सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
कामदार वर्गका महिला एक होऔँ !,
समाजवादी आन्दोलनको निम्ति अघि बढौँ !!
(चैत २४ र २५), चितवन नेपाल क्रान्तिकारी महिला सङ्घ (नेक्रामसङ्घ) देश र जनताको निःस्वार्थ सेवामा समर्पित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को जनवर्गीय सङ्गठन हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मसात् गर्दै समाजवाद स्थापना गर्ने पार्टीको उद्देश्य पूरा गर्न यो सङ्घ क्रियाशील छ ।
समाज– शोषक र शोषित वर्गमा विभाजित छ । महिलामा पनि वर्ग हुन्छ । नेक्रामसङ्घ कामदार वर्गका महिलाहरूको साझा सङ्गठन हो । नेक्रामसङ्घ केही व्यक्तिको हित हेर्ने पुँजीवादी व्यवस्थाविरूद्ध सङ्घर्ष गर्दै शोषित–पीडित महिलाहरूलाई सबैको हित हेर्ने समाजवादबारे शिक्षित र सचेत पार्न निरन्तर लागिरहेको छ ।
आज शोषक वर्गका मुठीभर महिलाहरूले ८०–९० प्रतिशत काम गरी खाने महिलामाथि शोषण गरिरहेका छन् । उनीहरू मुखले महिला अधिकार र परिवर्तनको बखान गर्छन् तर व्यवहार महिलामाथि शोषण बढाउने काम गर्दै छन् । स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व गरेका पुँजीवादी पार्टीहरूले महिला जनप्रतिनिधि र सांसदहरूमा कामदारवर्गका महिलालाई समेटेनन् । कामदारवर्गका महिलाको आन्दोलनलाई कमजोर बनाउन जातीय तथा लैङ्गिक विषयलाई मात्र जोड दिँदै छन् । महिलामाथिको शोषण पुरूषका कारण भएको भनी वर्गीय समस्यालाई ढाकछोप गर्दै छन् । सम्पत्तिमा निजी स्वामित्व पुँजीवादी व्यवस्था हो । पुँजीवादको आक्रामक रूप साम्राज्यवाद हो । उत्पादनका साधनमा कामदार वर्गको अधिकार समाजवादी बन्दोबस्तमा मात्रै हुनेछ । महिलाको मुक्ति, सम्मान, सुरक्षा र न्याय पनि साँचो समाजवादमा प्राप्त हुनेछ ।
समाजवादी व्यवस्थामा उत्पादनका साधन र सेवा सामाजिकीकरण हुन्छ† योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ† व्यक्तित्व विकासमा समान अवसर प्राप्त हुन्छ† शिक्षा–स्वास्थ्य निःशुल्क र स्वदेशमै रोजगारीको बन्दोबस्त हुन्छ । पुँजीवादी व्यवस्थामा गरिबको अधिकार हनन हुन्छ† शोषण हुन्छ । समाजवादले सबैको हित हेर्छ भने पुँजीवादले केही व्यक्तिको मात्र हित हेर्छ ।
नेक्रामसङ्घ व्यक्तित्व विकासमा समान अवसर र सम्पूर्ण शिक्षा एवम् स्वास्थ्य उपचार निःशुल्क हुने बन्दोबस्तको निमित्त आवाज उठाउँदै छ । शासक दलका महिला सङ्गठनहरू छोरीलाई सम्पत्तिको अधिकार र लैङ्गिक मुद्दामा मात्र केन्द्रित छन् । यसले हरेक घर–परिवार र समाजमा अशान्ति मच्चाउनेछ । धनाढ्य एवम् पुँजीवादी सोच भएका सम्भ्रान्त महिलाहरू आफ्नो ऐस–आराम र सुखसयल खलबलिएला भनेर यस्ता विषयलाई जोड दिन्छन् ।
‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ भनेझैँ पुँजीपतिवर्गका महिला र कामदारवर्गका महिला सङ्गठनको उद्देश्य र स्वार्थ फरक छ । नेक्रामसङ्घ कामदारवर्गका महिलालाई राज्यसत्ता र समाजको दोहोरो शोषणबाट मुक्त गराउन एवम् समाज परिवर्तनमा महिलाको भूमिकालाई स्थापित गराउन चाहन्छ । कामदारवर्गका महिलालाई राजनीतिमा सक्रिय बनाउन चाहन्छ । यसको लागि कामदारवर्गका सम्पूर्ण महिला राजनीतिकरूपले सचेत र सङ्गठित हुन आवश्यक छ । सम्पूर्ण शोषित पीडित महिला दिदीबहिनीहरूलाई नेक्रामसङ्घको रातो झन्डा बोकेर सङ्कठित हुन आह्वान गर्दछौँ ।
देशमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको ३३ वर्ष भइसक्यो† गणतन्त्र आएकै १५ वर्ष नाघिसक्यो । तर, दिनभर पसिना बगाउनेहरू ‘बिहान खाए बेलुकी के खाऊँ र बेलुकी खाए बिहान के खाऊँ’ को जीवन भोगिरहेका छन् । पुँजीवादी व्यवस्थामा यो स्थिति घट्नुको साटो बढ्छ । यसकारण, पुँजीवादी व्यवस्था अन्त्यको लागि कामदारवर्गका पुरूष र महिला दुवै काँधमा काँध मिलाई अघि बढ्नुको विकल्प छैन ।
देश सामन्तवादी व्यवस्थाबाट पुँजीवादी व्यवस्थामा आयो । अहिले कामगरी खाने वर्गका महिलाको जीवन ‘तावाबाट उछिट्टिएको माछो भुङ्ग्रोमा’ भनेझैँ भएको छ । अन्धविश्वास र कुुरीतिले समाजमा झनै जरो गाडेको अवस्था छ । यसको मारमा गरिब महिलाहरू नै परेका छन् । बोक्सी, छाउपडी, झुमा, देउकीलगायत कुप्रथाका कारण कैयौँ चेलीहरू नारकीय जीवन भोग्न बाध्य छन्† कतिपयको ज्यान नै गइरहेको छ । अन्धविश्वास र कुरीति अन्त्यको लागि आजसम्मका सरकारहरूले केही गरेनन् । यसको दोषी प्रधानमन्त्री र मन्त्री भएका दलहरू नै हुन् ।
हत्या, बलात्कारका घटना बढ्दो छ । बलात्कारी र हत्याराहरू सरकार र शासक दलहरूकै संरक्षणमा छन् । तराईमा दाइजो र तिलक प्रथाका कारण कैयौँ महिलाहरू जिउँदै जलाइँदै छन् भने शारीरिक र मानसिक यातना भोग्न विवश छन् । अपराधीहरू नेपाल–भारत खुला सीमाको दुरूपयोग गर्दै भारतमा लुक्दै छन् । चेलीबेटी बेचबिखन, बालबालिका अपहरण बढ्दो छ । नेमकिपाले नेपाल–भारत खुला सीमा नियमित र बन्द गर्नुपर्ने आवाज सडक र संसद्मा उठाउँदै आएको हो तर शासक दल र मन्त्रीहरूले ‘कानमा तेल हालेर’ र ‘आँखामा पट्टी बाँधेर’ बसे ।
बलात्कारी, चेलीबेटी बेचबिखन गर्ने मानव तस्कर, बोक्सीको आरोप र दाइजोको निहुँमा नागरिकलाई हत्या गर्ने तथा महिला हिंसाका गम्भीर अपराधीलाई ‘मृत्युदण्ड’ को सजायसमेत हुनुपर्नेमा नेपाल क्रान्तिकारी महिला सङ्घले जोड दिइरहेको छ ।
अहिले बालविवाह, बहुविवाहजस्ता कुसंस्कारले महिला र बालिकाहरूको जीवन कष्टप्रद बनिरहेको छ । यतातर्फ पनि शासक दल र सरकारका मन्त्रीहरूले ध्यान दिएका छैनन् ।
महिलाले समान कामको समान ज्याला पाएका छैनन् । कामकाजी महिलाहरू गर्भवती वा सुत्केरी भएपछि कामबाट निकालिन्छन्† सरकारी कार्यालयमा कामकाजी महिलालाई पनि सुत्केरीअघि र पछिको बिदा पुग्दो छैन । यी विषयमा पनि नेक्रामसङ्घले आवाज उठाइरहेको छ । रोजगारी नभएका महिलालाई सीपमूलक तालिमको व्यवस्थासँगै ‘गृहिणी’ महिलालाई मासिक भत्ता र किसानलाई निवृत्तिभरणको बन्दोबस्त हुनुपर्ने आवाज नेक्रामसङ्घको हो ।
महिलालाई श्रमशक्तिको वातावरण तयार भए देश विकासमा थप टेवा पुग्नेछ । तत्काललाई प्रत्येक वडाको टोल–टोलमा र कलकारखाना तथा कार्यालयहरूमा शिशु स्याहार केन्द्र र बालोद्यानको बन्दोबस्त गर्नु जरूरी छ । यसले एकैपटक ४–५ लाख महिलालाई रोजगारी दिनेछ भने लाखौँ बालबालिकाको शारीरिक र मानसिक विकासमा टेवा पुग्नेछ ।
देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने सङ्घर्षमा पनि नेक्रामसङ्घ आफ्नो मातृपार्टी नेपाल मजदुर किसान पार्टीको निर्देशानुसार लागिरहेको छ । भारतीय विस्तारवादले नेपालको ७१ भन्दा बढी स्थानमा ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण गरेको छ । भारतले नेपाली भूमि सुस्तामाथि गरेको अतिक्रमणविरूद्ध नेपालमा पहिलो विरोध नेमकिपाले नै गरेको स्मरणीय छ । नेपालको आन्तरिक मामिलामा भारतीय शासकवर्ग र एकाधिकार पुँजीको हस्तक्षेप बढ्दो छ । नेपाल र नेपाली जनताको हितभन्दा भारतीय शासकवर्गको हितमा काम गर्ने दलाल र दास मानसिकताका नेपाली शासक दलहरू भारतले तयार गर्दै छ । भारतले सिक्किमलाई संसद्बाट सजिलै आफूमा गाभेजस्तै नेपाललाई भारतको अर्को प्रान्त बनाउने जालसाजी गर्दै छ । यसको लागि भारतले ‘नागरिकता विधेयक’ अगाडि बढाउन लगाएको छ । संसद् र सडकमा नेमकिपाको आन्दोलनकै कारण अहिले यो विधेयक रोकिएको हो । तर, कुनै पनि दिन यसलाई अगाडि बढाइने खतरा छ । विदेशी नागरिक विशेषतः भारतीय महिलाहरूलाई एक हातमा सिन्दुर र अर्को हातमा तत्काल नेपाली नागरिकता दिएर संसद् र देशको महत्वपूर्ण पदमा पठाउने अनि आफ्नो हितमा कानुन बनाउन लगाउने दाउ भारतको हो । जबकि, भारतमा विवाह गरेका नेपाली महिलाले नागरिकता प्रक्रियाको लागि ७ वर्ष कुर्नुपर्छ । शासक दलका महिला नेतृहरू महिला अधिकारको नाममा नागरिकता विधेयकमा समर्थन जनाएर आफ्नै खुट्टामा बन्चरो हान्ने र देशघात गर्ने काम गर्दै छन् ।
२०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता विधेयक खारेज गराउन आन्दोलनको विकल्प छैन ।
संसारमा अशान्ति, हिंसा, युद्धको कारक पुँजीवाद र साम्राज्यवाद नै हो । यसको नेतृत्व अमेरिका र नाटो देशले गरिरहेकोमा दुईमत रहेन । स्वतन्त्र र सार्वभौम देशमा हस्तक्षेप गर्ने र युद्धमा फसाएर हतियारको व्यापार गर्दै आएको अमेरिकाले एसियामा तेस्रो विश्वयुद्ध गराउने तयारी गर्दै छ । वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) त्यसैको सिलसिला हो । नेपाली शासक दलहरूलाई ५० करोड डलर (५५ अर्ब रूपियाँ) को लोभ देखाएर विद्युत् उत्पादन र व्यापारको नाममा नेपाललाई युद्धभूमि बनाउने र चीनको समाजवादी व्यवस्था ध्वस्त पार्ने कुत्सित मनसाय अमेरिकाको हो । अमेरिकाले अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोग (क्ष्ब्भ्ब्) मार्फत नेपाललाई आफ्नो प्रभावमा राख्दै छ । अमेरिकी सेनाले एसपीपी साझेदारीमार्फत नेपाली सेनाको ब्यारेक कब्जा गर्ने हो । युद्ध भए सबभन्दा बढी असुरक्षित नेपाली महिलाहरू नै हुनेछन्. बालबालिका त्यसको सिकार बन्नेछन् । त्यसकारण, देशघाती एमसीसी सम्झौता र एसपीपी साझेदारी खारेजीको आन्दोलन आवश्यक छ । नेक्रामसङ्घले कामदारवर्गका महिलालाई राजनीतिक शिक्षा दिँदै आफ्नो दायित्व निर्वाह गर्दै आइरहेको छ ।
यो पृष्ठभूमिमा नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन हुँदै छ । पुँजीवादी व्यवस्था र साम्राज्यवादको विरोधमा व्यापक जनमत तयार गर्ने आन्दोलनकै सिलसिलाको रूपमा नेक्रामसङ्घले सम्मेलनलाई अगाडि बढाउनेछ । सम्मेलन भव्यरूपमा सफल पार्न यहाँहरूको सक्दो सहयोगको निम्ति हामी हार्दिक अपिल गर्दछौँ ।
हाम्रा नाराहरू :
– नेपाल मजदुर किसान पार्टी – जिन्दावाद !
– नेपाल क्रान्तिकारी महिला सङ्घ – जिन्दावाद !
– नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन – सफल पारौँ !
– कामदार वर्गका महिला – एक होऔँ !
– शिक्षा, स्वास्थ्य – निःशुल्क गर !
– स्वदेशमै रोजगारीको – व्यवस्था गर !
– अन्धविश्वास – अन्त्य गर !
– बलात्कारीलाई – फाँसी दे !
– महिला बेचबिखन – अन्त्य गर !
– बढ्दो महँगी – नियन्त्रण गर !
– कालाबजारियालाई – कारबाही गर !
– भ्रष्टाचारीलाई – फाँसी दे !
– भारतीय विस्तारवाद – मुर्दावाद !
– भारतीय एकाधिकार पुँजी – मुर्दावाद !
– सीमा अतिक्रमण – बन्द गर !
– अतिक्रमित भूमि – फिर्ता गर !
– खुला सीमा – बन्द गर !
– अमेरिकी साम्राज्यवाद – मुर्दावाद !
– देशघाती नागरिकता विधेयक – खारेज गर !
– देशघाती एमसीसी सम्झौता – खारेज गर !
– स्वदेशमै रासायनिक मल कारखाना – स्थापना गर !
– गोर्खा भर्ती – खारेज गर !
– १९५० को असमान सन्धि – खारेज गर !
– दुईदलीय तानाशाही – मुर्दावाद !
– तीन प्रतिशतको मतसीमा – खारेज गर !
Leave a Reply