कसिमलापाँय् र हस्तलेखन प्रतियोगिता सम्पन्न
- आश्विन १४, २०८१
भक्तपुर, २५ चैत । नेपाल कराते महासङ्घ भक्तपुर जिल्ला करातेको आयोजनामा बधाई ज्ञापन तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शुक्रबार त्रिपुरासुन्दरीमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुनिल प्रजापतिले नेपाल कराते महासङ्घमा उपाध्यक्षमा निर्वाचित हुन सफल प्रकाशमोहन धौभडेललाई बधाई र सम्मानपत्रबाट सम्मानित गर्नुभयो । उहाँले कराते खेलमा विद्यालयका प्रशिक्षक प्रशिक्षण तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
पदको त्याग, तपस्या, परिश्रम र मेहनतबाट अहिले नेपाल कराते महासङ्घको उपाध्यक्षमा पुग्न सफल भएकोमा बधाई दिँदै उहाँले राजनीतिमा पदको निम्ति नैतिक र अनैतिक जे पनि गरेर पदमा पुग्ने गलत मानसिकताबाट अगाडि बढ्दा देशको स्थिति दयनीय अवस्थामा पुगेको बताउनुभयो । उहाँले पूर्वाधारविना खेलकुदको विकास नहुने भएकोले लिबाली र देकोचामा कभर्ड हलको निर्माण गरी स्तरोन्नत्ति गरेको बताउनुभयो । उहाँले प्रतियोगितामा जति बढी खेलाडीहरूको सहभागिता हुन्छ त्यस खेलको स्तर बढ्ने भएकोले भक्तपुर नगरपालिकाकाले विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र अन्तरनगर प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।
उहाँले विदेशीहरूले देश विकास नगर्ने भएकाले स्वदेशमा नै बसेर विकास गर्नुपर्ने नत्र श्रीलङ्काको स्थितिमा पुग्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो । गलत नेतृत्वका कारण देशले दुःख पाइरहेको बताउँदै उहाँले देश, जनता र समाजको निम्ति काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छँेले विकास भनेको बाटोघाटो र भवन मात्रै नभई गीत सङ्गीत, नाचगान, खेलकुदको प्रवद्र्धन गर्नु पनि हो भन्नुभयो । उहाँले खेल आत्मरक्षाको लागि भएकोले यसको सही ठाउँमा उपयोग गर्नुपर्ने बताउँदै खेलको दुरूपयोग नगर्न अनुरोध गर्नुभयो ।
नेपाल कराते महासङ्घमा नवनिर्वाचित उपाध्यक्ष प्रकाश मोहन धौभडेलले भूमिगतरूपमा खेलको प्रशिक्षण दिई विकास गरेको खेल राजनीतिक भागबन्डाले गर्दा योग्य खेलाडीले खेल खेल्न नपाउँदा विदेशमा नेपाली खेलाडीहरूको प्रदर्शन सफल नभएको बताउनुभयो । उहाँले तलैबाट आउने खेलाडी राम्रो र गुणस्तरीय हुने र पारदर्शी र प्राविधिक रूपमा खेललाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलकुदमा जीवन अर्पण गरेका सम्मानित व्यक्तित्वहरूका कारण भक्तपुरमा खेलकुदको विकास भएको बताउँदै खेलकुदलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने बताउनुभयो । उहाँले खेलकुदबाट देशको नाम अन्तर्राष्ट्रिय जगतमा फैलाउन सक्ने बताउँदै खेल अनुशासन, मित्रता र जागरुकताको लागि पनि हो भन्नुभयो ।
अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रि एवम् प्रशिक्षक रामशरण त्वातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्य लामाले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्री एवम् नेपाल कराते महासङ्घ रेफ्री काउन्सिलका अध्यक्ष राजेन्द्र कपाली, भक्तपुर किक बक्सिङ सङ्घका राजन चित्रकार, करातेका वरिष्ठ प्रशिक्षक रोशन प्रजापति, राधिका देउला, जिल्ला खेलकुद विकास समिति दीपेन्द्र व्याञ्जुको पनि उपस्थिति थियो ।
Leave a Reply