भर्खरै :

“नयाँ पुस्तामा सामूहिक भावना जगाउने शिक्षा दिनुपर्छ”

“नयाँ पुस्तामा सामूहिक भावना जगाउने शिक्षा दिनुपर्छ”

भक्तपुर, २५ चैत । भक्तपुर नपा वडा नं. ४ राममन्दिरस्थित मिनर्वा इङ्गलिस स्कूलको अभिभावक दिवस, दीक्षान्त समारोह तथा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बिदाइ कार्यक्रम शनिबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले पैसा कमाउने उद्देश्यले अध्ययन गर्ने विद्यार्थीले देश र परिवारको वास्ता नगर्ने र विदेश पलायन हुने बताउनुभयो ।
उहाँले भक्तपुरको सम्पदा, कला संस्कृतिबारे विद्यार्थीहरूलाई शिक्षा दिन स्थानीय पाठ्यक्रम सबै विद्यालयमा लागू गरिरहेको बताउँदै भक्तपुर नपाले शिक्षा सँगसँगै खेलकुद र सांस्कृतिक गतिविधिलाई जोड दिँदै भक्तपुरलाई जीवन्त सहरको रूपमा विकास गर्ने प्रयासमा रहेको बताउनुभयो ।
नयाँ पुस्तामा सामूहिक भावना जगाउने शिक्षा प्रदान गर्न विद्यालय अग्रसर हुनुपर्ने बताउँदै भक्तपुर शैक्षिक केन्द्रको रूपमा विकास गर्न सामुदायिक र निजी विद्यालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ४ का वडा सदस्य कृष्णसुन्दर प्रजापतिले वडाबाट सञ्चालित गतिविधिबारे जानकारी गराउँदै सम्पदा सरसफाइलगायतका सामाजिक गतिविधिमा विद्यार्थीहरूलाई संलग्न गराउन आवश्यक भएको बताउनुभयो ।
डा. सत्यनारायण सुवालले कोभिड सङ्क्रमण पुनः छिमेकी देशहरूमा देखिन थालेको हुँदा विद्यार्थी, अभिभावक र नागरिकहरू सचेत हुनुपर्ने र कोभिडविरुद्धको बुस्टर डोज समयमै लिन अनुरोध गर्नुभयो ।
विद्यालयका प्रअ राजेन्द्र दुवालले विद्यालयले विद्यार्थीको शैक्षिक विकासमा अतिरिक्त क्रियाकलापको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कार्यक्रमका अतिथिहरूले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानपत्रसहित बिदाइ तथा स–साना बालबालिकाहरूलाई दीक्षित गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *