भर्खरै :

देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन नेक्रामसङ्घ सङ्घर्षरत

देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउन नेक्रामसङ्घ सङ्घर्षरत

चैत २४ र २५ गते नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन
काठमाडौँ, २२ चैत । ‘कामदार वर्गका महिला एक होऔँ, समाजवादी आन्दोलनको निम्ति अघि बढौँ !’ भन्ने उद्घोषका साथ नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा हुन गइरहेको छ । चैत २४ र २५ गते हुने सो राष्ट्रिय सम्मेलनको उद्घाटन ¥याली चितवनको रत्ननगरस्थित सौराहा चोकमा हुनेछ भने उद्घाटन समारोह होटल गंगोत्री हाइवे प्रालिमा हुनेछ । यो सम्मेलन सफल पार्न नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिले देशका काम गरी खाने श्रमजीवी महिला, किसान, मजदुर, विद्यार्थी, युवा, शिक्षक, पत्रकार, लेखक, बुद्धिजीवी, देशभक्त व्यापारी, उद्योगी तथा सर्वसाधारण जनतामा हार्दिक अपिल गरेको छ । पुँजीवादी व्यवस्था र साम्राज्यवादको विरोधमा व्यापक जनमत तयार गर्ने आन्दोलनकै सिलसिलामा नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन हुन गइरहेको हो ।
कामदार वर्गका महिलालाई राजनीतिक शिक्षा दिँदै आफ्नो दायित्व निर्वाह गर्दै आइरहेको नेक्रामसङ्घ देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने सङ्घर्षमा लागिरहेको छ । विदेशी नागरिक विशेषतः भारतीय महिलाहरूलाई एक हातमा सिन्दुर र अर्को हातमा तत्काल नेपाली नागरिकता दिएर संसद् र देशको महत्वपूर्ण पदमा पठाउने अनि आफ्नो हितमा कानुन बनाउन लगाउने भारतीय दाउको नेक्रामसङ्घले विरोध गर्दै महिलालाई सचेत पार्दै छ ।
महिलालाई श्रम शक्तिको वातावरण तयार भए देश विकास र जनताको जीवनस्तर उकास्न थप टेवा पु¥याउने, प्रत्येक वडाको टोल र कलकारखाना तथा कार्यालयहरूमा शिशु स्याहार केन्द्र र बालोद्यानको व्यवस्था भए महिलाले रोजगारी पाउने र लाखौँ बालबालिकाको शारीरिक र मानसिक विकास हुने हुँदा नेक्रामसङ्घले शिशु स्याहार केन्द्र र बालोद्यानको बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गर्दै आएको छ । महिलाले समान कामको समान ज्याला, रोजगारी नभएका महिलालाई सीपमूलक तालिमको व्यवस्थासँगै ‘गृहिणी’ महिलालाई मासिक भत्ता र किसानलाई निवृत्तिभरणको बन्दोबस्त हुनुपर्ने आवाज नेक्रामसङ्घको हो ।
बलात्कारी, चेलीबेटी बेचबिखन गर्ने मानव तस्कर, बोक्सीको आरोप र दाइजोको निहुँमा महिलालाई हत्या गर्ने तथा महिला हिंसाका गम्भीर अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग राख्दै अघि बढिरहेको नेक्रामसङ्घको सम्मेलन सफल हुने विश्वास छ । तराईका जिल्लाहरूमा दाइजो र तिलक प्रथाका कारण जिउँदै जलाइने र शारीरिक र मानसिक यातना भोग्न बाध्य महिलाहरूको समस्याबारे शासक दलका नेता र मन्त्री मौन बसेका कारण हिंसात्मक घटनाहरू दोहोरिरहेका छन् । सरकारकै बेवास्ताको कारण अन्धविश्वास र कुरीति अन्त्य भएको छैन । बोक्सी, छाउपडीजस्ता कुप्रथाका कारण सयौँ, हजारौँ चेलीहरूले नारकीय जीवन बिताउन बाध्य हुनुको कारण पनि शासकहरूको बेवास्ता हो । यसबारे नेक्रामसङ्घले सरकारको ध्यानाकर्षण गर्दै आएको छ ।
कामदार वर्गका महिलालाई राजनीतिमा सक्रिय बनाउन, कामदार वर्गका महिलालाई राज्य सत्ता र समाजको दोहोरो शोषणबाट मुक्त बनाउन नेक्रामसङ्घ सङ्घर्षरत छ । सम्पूर्ण शोषित–पीडित महिलाहरूलाई नेक्रामसङ्घको रातो झन्डा बोकेर सङ्गठित हुन आग्रह गर्दै सङ्घले सम्मेलनमा सहभागी हुन पनि आग्रह गरेको छ । महिलाको मुक्ति, सम्मान, सुरक्षा र न्याय समाजवादमा मात्र प्राप्त हुने हुँदा समाजवादी व्यवस्था स्थापना गर्न नेक्रामसङ्घ लागिरहेको छ । समाजवाद स्थापनामा क्रियाशील नेक्रामसङ्घको यो सम्मेलनले सङ्घको नयाँ कार्य समिति चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *