भर्खरै :

राजनीति देश र जनताको उत्कृष्ट सेवा कर्म हो

राजनीति देश र जनताको उत्कृष्ट सेवा कर्म हो

प्रभात स्कूलको ४१ औैँ वार्षिकोत्सवको अवसरमा राखिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अत्यन्त समय सान्दर्भिक छ । नयाँ पुस्ता र पुरानो पुस्ताबिच बढ्दै गइरहेको दूरीप्रति सर्वत्र चिन्ता व्यक्त भइरहँदा यस खालका कार्यक्रमले बेग्लै महत्व राख्दछ । समाजका निम्ति आत्मघाती दूरी घटाउने या मेटाउने अनेक उपायहरू आवश्यक भएको अनुभव भइरहँदा आज प्रभात स्कूलले जुन प्रयास ग¥यो त्यो सराहनीय छ । यसले नयाँ पुस्तामा सामाजिक भाव अङ्कुराउन आवश्यक वातावरण तयार गर्ने विश्वास छ । यस्ता कार्यक्रमको निरन्तरताको कामना पनि गर्दछु ।
अग्रज पुस्ताले आफ्नो जीवनकालमा समाजका निम्ति जुन योगदान पु¥यायो त्यसको कदर गर्नु र नयाँ पुस्तालाई त्यसको महत्व बोध गराउनु अर्को आवश्यकता हो । त्यसो गर्दा समाजको नयाँ पुस्ताले विगत देख्न पाउनेछन्, चिन्न पाउनेछन् र वर्तमान तथा भविष्यको आफ्नो बाटोबारे निर्णय लिन सहज अनुभव गर्नेछन् । पुरानो पुस्तामा आत्मसन्तुष्टि र नयाँ पुस्तामा अग्रजप्रति आत्मगौरवको भावना विकास हुनेछ । त्यस अर्थमा आजको यो ज्येष्ठ नागरिकहरूप्रतिको अभिनन्दन समीचीन छ ।
आज अभिनन्दित सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य तथा दीर्घजीवनको कामना गर्दछु र सक्रिय जीवनको निम्ति शुभकामना व्यक्त गर्दछु ।
हाम्रो समाजमा पनि विस्तारै पश्चिमा पुँजीवादी प्रभाव बढ्दो छ । तसर्थ, समाजमा व्यक्तिवादी चिन्तन व्याप्त हुँदै छ । सरकार गैरजिम्मेवार बन्दै छ । जनताका समस्याप्रति सरकार उदासीन बन्दै छ । उमेर छँदासम्म देश र समाजका निम्ति रगतपसिना दिने ज्येष्ठ नागरिकहरूप्रति सरकार दायित्व बहन गर्न तयार छैन । ज्येष्ठ नागरिकहरूका निम्ति उचित बन्दोबस्त, सम्मानजनक जीवन, आदर निकेतन तथा विशिष्ट अस्पतालहरूको स्थापना आदि अनिवार्य आवश्यकता हुन् । समाजवादी व्यवस्थाले यी सबैको बन्दोबस्त गरेको हुन्छ । यसले पनि समाजवादको अपरिहार्यता पुष्टि गर्दछ । त्यसकारण, समाजवाद उन्नत तथा सुसंस्कृत मानवीय समाज हो भनिएको हो ।
यस विद्यालयमा अध्ययन गरेर उच्च शिक्षामा सफलता हासिल गर्ने विद्यार्थीहरूलाई आमन्त्रण गरी सम्मान गर्ने आज जुन कार्यक्रम राखियो, त्यो पनि प्रशंसनीय छ । यस विद्यालयले समाज र देशका निम्ति आवश्यक जनशक्ति निर्माण गरेर समाज र देशको विकासमा पनि योगदान पु¥याइरहेको हामी अनुभव गर्दै छौँ ।
हामीलाई विश्वास छ, प्रभातले तयार गरेको जनशक्ति देश र समाजको सेवामा सक्रिय छ र रहनेछ ।
प्रभातलाई यहाँसम्म ल्याइपु¥याउने अर्को महत्वपूर्ण खम्बा भनेको शिक्षक–शिक्षिका नै हुन् । शिक्षकहरूको मेहनतकै फलस्वरूप यस विद्यालयले शैक्षिक–सामाजिक क्षेत्रमा बैग्लै परिचय स्थापित गर्न सफल भएको हो । शिक्षकहरूको योगदानको कदर गर्नु भनेको विद्यालयको ऊर्जा सञ्चय गरिराख्नु हो । ऊर्जाको स्रोत सुक्न नदिनुु हो । शिक्षकहरू उत्साहित भए, शिक्षकहरू सक्रिय भए, शिक्षकहरू समर्पित भए विद्यार्थी र विद्यालयले द्रुतगतिमा प्रगति गर्न सक्ने व्यवहारसिद्ध यथार्थ हो । त्यसकारण भनिएको हुनुपर्छ, “तिमी मलाई असल शिक्षक देऊ म एउटा असल देश दिनेछु ।” असल शिक्षकले बालबालिकालाई उज्ज्वल भविष्य र असल विद्यालय मात्र दिने होइन असल समाज र असल देश पनि निर्माण गर्दछ । यतिखेर हाम्रो समाज मन, वचन र कर्मले असल शिक्षकको खोजीमा छ ।
आज सम्मानित हुने सम्पूर्ण शिक्षक, पूर्वविद्यार्थीहरूमा मेरो तर्फबाट पनि बधाई तथा शुभकामना छ । तपाईँहरूप्रति प्रभात र यो समाजले जसरी गर्व गर्दै छ त्यसरी नै यो विद्यालय र समाजप्रति तपाईँहरूले पनि गर्व गर्ने ठाउँ पाइरहनुहुने विश्वास छ ।
शैक्षिक तथा सामाजिक क्षेत्रमा प्रभात स्कूलको योगदान कम मान्न सकिन्न । शैक्षिक क्षेत्रमा समाजको बुद्धिजीवीकरण भक्तपुरको सपना हो । यो सपना साकार पार्ने सङ्कल्पसहित अभियान चालू छ । नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले यो अभियानको अगुवाइ गर्नुभयो र आज भक्तपुर शैक्षिक क्षेत्रमा अग्रपङ्क्तिमा छ । आज सिङ्गो देशले अनुभव गर्ने गरी शिक्षा क्षेत्रमा उपलब्धि तथा सफलता हासिल हुँदै छ । त्यसमा अन्य शैक्षिक संस्थाहरू जस्तै प्रभातको योगदानलाई स्मरण गर्नु उचित हुनेछ ।
हाम्रो समाज र देशका निम्ति आवश्यक जनशक्ति तयार गर्ने सन्दर्भमा प्रभातले खेलेको भूमिका उल्लेखनीय छ । शिक्षा क्षेत्रमा प्रभातले जुन अभ्यास गर्दै छ त्यो देशकै निम्ति अनुकरणीय एवम् उदाहरणीय छ । यो विद्यालय जनतासँग जोडिएको विद्यालय हो । यो विद्यालय गैरनाफामूलक विद्यालय हो । यो सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालय हो । सर्वसाधारणका छोराछोरीलाई शिक्षित दीक्षित बनाउँदै सुयोग्य, सक्षम तथा प्रतिस्पर्धी बनाउँदै आइरहेको विद्यालय हो यो । सरकार या विदेशी दानदातव्यको आशासमेत नगरी यस विद्यालयले जेजस्तो सफलता हासिल ग¥यो त्यसको यथोचित मूल्याङ्कन समयले गर्ने नै छ । यस प्रकृतिका विद्यालयहरू देशमा अत्यन्त न्यून छन् । शिक्षाको यो ढाँचा या मोडेल देशकै निम्ति अनुशरण गर्नलायक छ । यस विषयमा शिक्षा क्षेत्रका जिम्मेवारहरूले गम्भीर ढङ्गमा सोच्न आवश्यक छ ।
शिक्षा राज्यको दायित्व हो । तर, त्यो दायित्व राज्यले पूर्णरूपमा बहन नगर्दासम्म एउटा वैकल्पिक उपायको रूपमा प्रभात जसरी सुरु गरियो र अगाडि बढ्यो त्यो गौरव गर्न लायक छ ।
अङ्गे्रजीमा एउटा सरल तर सुन्दर शब्द छ — Pioneer अर्थात् अग्रदूत । प्रभातको अर्को नाम Pioneer हो भन्नु अतियुक्ति नहोला ! बालबालिकाको शिक्षामा नयाँनयाँ प्रयास एवम् अभ्यास प्रभातले थालेको भक्तपुरवासीहरू आज पनि सहर्ष चर्चा गर्छन् । शिक्षणका गतिविधिमा प्रभातले बेग्लै गति तथा उचाइ प्राप्त गरेको सगर्व स्मरण गरिन्छ । आशा छ, प्रभातले अझै पनि नयाँनयाँ शैली तथा उपाय एवम् प्रयासहरू जारी राख्नेछ ।
देशमा भइरहेका सामाजिक, आर्थिक, राजनीतिक घटनाहरूबारे जानकारी राख्ने विद्यार्थीहरू तयार गर्नु शिक्षाको एउटा महत्वपूर्ण आयाम हो । त्यसरी नै संसारमा भइरहेका विभिन्न घटनाहरू, ज्ञान, खोज तथा अनुसन्धानहरूलाई नजिकबाट नियालेर अगाडि बढ्ने युवापुस्ता आजको आवश्यकता हो । यी सवालमा प्रभात परिवार सुझबुझका साथ अगाडि बढ्ने विश्वास छ ।
देशका समस्याहरू, शासकहरूको कार्यशैलीप्रति असन्तुष्टि तथा आक्रोश भए तापनि देशको माटो र जनताप्रति आकर्षण र माया भएका नयाँ पुस्ता तयार गर्नु वर्तमान परिस्थितिमा शिक्षाको एउटा उद्देश्य हुनुपर्ने देखिन्छ । देश र समाजका समस्याहरूप्रति उदासीन भएर होइन समाधानका उपायहरू बनेर या लिएर अगाडि बढ्न सक्ने पुस्ताको जरुरत छ । प्रभातजस्ता शैक्षिक संस्थाले मात्र यो आवश्यकता पूर्ति गर्नेमा दुविधा नहोला !
विद्यार्थी जीवनमा अनुशासन, आचरण, विचार, सिद्धान्त, नैतिकता र देशप्रेमभन्दा पनि अराजक गतिविधि तथा सिद्धान्तहीन गतिविधिमा लागेकाहरूले आज देशको बागडोर सम्हाल्न पुग्दा हाम्रो समाजको अवस्था दिनप्रतिदिन कमजोर बन्दै छ र देशकै अस्तित्व खतरामा पर्दै छ । तसर्थ, आजको हाम्रो शिक्षाले, हाम्रा विद्यालयले विद्यार्थीहरूलाई अनुशासित, चरित्रवान तथा देशभक्त बनाउनुपर्ने आवश्यकता छ । विद्यार्थीहरूलाई स्पष्ट विचार तथा दृष्टिकोण निर्माणमा सहयोग गर्न आवश्यक छ । यस विषयमा हामी फेरि पनि चुक्यौँ भने थप बर्बादीबाहेक केही हात लाग्नेछैन । प्रभातजस्ता हाम्रा शैक्षिक संस्थाहरूले यो राजनीतिक तथा सामाजिक उत्तरदायित्व बहन गर्न आवश्यक छ । प्रभातले विद्यार्थीहरूलाई राजनीतिक ज्ञान तथा जानकारीबाट सुसज्जित बनाउँदै विद्यार्थीहरूलाई हुर्काउनेछ भन्ने जनताको विश्वास छ ।
राजनीति भनेको पद तथा पैसाको अवैध कारोबार, पक्षपात, हुलदङ्गा, भ्रष्टाचार, भागबन्डा नभई एउटा बौद्धिक कर्म हो, परिवर्तनको निम्ति योगदान पु¥याउने एउटा स्वच्छ उपाय हो र देश–जनताको सेवा गर्ने कर्म हो भन्ने चेतना दिएर यस विद्यालयले एउटा फरक संस्कृतिको निर्माण गर्ने अपेक्षा छ । राजनीतिप्रति अभिभावकहरू र केही बुद्धिजीवीहरूको भ्रम या गलत बुझाइ मेट्न प्रभातको प्रयास अपेक्षित छ । आजै एक दैनिकले लेख्यो — ‘सतहत्तरै जिल्लामा सय भ्रष्टाचार काण्ड’ देश भ्रष्टाचारले थिलथिलो छ । भ्रष्टाचारका कति घटना गुपचुप राखिन्छन् । कतिको अनुसन्धान शक्तिकेन्द्रबाटै रोकिन्छ । यो विकृतिले सङ्घ प्रदेश स्थानीय तह सारालाई गाँजेको छ ।
यसरी असल राजनीतिक कार्यकर्ता तथा देशभक्त इमानदार राजनीतिक नेतृत्वको अभावमा अन्य आर्थिक, सामाजिक तथा प्राविधिक उपलब्धि या परिवर्तनको आशा गर्नु व्यर्थ हुने अनुभव हासिल गरिसकेका छौँ । तसर्थ, हामीले हाम्रा छोराछोरीलाई राम्रो शिक्षादीक्षाबाहेक सही राजनीति, सही विचार तथा सही संस्कारसहित हुर्काउने वातावरण निर्माणमा आनाकानी नगर्नु नै श्रेयष्कर हुनेछ । यस संवेदनशील सवालमा प्रभातले अगुवाइ गर्ने विश्वास छ ।
असल तथा योग्य मानिस राजनीतिमा नआए खराब र नालायक मानिसबाट समाज शासित हुनुपर्नेछ । बहुसङ्ख्यक कामगरी खाने जनता राजनीतिबाट टाढा बसे मुट्ठिभरका सम्भ्रान्त वर्गबाट जनता शासित हुनुपर्नेछ । स्वदेशीले राजनीति नगरे विदेशी आएर राजनीति गर्नेछन् । यो तीतो यथार्थ आज हामी भोग्दै छौँ । विदेशी स्वार्थका निम्ति काम गर्ने मानिसहरू आज शासनसत्ताको माथिसम्म पुग्दै छन् । सिंहदरबार तिनीहरूकै हातमा पुग्दैछ । हामी स्वतन्त्रता गुमाउँदै छौँ । स्वतन्त्रता गुम्दा हाम्रो जीवन, धनसम्पत्ति, ज्ञान, परिवार सबै खतरामा पर्छन् । त्यही स्थिति हिजोको सुन्दर देश युक्रेनमा आज हामी देख्दै छौँ । एकजना हास्य कलाकारलाई अनेक उपाय गरेर संरा अमेरिकाले युक्रेनको राष्ट्रपतिसम्म बनायो । जेलेन्स्किी अमेरिकी बुँख्याचा बन्यो । आज युक्रेनको काँधमा बन्दुक राखेर रुसविरुद्ध हमला गर्दै छ । प्राकृतिक सम्पदामा समृद्ध, शिक्षा, विज्ञान, प्रविधि आदिमा अत्यन्त विकसित देश युक्रेनका बासिन्दा आज रक्तसागरमा डुब्दै छन् । रक्त आँसु बगाउन विवश छन् ।
तसर्थ, सही राजनीति दिनु भनेको युद्धको विरोध गर्नु हो । सही विचार दिनु भनेको शान्तिको पक्ष लिनु हो । मानव सभ्यता जोगाउन र मानव कल्याण गर्न सही सिद्धान्त नै आवश्यक छ । सही राजनीतिक दृष्टिकोणले मानिसलाई मानिस बनाउँछ । अन्यथा, वैज्ञानिक बनेर आएका हाम्रा छोराछोरीले बनाएका बम हाम्रै गाउँबस्तीमा खसालिनेछन् । इन्जिनियर बनेर आएका हाम्रा छोराछोरीले बनाएका नक्कली पुल भत्केर हामी आपैंm किचिने छौँ । हाकिम बनेर आएका हाम्रा छोराछोरी भ्रष्टाचारका काण्डमा मुछिनेछन् । दुर्भाग्य, बर्बादी बेहोर्न हामी अभिषप्त हुनेछौँ ।
विश्व फेरि एकचोटि युद्धको सङ्घारमा पुगेको तीतो यथार्थ कसैले अस्वीकार गर्न सक्दैन । आजभन्दा ३३ वर्ष अगाडि अन्त्य भएको घोषणा गरिएको ‘कोल्ड वार’ अर्थात् शीतयुद्ध संरा अमेरिकाले फेरि सुरु गरिसकेको छ । ३३ वर्ष अगाडिसम्म तत्कालीन सोभियत सङ्घविरुद्ध छेडिएको शीतयुद्ध अहिले आएर जनवादी गणतन्त्र चीनविरुद्ध केन्द्रित छ । चीनलाई घेर्ने नीतिअन्तर्गत नै संरा अमेरिकाले नेपालमा एमसीसी र एसपीपी थोपरेको यथार्थ अब कसैबाट लुकेको छैन । एसियालाई नयाँ युद्धको आगोमा झोस्ने षड्यन्त्र भइरहेको जगजाहेर भइसकेको छ । व्यापार युद्धमा नराम्ररी पराजित भएको अमेरिकी प्रशासन फेरि चीनविरुद्ध ‘टेक वार’ अर्थात् प्राविधिक युद्ध सुरु गर्दै छ । त्यो युद्ध पनि संरा अमेरिकाका निम्ति मात्र प्रत्युत्पादक हुने होइन अन्य धेरैका निम्ति अहितकारी हुने निश्चित छ । अमेरिकी प्रशासनको यस्ता युद्ध भड्काउने नीतिको सर्वत्र विरोध हुँदै छ ।
तसर्थ, हाम्रा नयाँ पुस्तालाई साम्राज्यवादी युद्धको विरोध गर्ने शान्तिका पक्षधरका रूपमा तयार गर्नु आजको आवश्यकता हो । ठूला शक्तिसामु आत्मसमर्पण नगर्ने, विदेशीको कठपुतली बन्न अस्वीकार गर्ने र आफ्नो मातृभूमिलाई माया गर्ने युवा पुस्ता हुर्काउने अभिभारा प्रभात स्कूलले पनि बहन गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्दै बिदा हुन्छु ।
(प्रभात स्कूलको ४१ औैँ वार्षिकोत्सवको उपलक्ष्यमा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले दिनुभएको मन्तव्यको सम्पादित अंश – सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *