पठन संस्कृतिको पुनर्जागरण
- कार्तिक ९, २०८३
भक्तपुर, २५ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको विकासविना मुलुकको विकास सम्भव नहुने बताउँदै संविधानले आधारभूत तह अनिवार्य र मावि शिक्षा निःशुल्क घोषणा गरे पनि व्यवहारमा सम्भव हुन नसकेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ बाराहीस्थानस्थित महेन्द्र विद्याश्रमको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित अभिभावक दिवस, अभिनन्दन कार्यक्रम तथा दीक्षान्त समारोहमा बोल्दै उहाँले भक्तपुर नपाले निजी र सामुदायिक विद्यालयबिचको शैक्षिक गुणस्तर विकासको लागि स्वस्थ प्रतिस्पर्धाको नीति अगाडि सारेको बताउनुभयो ।
अहिले विदेशकेन्द्रित शिक्षाका कारण नेपाली विद्यार्थीहरू विदेसिने क्रम जारी रहेको र त्यसलाई रोक्नु आवश्यक भएको बताउँदै उहाँले राम्रो र दक्ष जनशक्ति विदेसिँदा नेपाल विकास हुन अझ ढिला हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले महेन्द्र विद्याश्रमले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगसँगै व्यवहारिक ज्ञान प्रदान गर्नतर्फ जोड दिँदै विद्यालयले अभिभावकको रचनात्मक सल्लाहसुझाव अङ्गीकार गर्दै अगाडि बढ्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालयका कार्यकारी निर्देशक महेन्द्र मास्केले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्रअ अनिल श्रेष्ठले विद्यालयको वार्षिक प्रगति र विद्यालयको शैक्षिक अवस्थाबारे अवगत गराउनुभयो ।
कार्यक्रममा शिक्षक प्रतिनिधि पदमराज सुवेदीले पनि बोल्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूले विद्यालयका ज्येष्ठ अभिभावकहरूलाई अभिनन्दन तथा विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो ।
Leave a Reply