पुँजीवादी व्यवस्थामा आमूल परिवर्तन असम्भव
- असार ९, २०८३
कम्युनिस्टहरू आमूल परिवर्तनका पक्षपाती हुन्छन् । आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गर्नुपर्ने कम्युनिस्टहरू पुँजीवादी सत्तामुखी राजनीतिमा फसेपछि कम्युनिस्ट आन्दोलन र गतिविधि अघि बढ्दैन । कुनै दल ठूलो हुनु मुख्य कुरा होइन । ठूला दलले देश र जनताको पक्षमा के ठूलो काम गरे भन्ने प्रश्न महत्वपूर्ण हो । बहुमत नेपाली जनताले देशमा कुन सच्चा कम्युनिस्ट पार्टी हो र कुन होइन भन्नेमा अझै ठम्याउन सकेका छैनन् । राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपमा सचेत नहुँदा कति जनता लहैलहैमा लागे, कति प्रलोभनमा फसे त कति ठूलो र जित्ने दल भन्दे लागे । यसकारण, दलगत र व्यक्तिगत स्वार्थमा लाग्ने शासकहरू नेतृत्वमा पुगे या सत्तामा पुगे । ती शासकहरूले सिद्धान्त र विचार बन्धक राखेर सत्ता टिकाउने खेल खेलिरहे । तिनीहरू पुँजीवादी व्यवस्था बलियो बनाउन, पुँजीपतिहरूको पृष्ठपोषण गर्न लागिरहे र संसदीय व्यवस्थाबाटै देशमा समाजवाद स्थापना गर्न सकिने भन्दै क्रान्तिको बाटो छोडे ।
कम्युनिस्टहरू पद र पैसाको निम्ति सङ्घर्ष गर्दैनन् । तिनीहरू ठूलाबडा बन्न, दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न कम्युनिस्ट बनेका होइनन् । कम्युनिस्टहरू विस्तारवाद, साम्राज्यवाद, सामन्तवाद, पुँजीवाद, उपनिवेशवादको विरोध गर्छन् या विरोधमा सङ्घर्ष गर्छन् । अहिले देशमा सङ्घीय पुँजीवादी व्यवस्था छ । कम्युनिस्टहरू यो पुँजीवादी संरचना अन्त्य गरेर समाजवादी व्यवस्था स्थापना गर्न लाग्नुपर्छ । तर, देशका ठूला भनिने कम्युनिस्टहरू समाजवादी व्यवस्था स्थापना गर्नेतर्फ कुनै गतिविधिमा लागेका छैनन् । पुँजीवादी व्यवस्था च्यापेर समाजवादी व्यवस्था स्थापना गर्ने कम्युनिस्टको बाटोमा कम्युनिस्ट भनिने दलका नेताहरू नै बाधक बनिरहेका छन् । सरकारमा रहेका कम्युनिस्टहरूले क्रान्तिकारी बाटो छोडेका छन् । क्रान्तिकारी बाटो छोड्ने कम्युनिस्टहरूले देशमा कसरी परिवर्तन ल्याउँछन्, ल्याउने प्रयास गर्छन् ? सत्तामा बस्ने र टिकाउने नाउँमा सिद्धान्त र विचार छोडेपछि देश, दल र जनतालाई त्यो दलले कसरी दिशानिर्देश गर्छ ?
माक्र्सवाद संसारलाई आलोचनात्मक ढङ्गले हेर्ने एक दृष्टिकोण हो† यो अन्धविश्वास होइन । माक्र्सवादीहरू क्रान्तिको बाटो छोड्दैनन् । क्रान्ति कसैको आदेश र दबाबमा हुने होइन । लाखौँ करोडौँ जनता देशको पुरानो व्यवस्थामा बस्न नसक्ने स्थितिमा पुगेपछि, त्यो व्यवस्थाले जनतालाई राहत पु¥याउन नसकेपछि, जनता सचेत तथा सङ्गठित भएपछि र अन्तर्राष्ट्रिय परिस्थिति मिलेपछि देशमा क्रान्ति हुनेछ । हेला गरिएका, चुसिएका, शोषण र दमनमा परेका जनता एकगठ हुनुपर्छ । आम जनतामा पुँजीवादी व्यवस्थाले बहुमत जनताको सेवा गर्दैन भन्ने भावना जगाउनुपर्छ । जनता सिद्धान्तनिष्ठ हुनुपर्छ । थिचोमिचो, आक्रमण र प्रभुत्ववादको विरोधमा जनता एक हुनुपर्छ । पुँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्थाले बहुमत जनताको सेवा गर्छ भन्ने भावना जगाउनुपर्छ । यस्तो वातावरण आफूलाई कम्युनिस्ट भनिने शासकहरूले तयार गरेका छैनन् । तर पनि जनता कम्युनिस्ट भनी तिनै दलका प्रतिनिधिलाई जिताउँछन् । यो आम जनता राजनीतिकरूपले सचेत नहुँदाको परिणाम हो ।
Leave a Reply