भर्खरै :

भारतीयले भारतीयलाई पीडा दिएर के फाइदा ?

भारतीयले भारतीयलाई पीडा दिएर के फाइदा ?

हिन्दुत्वको उद्देश्य राष्ट्र वा हिन्दूसँग जोडिँदैन, बरु अल्पसङ्ख्यकलाई कसरी तह लगाउने वा प्रताडित गर्ने भन्नेमा केन्द्रित हुन्छ ।
माक्र्सवादी विचारधाराले सामान्यतया राज्यको अन्त्यको कल्पना गर्छ वा एक इच्छित गन्तव्यको परिकल्पना गर्छ । माक्र्सवादीहरू राज्य समाप्त हुनेछ र यसलाई समुदायले प्रतिस्थापित गर्नेछ भन्नेमा विश्वास गर्छन् । दक्षिण एसियामा मानवतालाई राज्यका माध्यमबाट आध्यात्मिक ढङ्गले आधुनिकतासँग जोड्ने एक प्रयास गरिएको थियो । यसका सूत्रधार पाकिस्तानका प्रथम प्रधानमन्त्री लियाकत अलि खान थिए । उनको प्रयास संविधानमा धर्मको प्रवेश गराउनु थियो र संसद्को ठाउँमा ईश्वरलाई सार्वभौम बनाउनु थियो । यो प्रयोग सफल हुन सकेन, किनभने एकैपटक नागरिकलाई आध्यात्मिकरूपमा श्रेष्ठ र कानुनका माध्यमबाट वैज्ञानिकरूपमा आधुनिक बनाउने कुनै उपाय थिएन ।
युरोपेली मुलुकका सरकार कल्याणकारी राज्यमा केन्द्रित हुन्छन्, जहाँ सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र सामाजिक सुरक्षाका उपायमा पहुँच दिने कोसिस गरिन्छ । त्यसैगरी, विपन्न एवं बेरोजगारको ख्याल राखिन्छ । युरोपेली राष्ट्रको गन्तव्य यही हो । युरोपका कैयौँ राष्ट्रले सैन्य महानताको अवधारणालाई नै त्यागिसकेका छन् र यिनले कुनै एक धर्मको वर्चस्व लाद्ने उद्देश्य बोक्दैनन् । मतदाताको ठूलो हिस्सा विविधतातर्फ आकर्षित छ । यसलाई आजका दिनमा बेलायतका प्रधानमन्त्री एक भारतीय मूलका हिन्दू हुनु, स्कटल्यान्डका फस्ट मिनिस्टर पाकिस्तानी मूलका मुसलमान हुनु, आयरल्यान्डका राष्ट्रपति भारतीय मूलका इसाई हुनु र पोर्चुगलका प्रधानमन्त्री पनि भारतीय मूलका इसाई हुनुले प्रतिबिम्बित गर्छ ।
हामी यी व्यक्ति त्तत् राष्ट्रका नेता भएको भन्दै गर्व गर्छौँ । तर, आफूलाई युरोपेली मतदाताको ठाउँमा राख्दा भने हामी स्तब्ध हुन्थ्यौँ होला । सन् २०२३ मा पनि भारतमा भारतकै अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई कार्यकारी प्रमुखका रूपमा बहुमतले चुन्नेछ भनेर सोच्न पनि सकिँदैन । तर, विश्वका कैयौँ हिस्सा यस मामिलामा आधुनिक छन् । अर्थात्, यी मुलुकका मतदाता धार्मिक आस्था वा साम्प्रदायिक अपनत्व हेरेर मत दिँदैनन् । युरोपमा दक्षिण एसियाली मूलका नेताले उच्चस्तरको पद प्राप्त गर्नुमा यी नेताको लोकप्रियता पनि एक कारक हो । यसबाहेक पृथक समुदाय वा नश्लको हुनाले पनि यी दक्षिण एसियाली नेता नेतृत्वका लागि चुनिएका हुन् । वास्तवमा धार्मिक एवं साम्प्रदायिक विविधतालाई युरोपेली जनताले आवश्यकतामात्रै नभई आकर्षक आकाङ्क्षाका रूपमा लिन्छन् ।
अब लोकतन्त्रकी जननीतर्फ नियालौँ । बाहिरियाका लागि भारतको लोकतन्त्र जीवन्त तर ‘कविलाई प्रवृत्ति’ को छ । भारतमा शक्तिशाली समूहकेन्द्रित बफादारी र इतर समुदायविरुद्ध सन्देह वा घृणा देखिन्छ । यो आदिम र आन्तरिकीकृत प्रवृत्ति सबै संस्कृति एवं मुलुकमा हुने गथ्र्यो । तर, आधुनिक मुलुक यो प्रवृत्तिबाट बाहिर निस्किने गरी परिपक्व भइसकेका छन् । आदिम समाजमा यो प्रवृत्ति अझै देख्न सकिन्छ ।
भारतीय लोकतन्त्रलाई जात आधारित कबिलावादले परिभाषित गरेको छ । भारतमा अहिले पनि जातका आधारमा चुनावी टिकट दिइन्छ । भाषिक विविधताका सन्दर्भमा भारतमा भाषिक पहिचानका आधारमा राज्य निर्माण गर्नु एक विवेकपूर्ण कदम थियो । अर्थात्, भाषिक समुदायको सामूहिक बफादारीलाई राजनीतिक संयन्त्रका रूपमा प्रयोग गर्नबाट रोक्न सकिन्थ्यो । यद्यपि, भाषिक समुदायबिच जबरजस्ती भाषा लादिने प्रयासले अझै पनि द्वन्द्व सिर्जना गर्छ ।
हालको हिन्दुत्वको उदय एवं वर्चस्वले भारतीय लोकतन्त्रमा धार्मिक कविलावादलाई पुनस्र्थापित गरिदिएको छ । पुनस्र्थापित, किनभने धार्मिक कविलावाद भारत विभाजनअगाडि अस्तित्वमा थियो र यही कविलावादले भारतको विभाजन गराएको थियो । जिन्नाले गान्धीका मतको तुलनामा आफूसँग एकमत मात्रै रहेको गुनासो गर्थे । जिन्नाको गान्धीप्रतिको धारणालाई भारत विभाजनले पुष्टि गरिदियो । यति लेख्दै गर्दा विभाजनपछाडिको भारतमा साम्प्रदायिकता, अल्पसङ्ख्यकको सीमान्तीकरण र बहिष्करण नभएका होइनन् । तर, राज्यको भाषा अर्थात् काङ्ग्रेस नेतृत्वको सरकारको भाषा समावेशी हुने गथ्र्यो । यसकारण, अहिलेको जस्तो सामाजिक विभाजन अस्तित्वमा थिएन ।
हिन्दुत्वको उदयका कारण भारतीय राज्य र यसका नीतिले जनतालाई धार्मिकरूपमा विभाजित गरिदिएको छ । हाम्रो हिन्दुत्ववादी राज्यको अन्तिम गन्तव्य आधुनिक कालमा समेत हिन्दूराष्ट्र रहेको नेपालको जस्तो पनि होइन । नेपाल पहिले मनुस्मृतिबाट निर्देशित क्षेत्रीय राजाले शासन गरेको मुलुक थियो । तर, यसका बाबजुद नेपाल र विभाजनपश्चात्को भारतको चरित्र मिल्थ्यो । हालको नयाँ भारतले झैँ तत्कालीन हिन्दूराष्ट्र नेपालले धार्मिक अल्पसङ्ख्यकलाई तारो बनाएन वा अल्पसङ्ख्यकलाई प्रताडित गरेन ।
भारतीय हिन्दुत्व राज्यले नागरिकता, खाना, पारपाचुके, विवाह, पृथकीकरण, प्रार्थना र पहिरनलाई लिएर विभेदकारी र बहिष्करणकारी कानुन एवं नीति ल्याएको छ । अल्पसङ्ख्यकलाई तारो बनाउने विद्यमान कानुनलाई थप कडाइसाथ लागू गरिँदै छ । भारतीय मूलका नेतालाई चुन्ने युरोपेली मतदाताको व्यवहारको ठीकविपरीत व्यवहार भारतीयले प्रदर्शन गरिरहेका छन् । अर्थात्, एकथरी भारतीयलाई अन्य भारतीयले प्रताडित गरिरहेका छन् । यो प्रताडनाको उपयोगिता देखिन्छ । अर्थात्, प्रताडनामा अरूलाई पीडा दिएर सन्तुष्टि एवं आनन्द लिने प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिले मुलुकलाई कसरी फाइदा पु¥याउँछ वा कसरी मुलुकको भविष्य सुधार्छ भनेर बुझ्न बडो कठिन छ । हिन्दुत्वका समर्थकले यो चासो प्रधानमन्त्रीसामु व्यक्त गर्नुपर्ने हो ।
सम्भवतः अन्य भारतीयलाई पीडा दिएर मजा नै आउँछ होला, तर एकपटक मजा लिइसकेपछि के गर्ने ? यसको उत्तर भारतीयबाट अन्य भारतीयमाथि हुने उत्पीडनको विरोध गर्नेसँग छ । अर्थात्, विरोध गर्नेलाई यस्तो उत्पीडन चली नै रहनेछ भन्ने थाहा छ । तर, यसको उत्तर नयाँ भारतलाई अमृतकालतर्फ लैजान्छौँ भन्नेले दिन आवश्यक छ ।
(पटेल भारतीय पत्रकार, लेखक एवं मानव अधिकार अभियन्ता हुन्)
– द वायरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *