कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ५ वैशाख । विश्व सम्पदा दिवसको अवसरमा भक्तपुर नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूबिच मङ्गलबार प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरातात्विक एवम् सांस्कृतिक सम्पदाहरू अन्तर्राष्ट्रिय सम्पत्ति भएको बताउँदै यी सम्पदाको संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो ।
पुर्खाले सिर्जेका भक्तपुरका सम्पदाहरूलाई मौलिक स्वरूपमै संरक्षण गर्ने कार्यमा भक्तपुर नपाले विशेष जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर नगर आफैँमा खुला सङ्ग्रहालय भएको बताउनुभयो ।
भक्तपुरलाई जीवन्त नगर बनाउन प्रयासरत रहेको बताउँदै उहाँले भक्तपुर नपाले आर्थिक वर्ष २०७९÷८० मा मात्र १४ वटा सम्पदा संरक्षण गरिसकेको र अझ धेरै सम्पदाहरू निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।
भक्तपुर नपाले ९२ वटै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरी भक्तपुर नपाको कला, संस्कृति, सम्पदा, भाषा आदिबारे विद्यार्थीहरूलाई पठनपाठन गराउँदै आएको उहाँले बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले लोपोन्मुख सम्पदाहरूलाई संरक्षण गर्दै लोप भइसकेको सम्पदाहरूको प्राप्त प्रमाणहरूको आधारमा उत्खनन् गरी सुरक्षित राख्ने काम गर्दै आएको बताउनुभयो । उहाँले जनताको सहयोगमै सम्पदाहरू जीर्णोद्धार र पुनःनिर्माण हुनु भक्तपुरको महत्वपूर्ण विशेषता भएको बताउँदै काठमाडौँ उपत्यकाको मौलिक जीवनशैली, कला, संस्कृति, भाषा, संस्कार, सीप र खाद्य सामग्रीलगायतका विषयहरूलाई संरक्षण र प्रवद्र्वन गरी यसलाई जीवन्त तुल्याउनु हामी सबैको जिम्मेवारी हो भन्नुभयो ।
उहाँले भक्तपुर नपाले थंथु दरबार पुनःनिर्माण प्रक्रियालाई अगाडि बढाइसकेको अवगत गराउनुभयो ।
भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले ‘सय वर्षपछिको भक्तपुर’ बारे चर्चा गर्दै भक्तपुरलाई अझ सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले सबै लागिपर्नुपर्ने बताउनुभयो ।
नेपाल कर्मचारी एसोसिएसन एकाइ समिति भक्तपुर नपाका अध्यक्ष गौतमप्रसाद लासिवाले विश्व सम्पदा दिवस हरेक वर्ष अप्रिल १८ तारिखमा मनाउने गरिएको बताउँदै भक्तपुर नपाले पर्यटनबाट भएको आम्दानीले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमार्फत व्यापक जनताको हित गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नक्सा उपशाखाका ई. विश्वनाथ सुजखु र योजना तथा प्राविधिक शाखाका आर्किटेक्ट दिलभक्त जयनाले विश्व सम्पदामा सूचिकृत सम्पदाहरूको हालको अवस्था र ‘सम्पदा संरक्षणको इतिहास र भक्तपुर नगरपालिकाको भवन निर्माण मापदण्ड’ बारे प्रस्तुतीकरण देखाउनुुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply