जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन जुलुसपश्चात् हामी यो सभास्थलमा उपस्थित छौँ । सर्वप्रथम नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु । जिल्ला–जिल्लाबाट जोशजाँगरका साथ उपस्थित हुनुभएका प्रतिनिधि तथा पर्यवेक्षक, सम्पूर्ण दिदीबहिनी, महिला साथीहरू र नेपाल क्रान्तिकारी महिला सङ्घ आबद्ध सम्पूर्ण कामरेडहरूमा शुभकामना व्यक्त गर्दछु । यहाँहरूले बन्दसत्रमा नेपाली महिलाहरूको समस्या, नेपाली महिलाहरूको सङ्घर्षको इतिहास, नेपाली महिलाहरूको आगामी दिनको मार्ग र अन्तर्राष्ट्रिय महिला आन्दोलनको विषयमा गहन छलफल अवश्य गर्नुहुनेछ । साथै जुझारू नेतृत्व निर्वाचित गर्नुहुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु । त्यसका निम्ति अग्रीम शुभकामना व्यक्त गर्दछु ।
चितवनको यो भूमिमा उभिरहँदा नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएको स्मरण हुन्छ – ‘चितवन नै त्यो ठाउँ हो जुन ठाउँबाट नेपाली कामदार महिलाहरूले आफ्ना दुःख, पीडा, मर्म तथा मनका भावनालाई गीतमार्फत समाजमा प्रस्तुत गरे । तीजका गीतहरूलाई समेत क्रान्तिकारी गीतमा रूपान्तरण गरी आफ्ना दुःख, पीडा, आक्रोश र विरोधका स्वरहरू राखेर परिवर्तनको उत्कट अभिलाषा व्यक्त गरे । आजभन्दा ४०–५० वर्षअघिका महिलाहरूले फरक भूमिका निर्वाह गरे ।’
आज पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दिदीबहिनीहरू, महिला साथीहरू, दाजुभाइहरू यहाँ भेटघाट गरिरहँदा हामीले हाम्रो समाज र समुदायका आर्थिक, सामाजिक तथा राजनीतिक समस्याहरूको विषयमा हामी छलफल चलाउँदै छौँ ।
हामीलाई थाहा छ, यतिखेर पनि देशले एकखालको स्थिर नेतृत्व र सरकार पाइरहेको छैन, केन्द्रमा र प्रदेशमा । यो दुर्दशाबिच हामी यहाँ उपस्थित छौँ । त्यसकारण, हामीले शासक दलहरूको विरोध ग¥यौँ । ती शासक दलहरूलाई विदेशी दलाल नबन्नको निम्ति हामीले आह्वान ग¥यौँ, दबाब दियौँ, आवाज बुलन्द ग¥यौँ ।
यो तराईको मैदानमा उभिरहँदा केही दिन अगाडिको एउटा खबर याद आयो । त्यो खबरले भन्छ– संसारको धनीहरूमध्ये १६४ औँ स्थानमा पुगेको चौधरी भन्ने एक धनी मानिस यो देशका सांसद छन् । यही ठाउँका चौधरीहरू, थारूहरूलाई दिनको एक सय पनि कमाउन मुश्किल छ । यही देश र यही ठाउँमा छन् दिनको १०० करोड कमाउनेहरू ! यो असमानता र भेदभाव कसरी न्यायोचित हुनसक्छ ? यो असमानताको विरोध आजको हाम्रो सम्मेलनको मर्म हो । यो तेस्रो राष्ट्रिय सम्मेलनको आवाज यही नै हो । ‘असमानताको अन्त्य गर ! शोषणको अन्त्य गर !’ न्यायोचित समाज, आर्थिक समानतासहितको समाज हाम्रो माग हो । नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको आवाज पनि त्यही हो । हामी शोषणको विरुद्धमा छौँ । जबसम्म आर्थिक समानतासहितको न्यायमा आधारित समाजको स्थापना हुँदैन तबसम्म हाम्रो आन्दोलन, हाम्रो सङ्घर्ष रोकिने छैन ।
यहाँ कुरा उठिसकेको छ, नेपाल क्रान्तिकारी महिला सङ्घले सङ्घर्षलाई अझ कसरी अगाडि बढाउने त ! अब हामी सबैले कसरी काम गरी खाने नेपाली दिदीबहिनीहरूलाई शिक्षित बनाउने, शिक्षा र योग्यतालगायत हरेक क्षेत्रमा प्रतिस्पर्धामा उतार्ने ? यो पनि एक खालको वर्गसङ्घर्ष हो । यो नयाँ खालको वर्गसङ्घर्ष हो । शिक्षा, प्रविधि र जानकारीमा अगाडि; राजनीतिक सङ्घर्ष र राजनीतिक नेतृत्वमा पनि अगाडि । जबसम्म हरेक क्षेत्रमा काम गरी खाने थारूहरू, यादवहरू, चौधरीहरू, चेपाङ र सम्पूर्ण तहका समुदाय अगाडि बढ्न सक्दैनन्, तबसम्म साँचो प्रजातन्त्र आएको मान्न सकिन्न । त्यसकारण, नेपाल मजदुर किसान पार्टी र नेपाल क्रान्तिकारी महिला सङ्घ साँचो प्रजातन्त्रको पक्षमा सङ्घर्षरत छ । अहिलेसम्म देशमा साँचो प्रजातन्त्र आइसकेको छैन । ३३ वर्ष भयो । २०४६ सालको ऐतिहासिक जनआन्दोलन २४ चैतमा उत्कर्षमा पुग्यो । २६ चैतमा यो आन्दोलनले बहुदलीय प्रजातन्त्रको स्थापना ग¥यो । २०४६ सालको फागुन ७ गते त्यो आन्दोलन अगाडि बढेको थियो । पञ्चायती व्यवस्था त ढल्यो तर अहिले फेरि पनि नयाँ पञ्चेहरूले टाउको उठाइरहेको हामीले देखेका छौँ ।
केही दिनअगाडि यही चितवनबाट एकजना भ्रष्टाचारी देशको मन्त्री बनेको हामीले देख्यौँ । फेरि मन्त्री पदबाट राजीनामा दिएको पनि सुन्यौँ । तर, भ्रष्टाचारको अन्त्य भएको छैन । नेपाली काम गरी खाने जनताको हक र अधिकार अहिले पनि सुनिश्चित भइसकेको छैन । शान्ति, स्थिरता यी सम्पूर्ण कुराहरू शासक दलहरूको गफमा सीमित भइरहेको कुरा व्यवहारमा हामीले देखिरहेका छौँ । तसर्थ, आजको यो सम्मेलन ती शासक पुँजीवादी दलहरू, कम्युनिस्टको भेषमा आएर कम्युनिस्टलाई ठगिरहेका, कामदार जनतालाई लुटिरहेका ती शासक वा पुँजीवादी दलहरूको विरुद्धमा हाम्रो सङघर्ष केन्द्रित छ । त्यो आवाजलाई अझ बलियो बनाउनुपर्ने, त्यो सङ्घर्षलाई अझ बलियो बनाउनुपर्ने आजको आवश्यकता हो । नेपाली जनताको माग हो । त्यही नै हाम्रो निम्ति एउटा बाटो हो । त्यसकारण, नेपाल क्रान्तिकारी महिला सङ्घले अब महिला दिदीबहिनीहरूलाई शिक्षित बनाउँदै सङ्गठनमा आबद्ध गर्ने, रातो झन्डामा गोलबद्ध गर्नेबाहेक अर्को हाम्रो विकल्प छैन ।
रातो झन्डा यो देशमा कुनै एउटा बाँकी छ भने त्यो नेपाल मजदुर किसान पार्टीको रातो झन्डा हो । अन्य सम्पूर्ण झन्डाहरू अब प्रजातन्त्रको विरुद्धमा, जनताको विरुद्धमा, क्रान्तिको विरुद्धमा र समाजवादलाई बदनाम गराउनका निम्ति सक्रिय छन् भने हामी काम गरी खाने नेपाली जनताको वास्तविक प्रजातन्त्र ‘स्वर्ग’ समाजवाद स्थापनाको निम्ति सङ्घर्षरत छौँ । त्यसकारण, नेपाल क्रान्तिकारी महिला सङ्घले अब हाम्रा छात्रा, बहिनी, बुहारी र छोरीहरूलाई सँगसँगै लगेर अभिभावकको भूमिका निर्वाह गर्दै अगाडि बढ्नेछ भन्ने आशा र विश्वास छ । त्यसका निम्ति पनि म शुभकामना व्यक्त गर्दछु ।
अघि हामीले जुलुसमा देख्यौँ, २५/३० वर्ष अगाडि नेपाल क्रान्तिकारी महिला सङ्घको झन्डालाई उँचो पार्नका निम्ति सक्रियता देखाउने र अगुवाइ गर्ने हाम्रा दिदीहरू, महिलाहरू । साथै २५ वर्षमुनिका हाम्रा छात्राहरू, बहिनीहरू पनि उल्लेख्य सङ्ख्यामा देख्यौँ । त्यो एउटा शुभसङ्केत हो । अझै हामीले व्यवस्थितरूपमा हाम्रा छोरी, बहिनी, बुहारी, छात्राहरूलाई पनि सक्रिय बनाउँदै यही क्रान्तिको र सङ्घर्षको बाटोमा, वास्तविक प्रजातन्त्र स्थापनाको बाटोमा अगाडि बढाउनुपर्ने आजको हाम्रो दायित्व हो । त्यो भूमिका नेपाल क्रान्तिकारी महिला सङ्घले सक्रियतापूर्वक निर्वाह गर्ने पनि हाम्रो विश्वास छ ।
यो सम्मेलन स्थल चितवनमा हाम्रा बुबा पुस्ताले सक्रियता देखायो । हाम्रा आमा पुस्ताले सङ्घर्षलाई, क्रान्तिको रातो झन्डा, समाजवादको झन्डा नेपाल मजदुर किसान पार्टीको झन्डालाई फहरायो । आजभन्दा ५० वर्ष अगाडि यो चितवनका गाउँ–गाउँमा यहाँका शोषितपीडित सारालाई पुँजीपति, सामन्त र जमिनदारहरू विरुद्धमा सङ्गठित बनाउँदै आन्दोलन तथा सङ्घर्षको बीउ त्यतिखेर रोपिएको थियो । आज फेरि पनि त्यो बीउलाई बालीमा परिणत गर्नका निम्ति नयाँ पुस्ता सक्रियता देखाउँदै छ ।
चितवनबाट वर्गसङ्घर्षको एउटा नमुना हामीले देखाएका थियौँ । नेपाल मजदुर किसान पार्टीका अग्रज पुस्ताले देखाएको थियो । आज त्यो वर्गसङ्घर्षलाई हामी व्यवस्थितरूपमा हिमाल, पहाड र तराईमा फैलाउँदै छौँ, फुलाउँदै छौँ । हिजो ती शासक, सामन्त र पुँजीपतिहरूले त्यो बीउलाई हामीले पुरिसक्यौँ, हामीले दबाइसक्यौँ भन्ठानेका थिए । तिनीहरूलाई झूट साबित गर्नेछौँ । त्यो बीउ अझै पनि बोटको रूपमा, एउटा रूखको रूपमा झाङ्गिनेछ । त्यसमा अवश्य फल लाग्नेछ । हाम्रो आन्दोलन र सङ्घर्षले नयाँ उचाइ प्राप्त गर्नेछ वा उपलब्धि हासिल गर्नेछ । त्यसका निम्ति पनि अझ हामी गाउँ–ठाउँ, सहर–बजार, जिल्ला–जिल्लाका, हिमाल–पहाड–तराईका सम्पूर्ण महिलाहरू, सम्पूर्ण कामदार दाजुभाइ–दिदीबहिनीहरू एकजुट भएर सङ्घर्षमा अगाडि बढाउनुपर्ने आजको आवश्यकता हो ।
हामीलाई थाहा छ, यो पुँजीवादी व्यवस्थाले सहजै उठ्न दिने छैन । हामीलाई सहजै एकजुट पनि हुन दिने छैन । यो पुँजीवादी व्यवस्थाले लोभलालच देखाएर, बन्दुक, जेल, नेल र अनेक खालका दमन तेर्साएर सङ्घर्ष निस्तेज पार्न खोज्नेछ । तर, अब ती सम्पूर्ण कुराहरूलाई हिजो हाम्रा अग्रजहरूले, हाम्रा आमाबुबा पुस्ताले जसरी सामना गरे त्यसरी नयाँ पुस्ता जागी उठ्न आवश्यक छ । यो पुँजीवादी व्यवस्थाको पनि अन्त्य निश्चित छ । हामी आन्दोलन, नयाँ सङ्घर्षका साथ अगाडि बढ्न सक्नेछौँ ।
हामी सबैलाई थाहा छ, जबसम्म निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, रोजगारको अवसर, मातृशिशु स्वास्थ्यमा विशेष बन्दोबस्त, समाजमा आदर निकेतनको व्यवस्था नभएसम्म महिलाहरूको स्वतन्त्रता, महिलाहरूको हक–अधिकार नारामा सीमित हुनेछ । त्यसकारण, हामी सबैले फेरि पनि माग गर्नुपर्छ† फेरि पनि त्यसका निम्ति दबाब दिन आवश्यक छ; आवाज दिन आवश्यक छ । अहिले तत्कालका निम्ति निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्यको बन्दोबस्त, हरेक गाउँ–ठाउँमा एक किन्डरगार्टन अर्थात् शिशुशाला तथा बालोद्यानहरूको बन्दोबस्त नभएसम्म, काम गरी खाने महिलाहरूको लागि अवसर सृजना नभएसम्म हामीले स्वतन्त्रताको अनुभव व्यवहारमा गर्न पाउने छैनौँ । त्यसकारण, यी बन्दोबस्तहरू गर्न हाम्रो आन्दोलन र सङ्घर्ष जारी राख्न आवश्यक छ ।
यतिखेर देशमा अशान्ति, अस्थिरता, अव्यवस्था हामीले भोगिरहेका छौँ भने संसारमा पनि हामीले अहिले त्यही चित्र देखिरहेका छौँ । त्यसको प्रतिछायामा मात्र हामी परिरहेका छौँ । केही दिन अगाडि संयुक्त राष्ट्रसङ्घका राष्ट्रपति जो बाइडेनको नेतृत्वमा विश्व प्रजातन्त्र सम्मेलन भनेर एउटा नाटक मञ्चन गरियो । त्यो दोस्रो सम्मेलन भनिएको छ । हेर्नुस्, जसले सारा जनताको आन्दोलन दबाउँदै छ; प्रजातन्त्रको हत्या गर्दै छ; जननिर्वाचित संस्थाहरू भत्काउँदै छ; कामदार जनतामाथि बम–बारूद बर्साएर नृसंश हत्या गर्दै छ, उही आज प्रजातन्त्रको ठेकेदार बन्न खोज्दै छ । प्रजातन्त्रको सम्मेलनको नाटक देखाएर वास्तविक प्रजातन्त्र दबाउने कुचेष्टा गरेको हामीले देखिरहेका छौँ । अहिले नेपाली शासकहरू त्यसैको लहलहैमा छायासरि लागिरहेको हामीले देखेका छौँ ।
अहिले अमेरिकाले प्रजातन्त्र र विकासको बखान गर्दै नेपालमा एमसीसी पारित गराएको हामीलाई थाहा छ । सबै देशभक्त मिलेर एमसीसीको विरोध ग¥यौँ । आजको ¥यालीमा हामीले फेरि पनि नारा लगायौँ– ‘एमसीसी मुर्दावाद ! एमसीसीका मतियारहरू मुर्दावाद !’ यो देशमा नेपाली काङ्ग्रेस, एमाले, माओवादीहरूले एमसीसीको डलर खाएर, अमेरिकी डलर खाएर नेपाली जनतालाई धोका दिँदै छन् । त्यसको विरुद्धमा कोही चु बोल्दैनन् । नेपाल मजदुर किसान पार्टी एक्लैले संसद् र सडकमा एमसीसी र एसपीपीको विरुद्धमा आवाज दिँदै छ । नेपाल क्रान्तिकारी महिला सङ्घले त्यो आन्दोलनलाई अझ फिजाउनका निम्ति प्रयास गर्नेछ, सङ्घर्षलाई अगाडि बढाउनेछ भन्ने हाम्रो विश्वास छ ।
केही दिन अगाडि अर्थात् गत मङ्गलबारको खबरले भन्छ– नाटो भन्ने अमेरिकाको एउटा सैन्य सङ्गठन छ । त्यसलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन भनिन्छ । त्यो नाटो भन्ने संस्था त्यतिखेरको सोभियत समाजवादलाई ढाल्नका लागि अमेरिकाले बनाएको थियो । त्यही सैन्य सङ्गठनमा लानका निम्ति उता युक्रेन भन्ने देशलाई दबाब दियो अमेरिकाले । आज युक्रेनमा अमेरिकाकै कारण नरसंहार भइरहेको छ । अमेरिकाले फेरि पनि युक्रेनी र रुसी जनतालाई अशान्ति र शत्रुतातिर धकेल्दै छ । त्यसको विरुद्धमा पनि नेपाल मजदुर किसान पार्टीले बोल्दै आएको छ । सबै न्यायप्रेमी, शान्तिकामी जनताले युक्रेनमा भएको अशान्ति, अराजकताको विरुद्धमा पनि बोल्दै जान आवश्यक छ । ती युद्धका कारण नेपालमा गहुुँ, मैदा, आँटाको चरम अभाव हुन्छ; इन्धन, ग्यास हाहाकार हुन्छ र महँगी बढ्छ । त्यही युद्धका कारण संसारमा सुनको मूल्य बढ्छ । संसारभरि भोकमरी बढ्छ । भोको बन्दै छ संसार ! त्यसकारण, युक्रेनमा अमेरिकाले गरेको युद्धको विरोध गर्दै छौँ । रुससँग जोडिएको अर्को एउटा देश छ, फिनल्यान्ड । त्यो सानो देशलाई पनि नाटो सैनिक सङ्गठनमा केही दिनअगाडि सदस्य बनाइयो । त्यसरी संसारलाई अशान्तितर्फ मोड्नको निम्ति अमेरिका अनेक कुकर्म गर्दै छ । त्यसरी नै एमसीसी र एसपीपीमार्फत एसियामा पनि नयाँ सैनिक सङ्गठन निर्माण गर्ने अमेरिकाको अहिलेको चाँजोपाँजो हो । अमेरिकाको तयारी हो । एसियामा अर्को खालको नाटो, अर्को खालको सैन्य सङ्गठन, अर्को खालको युद्ध थोप्ने षड्यन्त्र हुँदै छ । यसको विरुद्धमा अरू कोही बोल्दैनन् । एमाले, माओवादी, काङ्ग्रेस विरोध गर्ने आँटै गर्दैनन् । तर, नेपाल मजदुर किसान पार्टी एक्लै भएपनि निरन्तर सङ्घर्षमा छ । एमसीसी मुर्दावाद; एसपीपी मुर्दावाद; अमेरिकी साम्राज्यवाद मुर्दावादको नारा लगाउँदै युद्ध तथा अशान्तिको विपक्षमा नेमकिपा जनमत तयार गर्दै छ । नाटो सैनिक सङ्गठन र अमेरिकी साम्राज्यवादको आजभन्दा ५० वर्षअगाडिदेखि नेमकिपाले विरोध गर्दै आएको हो । नेपाली जनतालाई साम्राज्यवादविरोधी सङ्घर्षमा नेतृत्व प्रदान गर्दै छ ।
नेपालमा पनि अमेरिकी साम्राज्यवादसामु नझुक्ने एउटा शक्ति बाँकी छ भन्ने सन्देश नेपाल मजदुर किसान पार्टीले दिँदै छ । त्यसले नेपालको इज्जत जोगाएको छ; नेपालको प्रतिष्ठा बढाएको छ । त्यसकारण यदि हामीलाई लिविया भन्ने देशमा जस्तो आगजनी; सिरियामा जस्तो ध्वंश; अफगानिस्तान, युगोस्लाभियामा जस्तो नरसंहार हाम्रो लागि स्वीकार्य छैन भने हामीले अमेरिकी साम्राज्यवादको विरोध गर्नुपर्छ । एमसीसीको र एसपीपीको विरोध गर्नुपर्छ । त्यसलाई समर्थन गर्ने एमाले, काङ्ग्रेस, एमाओवादीको विरोध गर्नैपर्छ । त्यसबाहेक हामीसँग अर्को विकल्प छैन । त्यसकारण, हामीले यो सम्मेलनमार्फत गाउँठाउँ, जिल्ला–जिल्लामा यी सन्देश जनतासमक्ष पु¥याउनुपर्ने अहिलेको आवश्यकता हो ।
यसरी संसारमा बर्बादी देखिरहँदा अर्को एउटा उज्यालो पक्ष पनि अहिले हामीले देखिरहेका छौँ । केही दिन अगाडि चिनियाँ कम्युनिस्ट पार्टीले संसारका नेताहरूलाई निमन्त्रणा गरी एउटा राजनीतिक सम्मेलनको आयोजना ग¥यो । त्यस सम्मेलनमा नेपाल मजदुर किसान पार्टीको पनि सहभागिता थियो । अनलाइन माध्यमबाट भएको सो राजनीतिक सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिन फिङले ‘विश्वमा यसरी आतङ्क होइन; युद्ध होइन; बेरोजगारी होइन; भोकमरी पनि होइन; अब विश्वलाई वातावरणीय तथा हरेक हिसाबले बस्नलायक बनाउने, मानिसले मानिस भएर बाँच्न पाउने हकअधिकार सुनिश्चित बनाउने र विश्वलाई शान्त, सौम्य साथै विकसित, आधुनिक बासस्थान बनाउने त्यो बासस्थानको नाम साझा सुन्दर बगैँचा हुनेछ’ भनेर घोषणा गर्नुभएको छ । सि चिङ फिङले भन्नुभएको छ– “चीनले र संसारका न्यायप्रेमीहरूले अब विश्व सभ्यताको अगुवाइ गर्नेछन् । सभ्यता जोगाउनको निम्ति यसरी बर्बादी होइन । पाषाण युगतिर होइन, जङ्गली युगतिर होइन, बर्बर युगतिर होइन; यो विश्व एउटा मानवीय बस्तीको रूपमा विकास गर्ने । त्यसको निम्ति चीनले अमेरिकी साम्राज्यवादले जस्तै अशान्ति निर्यात गर्दैन । हातहतियार निर्यात गर्दैन । चीनले कुनै पनि देशमा गएर राजनीतिक हस्तक्षेप गर्दैन । सैन्य हस्तक्षेप गर्दैन ।” उहाँले विश्वसामु त्यो खालको वचनबद्धता प्रकट गर्नुभएको छ । त्यसलाई सजिलो भाषामा उहाँले भन्नुभयो – ‘अब चीन र चिनियाँ कम्युनिस्ट पार्टीले विश्व सभ्यताको अगुवाइ गर्नेछन् ।’
त्यसकारण, हामी सबैले मनमा राखौँ ! अमेरिकी साम्राज्यवादको म्याद नाघिसक्यो । त्यसको अन्त्य हुनेछ । युद्धको अन्त्य हुनेछ । शान्ति, उन्नति, विकासको बाटोमा विश्व अगाडि बढ्नेछ । त्यही विश्वासका साथ नेपाल मजदुर किसान पार्टीले नेपाली कामदार जनताको निःस्वार्थपूर्वक सेवा गर्दै छ; शिक्षित बनाउँदै छ; समाजवादी आन्दोलनको प्रचार गर्दै छ । त्यो बाटोमा नेपाली कामदार जनता अझ बढी बलियो ढङ्गमा, अझ बढी वैचारिक तथा सैद्धान्तिकरूपमा तयारी गर्दै अगाडि बढ्न सकेको खण्डमा यो नेपाल, दक्षिण एसिया र एसिया युद्धतर्फ होइन शान्तितर्फ अगाडि बढ्नेछ । अमेरिका उसैको ठाउँमा थन्किनेछ जसरी बेलायती साम्राज्यवाद आज एउटा कुनामा थन्केर बसेको छ । कहिले पनि सूर्य नअस्ताउने देशको रूपमा जयजयकार गरिएको बेलायती साम्राज्यवाद आज अत्यन्त कमजोर अवस्थामा एक कुनामा सीमित छ । एकदिन अमेरिकी साम्राज्यवाद पनि एउटा सीमित घेरामा अवश्य कैद हुनेछ । त्यो दिन टाढा छैन । संसार अगाडि बढ्नेछ । संसारमा समाजवादको उज्यालो बिहानी अवश्य उदाउनेछ । आतङ्क, अशान्ति र युद्धको मूल कारण अमेरिकी साम्राज्यवादको हार अवश्यम्भावी छ ।
(नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन, चैत २४–२५ चितवनको उद्घाटन समारोहमा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले दिनुभएको मन्तव्यको सम्पादित अंश)
Leave a Reply