भर्खरै :

भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने दीर्घकालीन लक्ष्य

भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने दीर्घकालीन लक्ष्य

भक्तपुर, २८ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू बन्द हडतालबाट मुक्त भएकै कारण भक्तपुरका विद्यालय तथा कलेजहरूको प्रभाव देशभरि फैलिँदो अवस्थामा रहेको बताउँदै सामुदायिक विद्यालयको स्तरोन्नति नभएसम्म निजी विद्यालयहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
साइनिङ स्टुडेन्ट्स एकेडेमीको प्रिस्कूलको दीक्षान्त समारोह, वार्षिक नतिजा वितरण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उहाँले शासक दलहरू देश र जनताप्रति जिम्मेवार नभएसम्म जनताले सुख नपाउने बताउँदै गरिब तथा कामदार वर्गका बालबालिकाहरूलाई सस्तोमा स्तरीय शिक्षा प्रदान गर्नेतर्फ सरकारको ध्यान जान आवश्यक छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने दीर्घकालीन लक्ष्य र उद्देश्यलाई टेवा दिन भक्तपुरमा सञ्चालित सामुदायिक तथा निजी शैक्षिक संस्थाहरूले शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको बताउँदै भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गरी समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले विद्यालयहरूले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने माध्यमको रूपमा रहँदै आएको बताउँदै विद्यालयले खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखी विद्यार्थीहरूलाई मानसिक र शारीरिकरूपमा तन्दुरुस्त रहने वातावरण सिर्जना गर्नुपर्दछ भन्नुभयो ।
विद्यालयका प्रअ रबिन छुस्याकीले विद्यालयको वार्षिक गतिविधिबारे अवगत गराउँदै विद्यालयको आगामी नीति र कार्यक्रमबारे जानकार गराउनुभयो ।
कार्यक्रममा गःपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले विद्यालयले सामाजिक उत्तरदायित्व बहन गरी समाजप्रति उत्तरदायी नयाँ पुस्ता निर्माणतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका अतिथिहरूले प्रिस्कूलका विद्यार्थीहरूलाई दीक्षित, वार्षिक परीक्षाका उत्कृष्ट विद्यार्थी र सांस्कृतिक कार्यक्रमका विजेताहरूलाई पुरस्कार वितरण तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *