भर्खरै :

महाकालीलगायत देशघाती सन्धि–सम्झौता खारेजीको विषय उठ्नासाथ संसद्मा माइक किन काटियो ?

काठमाडौँ ५ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको आकस्मिक बैठकमा भन्नुभयो – “काठमाडौँ रत्नपार्कमा भेला भएका मिटर ब्याज पीडित जनता र इनरुवामा भेला भएका लघुवित्त ऋण पीडित जनतामाथि सरकारले लाठी प्रहारसहित दमन गरेको संविधानमा उल्लेख नागरिकको मौलिक हक, वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको हनन् हो । जनताको शान्तिपूर्ण भेलामा भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्मा स्पष्ट गर्न लगाउनु आवश्यक छ । मिटर ब्याज पीडित र लघुवित्त ऋण पीडित जनताको माग पूरा गर्नु जरुरी छ ।”
उहाँले भन्नुभयो – “प्रम दाहालजीको भारत भ्रमणमा हवाई रुट, रेलमार्ग, ऊर्जा, ई–वालेट विषयमा छलफल हुने खबर सार्वजनिक भयो । नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खाभर्ती र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धिलगायत देशघाती कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, पश्चिम सेती सन्धि–सम्झौता खारेज गराउन (सांसद सुवालले महाकालीलगायत देशघाती सन्धि–सम्झौता ‘खारेज गराउन’ बोलिरहनु हुँदा सभामुख देवराज घिमिरेले “नियमावली भित्र बसेर आफ्नो विषयहरू राख्न” निर्देशन दिनुभयो । सांसद् सुवालले आफ्नो वक्तव्य चालू राख्नुभयो) र भारत अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन भारतसँग छलफलको विषय बनाउन प्रमजीले आँट किन गर्नु भएन ?”
तत्पश्चात सांसद् सुवालको माइक काटिएको थियो । उहाँले थप बोल्नपाउनु भएन । त्यति बोलिँदा १ मिनेट १० सेकेण्डमात्र समय लागेको थियो । आकस्मिक समयमा सांसद्हरूलाई २ मिनेटको समय दिइएको थियो । समय बाँकी हुँदै माइक किन काटियो ? प्राविधिक गडबडी थियो वा अन्य ? संसद् सचिवालयबाट स्पष्ट पारेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *