पूर्ण कामदार वर्गलाई राजनैतिकरूपले सचेत गर्नु जरुरी छ भन्नुभयो ।
नेक्रामसङ्घ काठमाडौँका अध्यक्ष मीना डंगोलले बलात्कारी, चेलीबेटी बेचबिखन गर्ने मानव तस्कर, बोक्सीको आरोप र दाइजोको निहुँमा नागरिकलाई हत्या गर्ने तथा महिला हिंसाका गम्भीर अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्नेमा नेपाल क्रान्तिकारी महिला सङ्घले जोड दिइरहेको छ भन्नुभयो ।
नेमकिपा टोखाका मदन श्रेष्ठले २०४६ पछाडि नेपालमा नेपाली काङ्ग्रेसको सरकारले नवउदारवाद भित्याएर नेपालका कलकारखाना निजीकरण गरी कौडीको मोलमा बिक्री गरी बेरोजगारी समस्या बढाएको बताउनुभयो । उहाँले नेपाली युवाहरू अरबको ४० डिग्री तापक्रममा सस्तो ज्यामी बन्न बाध्य पारिएको चर्चा गर्दै शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा निजीलाई प्राथमिकता दिई महँगो बनाएर देश परनिर्भर बनाएको बताउनुभयो ।
भेलामा रमेश डंगोल, गणेशमाया श्रेष्ठ र समीरा श्रेष्ठले युवा र महिलाहरू राजनैतिकरूपमा सचेत भई समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *