सिंहदरबारमा बलात्कारपछि हत्याको ‘मुद्दा मिलाउन’ गृहमन्त्री आफै !
- भाद्र १५, २०८३
त्यतिबेला कोलकतामा माक्र्स, लेनिनका किताब ‘नये युगके नये विचार’ भन्दै चिच्चाई चिच्याई बेचिन्थे । त्यतिबेला नक्सलवाडी भन्ने ठाउँमा किसान विद्रोह सुरु हुन थाल्यो । नक्सलवादीहरूले ‘स्कुल, कलेज छाड दो, क्रान्तिमे कूद पढो । जितने पढोगे, उतने मूर्ख बनोगे’ नारा दियो । घरबाट पठाएको खर्च नपुगेपछि पौड्यालले ट्याक्सी चलाउन थाले । कहिले बङ्गालीहरूसँगै नाराजुलुस, कहिले मिटिङ, कहिले ट्याक्सी चलाउने अनि कहिले क्लास लिन जाने व्यस्त दैनिकीले पढ्न आएको पौड्यालको जिन्दगीको बाटो अर्कै मोडमा पुग्यो । पौड्यालले नेपाली नेशनल टे«डिङको गाडी बन्दरगाहबाट कम्पनीको गोदामसम्म ल्याउने काम पनि गरे । दिनदिनै नयाँ नयाँ गाडी चलाएको देखेर बङ्गाली साथीहरू पनि दङ्ग पर्थे । तर बङ्गालीहरूसँग आन्दोलनमा हिँडेको थाहा पाएपछि नेशनल टे«डिङले पौड्याललाई कामबाट बर्खास्त ग¥यो । कोलकता बसाईँको क्रममा भारतीय साथीहरूसँगै खिदिरपुरस्थित नेशनल लाइब्रेरी जान थाले । त्यहाँ नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलाल पनि जाने गर्थे । पुष्पलालसँग पौड्यालको पहिलो भेट त्यहीँ लाइब्रेरीमा भयो । पौड्यालको दाबी छ, “पुष्पलालसँग मलाई नृपेन चक्रवर्तीले भेटाइदिएका हुन् ।” पुष्पलालसँगको भेटले पौड्याललाई राजनीति र नक्सलवादी आन्दोलनबारे थप बुझ्ने मौका मिल्यो । पुष्पलालकै सल्लाहमा पौड्याल उग्रवादी आन्दोलनमा जानबाट रोकिए । २०२४ सालको दशैंताका पौड्याल नेपाल फर्के ।
कोलकता जानुअघि नै पौड्यालको परिवार रूपन्देहीमा बसाईं सरिसकेको थियो । भारतबाट फर्केपछि पौड्याल रूपन्देहीमा कम्युनिस्ट पार्टीप्रति आस्थावानहरूको सम्पर्कमा पुगे । पार्टी सङ्गठन निर्माणमा सक्रिय भए । बाबुराम अर्यालसँग मिलेर पुष्पलालका दाइ सहिद गङ्गालालको स्मृतिमा गङ्गालाल पुस्तकालय स्थापना गरे । मणिग्रामका विद्यालयहरूमा राम्रो पढाइ भइरहेको थिएन । शिक्षकहरूले तलब पाएका थिएनन् । त्यसैले त्यो स्कुलको असन्तुष्टिलाई लिएर विद्याथीहरूको सङ्गठन खोले । पौड्यालको सम्झनामा ‘त्यतिबेला विद्यार्थी सङ्गठनको नाम अखिल नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ थियो ।’ शिक्षामा सुधार हुनुपर्ने, कक्षा खाली हुन नहुने, शिक्षकले तलब पाउनुपर्ने आदि माग राखेर आन्दोलन चर्काइयो । विद्यालय सञ्चालकहरू कविराज पुन र सरोजमणि दिक्षितले विद्यार्थीहरूलाई गाली गरे । कविराज पुनले कसैलाई नपिटे पनि धम्की दिए । त्यतिबेलाको विद्यार्थी आन्दोलनबारे पौड्याल वर्णन गर्छन्, “त्यसपछि विद्यार्थीहरूले कविराज पुनलाई पिटे । दोहोरो झडपजस्तै भयो । दुवैतर्फ सामान्य चोटपटक लाग्यो । पुलिससुलिस आए । हामी घेराउमा प¥यौँ । अनि प्रहरी प्रशासन र सामन्तले पिटे भनेर दुई–चार साथीलाई त्यतिकै ढल भनियो । अनि अस्पताल लगियो । डाक्टर भीडसँग डराए । चोटपटक नलागेकाहरूलाई पनि अस्पताल लगेर सुताइयो । त्यसपछि झन् विद्यार्थी उत्तेजित भए । गाउँलेहरू पनि हेर्न आउने–जाने गर्दा भिड जम्मा भयो ।” त्यही बिचमा पौड्यालले गङ्गालदेखि चिनियाँकाजीसम्मको नाम लिएर उत्तेजक भाषण गरेर भने, “उनीहरूलाई शासकहरूले गोली ठोकेर मारे । अहिले पनि चार जना साथी जीवन र मरणको दोसाँधमा छन्, मर्छन् कि के गर्छन्, थाहा छैन ।” त्यो घटनाले पौड्याललाई रूपन्देहीका विद्यार्थीबिच स्थापित ग¥यो ।
२०२५ सालमा वनारसमा भेट भएका लेखनाथ ज्ञवालीकी बहिनी दुर्गासँग बिहे हुने चाँजोपाँजो मिल्यो । बाबुराम अर्याल, जीवराज आश्रितलगायत १० जनाजति साथीहरू लिएर जन्ती जाँदा पौड्याल आफैले मागी पाएको जिप हाँकेका थिए । माइत पक्षबाट बुबाआमासहित गोविन्द ज्ञवाली, मोदनाथ प्रश्रितलगायत थिए । बिहेको लागि पण्डित थिए – जगन्नाथ ढकाल । बिहेको विधि सम्पन्न गर्दा मोदनाथ प्रश्रितले ठट्यौली पारामा भने, “माक्र्सवादाय लेनिनवादाय नमो नमः ।” वातावरण निकै रमाइलो भयो । त्यतिबेला प्रश्रित माक्र्सवादको प्रचारमा लागेको भए पनि कम्युनिस्ट पार्टीको सदस्य भइसकेका थिएनन् ।
२०२६ मङ्सिरमा त्रिभुवन विश्वविद्यालयले प्रात्ेट स्तरमा खुलेका १८ वटा कलेजलाई अस्वीकृत गरेको विरोधमा विद्यार्थीको भैरहवामा विशाल जुलुस निस्क्यो । जुलुसमा पार्टी अञ्चलब्युरो सदस्य गोविन्द ज्ञवाली, बाबुराम अर्याल, एकराज पाण्डे, जीवराज आश्रित, देवेन्द्र घिमिरे र पौड्याललगायत नेतृत्व पङ्क्तिमा थिए । पुलिसले जुलुसलाई च्याप्दै लगेपछि सहभागी विद्यार्थीहरू यताउता हुन थालेको देखेर पौड्यालले जोसिंदै भने, “नडराऔँ साथीहरू, यी सब कागजी बाघहरू हुन् । यिनीहरूसँग डराउनु पर्दैन ।” त्यति भन्नासाथ पुलिस पौड्यालमाथि जाइलाग्यो । पुलिस र विद्यार्थीको तानातानमा परे पौड्याल । पुलिसले निर्मतापूर्वक कुटपिट गर्न थाले । विद्यार्थीहरूले पनि पुलिसकै टोपी खोसेर फाल्दिए । दोहोरो हानाहान भयो । भागाभाग चल्यो । पौड्यालका कपडा, ज्याकेट च्यातिएर धुजाधुजा भयो । कतिको टाउको फुट्यो । पौड्याल पनि निकै घाइते भए । टाउकोबाट रगत बगिरहेको थियो । बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आएर उपचार गराए । अस्पतालका कर्मचारी, पार्टी साथी गोविन्दसिंह थापाको सहयोगमा पाँच ६ दिन गोप्यरूपमा अस्पताल बसेर घर फर्के । त्यही घटनाबाट पौड्याल अञ्चलाधीशको नजरमा परे । पक्राउ पुर्जी जारी भयो । सम्पत्ति तायदाती छुट्याएर रोक्का भयो । ६ वर्षभित्र फुकुवा नगरेमा सम्पत्ति लिलाम हुने भयो । राजकाजको मुद्दा चल्यो ।
वारेन्ट जारी भएको बेलामा भूमिगत भएरै पौड्याल काठमाडौँ दयानिधि शर्माकहाँ पुगे । त्यहाँ राजेश्वर देवकोटासँग चिनापर्ची भयो । रूपन्देहीकै गृह सहायक मन्त्री पिताम्बरध्वज खाती त्यहीँ आउँदै थिए । चिनजान भए नभएको देवकोटाले सोधे । त्यो बेला काठमाडौँमा पौड्याललाई चिन्ने मान्छेहरू थिएनन् । लुकेर हिँड्नुपर्ने अवस्था थिएन । काठमाडौं बस्दा पौड्याल पार्टी सेक्रेटरी विष्णु डङ्गोलको घर ताहाचलमा पनि बसे । डङ्गोलले विद्यार्थी र किसानहरू जम्मा गरेर क्लास चलाउन लगाउँथे । ती क्लासको बारेमा ‘मृत्युले मुसारेको मानिस’मा पौड्याल लेख्छन्, “हामी किन गरिब भयौँ ? उत्पादन के हो ? सत्ताले कसरी शोषण गर्छ ? अहिले सम्झँदा लाग्छ, कति झूटको माला जोडेर कुरा गरिन्थ्यो, झूट त कति हो कति । झूटलाई नि ‘ग्लोरिफाई’ गराउँथ्यौँ । नेताले जे सिकाए, हामीले त्यही सिक्यौँ । मैले भारतीय नेताबाट भन्दा बढी यहाँका नेताबाट झूट नै बढी सिकेँ । हुँदै नभएको कुरालाई पनि तिलको पहाडजस्तै बनाउने । झूटको खेती विशेष गरी झापा आन्दोलनबाट सुरुवात भएको हो ।”
विचार जे भए पनि आफूलाई गतिलो लागेको मान्छेहरूसँग पौड्याल दोस्ती बनाउँथे । कम्युनिस्ट पार्टीमा लागेको मान्छे, पञ्चेहरूसँग पनि काङ्ग्रेसीहरूसँग पनि उस्तै घनिष्ठ सम्बन्ध । त्यसैले उनका साथीहरू भन्ने गर्थे, “तँ त आलु होस्, जुन तरकारीमा हाले पनि सुहाउने । जहाँ गए पनि भेटिन्छ । यस्तो पनि हुन्छ ? तँ अलि अवसरवादी होस् ।” काङ्ग्रेसी दमननाथ ढुङ्गाना, सूर्यबहादुर थापाको पालाका अर्थसचिव देवेन्द्रराज पाण्डे, प्रकाशचन्द्र लोहनी, मनमोहन अधिकारी, सहाना प्रधानलगायत नेताहरू बुटवल आउँदा पौड्यालको घरमा पस्थे, बस्थे ।
२९८ जोड ४ पृष्ठको ‘मृत्युले मुसारेको मानिस’ संस्मराणात्मक कृतिमा वरिष्ठ पत्रकार मदनलाल पौड्यालका जालीफटाहाविरुद्ध कारबाहीजस्ता राजनीतिक गतिविधिहरू, मनमोहन अधिकारी, सहाना प्रधानलगायत विभिन्न व्यक्तित्वहरूबारे दृष्टिकोण, पिस्कर काण्डलगायत घटनामा गरिएको स्थलगत रिपोटिङहरूका अनुभवहरू समेटिएका छन् । २०४५ सालको भूकम्प र त्यसलगत्तै राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’बारे पनि ‘मृत्युले मुसारेको मानिस’मा पौड्यालले स्थान दिएका छन्, “भक्तपुरमा राहत सामग्री वितरणमा धाँधली भयो भनी हुल मच्चाइयो । भिडले राहत सामग्री वितरणमा सघाइरहेका राष्ट्रिय पञ्चायत (पूर्व) सदस्य कर्णप्रसाद ह्योजूलाई छाताले घोचीघोचीकन मा¥यो । त्यस काण्डको दोष भक्तपुरका वामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) र उनका कार्यकर्तामाथि लगाइयो । सरकार नारायणमानलाई नै सिध्याउने प्रपञ्चमा लाग्यो । सोहीअनुसार नारायणमान र उनका कार्यकर्तालाई व्यापक धरपकड ग¥यो र जेल हाल्यो । नारायणमानको विरोधमा प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठसहितको ठूलो जुलुस काठमाडौँमा निस्क्यो । त्यो समय म काठमाडौंमै थिएँ । त्यो जुलुस आफ्नै आँखाले देखेँ । त्यो जुलुसमा तत्कालीन नेकपा मालेका कार्यकर्ताको पनि संलग्नता थियो । त्यो जुलुस पञ्चहरूले गरेका भए पनि त्यसमा अघोषितरूपमा माले पनि सामेल थियो । त्यसो गर्नुको मुख्य कारण भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको बाहुल्य र नारायणमान बिजुक्छेँको लोकप्रियता थियो । भक्तपुर र नारायणमान पर्यायजस्तै थिए । उनलाई त्यहाँबाट विस्थापित नगरेसम्म न त पञ्चहरूको अस्तित्व कायम हुन्थ्यो, न मालेले आफ्नो सङ्गठन विस्तार गर्न सक्थ्यो । त्यसैले पञ्चहरूले पहिले नै आफ्ना गुण्डाहरूलाई राहत सामग्री वितरण गरेको ठाउँमा हुलदङ्गा मच्चाउन पठाएका थिए । यो पञ्चहरूको सुनियोजित षड्यन्त्र थियो । त्यसैलाई भित्रीरूपमा साथ दिएको थियो तत्कालीन माले पार्टीले ।”
पौड्याल अगाडि थप्छन्, “त्यतिबेला हामीले ‘मातृभूमि’मा भक्तपुर काण्डको समाचार, लेख, सम्पादकीय र फिचर पनि लेख्यौँ । गोविन्द वियोगीले भनेका थिए, “हेर्नुस्, भक्तपुर काण्ड पञ्चायतको षड्यन्त्र हो । माले समर्थक पत्रिकाहरूले पनि नारायणमानलाई दोषी देखाएर पञ्चहरूलाई सघाउ पुग्नेखाले समाचार र लेख लेखेका छन् । त्यो एकदमै झूटो हो । त्यसको यथार्थ पत्ता लगाएर मातृभूमिमार्फत बाहिर ल्याउन सके नारायणमानहरूलाई सहयोग नै हुनेछ ।” भक्तपुर काण्डमा पञ्चायत पक्षधर पत्रिकाहरूले नारायणमानलाई नै दोषी देखाउन भरमग्दुर प्रयास गरे । कम्युनिस्टहरूलाई सकेसम्म यही मौकामा साफ गराउनुपर्छ भन्ने मनसाय थियो, सायद । केही पत्रिकाले नारायणमानलगायत उनका कार्यकर्ताको पक्षमा नलेखेका होइनन् । पत्रकारिता पनि कस्तो भएछ । सत्यलाई झूट र झूटलाई सत्यजस्तो बनाउन सक्ने । हिटलरको प्रोपगान्डा मन्त्री गोयबल्सको शैली सायद यस्तै हुँदो हो । पञ्चहरूको षड्यन्त्रअनुसार नै भक्तपुरे नेता, कार्यकर्ता जेलमा परे । त्यसको केही समयपछि जनआन्दोलन सुरु भइहाल्यो । बहुदलीय प्रजातन्त्रको आगमनसँगै नारायणमानलगायत उनका नेता, कार्यकर्ता आम माफी पाएर (पञ्चायतले जाली मुद्दा फिर्ता लिएपछि) छुटे । पछि उनीहरूले नै भक्तपुर काण्डबारे आफ्नो पार्टीको मुखपत्र, पत्रपत्रिका, पुस्तकमार्फत सत्यतथ्य बाहिर ल्याए ।”
‘मृत्युले मुसारेको मानिस’मा पौड्यालका गौरवमय अनुभवहरू समेटिएका छन् । विशेषगरी राजनीतिक घटनाहरूबारे भने आत्मालोचनात्मक वर्णन गरिएको छ । त्यसैले कतिपय आलोचकहरूले ‘मृत्युले मुसारेको मानिस’ बाट कम्युनिस्ट आन्दोलनप्रति पाठकहरूको नकारात्मक धारणा निर्माण हुने आरोप लगाएका छन् । विगतको कम्युनिस्ट आन्दोलनमा देखिएका कमीकमजोरी केलाएर तस्वीर प्रस्तुत गर्नुलाई अन्यथा मान्नु आवश्यक देखिंदैन । नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका वीरतापूर्ण अविचलित सङ्घर्षका गाथाहरू अनि खोटाविचार र आचरणहरू सबै कम्युनिस्ट आन्दोलनकै सम्पत्ति हुन् । इतिहासको सही सिँहावलोकनले कम्युनिस्ट आन्दोलनको गन्तव्यमा पुग्न मद्दत गर्नेछ । तसर्थ, ‘मृत्युले मुसारेको मानिस’ले नयाँ पुस्तालाई नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढीकरण गरेर सही मार्गमा अग्रसर गराउन प्रेरित गर्नेछ भन्ने आशा गर्न सकिन्छ । वरिष्ठ पत्रकार मदनलाल पौड्याललाई साधुवाद छ ।
समाप्त
Leave a Reply