भर्खरै :

शासकहरूसँग सांस्कृतिक भावना नभएको कारण सम्पदा संरक्षण नभएको हो

शासकहरूसँग सांस्कृतिक भावना नभएको कारण सम्पदा संरक्षण नभएको हो

भक्तपुर, ५ वैशाख । विश्व सम्पदा दिवस् २०८० को अवसरमा भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिको संयुक्त अयोजनामा सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनको लागि नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको प्रवचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा पुस्तकका लेखक तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) ले सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरूसँग सांस्कृतिक भावना र मन्त्रालयमा कार्यरत सम्बन्धित कर्मचारीहरूसँग कला संस्कृति र सम्पदाको महत्वबारे ज्ञान नहुँदा सांस्कृतिक सम्पदाहरूको उचित संरक्षण नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरलाई सांस्कृतिक नगर घोषणा नगर्दा सम्पदा संरक्षण गर्ने ऐन कानुन परिपालना गर्न र गराउन कठिनाइ भएको हो । प्राचीन सम्पदाको सौन्दर्य विदेशीहरूले मन पराउने भएकोले सम्पदा संरक्षण गर्नुपर्छ ।” स्थानीय निकायबारे ज्ञान नै नभएको स्थानीय विकासमन्त्री बनाउँदा स्थानीय सम्पदा संरक्षण स्थानीय जनतामार्फत गराउने प्रयास नभएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले देशको राजधानी दाङमा सारेको भए काठमाडौँ उपत्यकामा अस्तव्यस्त नहुने र सांस्कृतिक केन्द्र बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको अहिलेको सरसफाइ र फोहर व्यवस्थापन ट्राफिक व्यवस्थापनको भद्रगोलबाट मुक्त गर्न र यहाँको कला संस्कृति सम्पदा संरक्षण गर्न, देशको समानुपातिक विकास गर्न देशको राजधानी दाङ सार्नु उपयुक्त हुन्छ ।” उहाँले नगरलाई सुन्दर र स्वच्छ बनाउन नगरवासी, कर्मचारी र जनप्रतिनिधिहरूलाई सांस्कृतिक सम्पदासम्बन्धी प्रशिक्षण दिनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन मार्गनिर्देशक भएको बताउँदै भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्नेसम्बन्धी अध्ययन प्रतिवेदनबारे आफ्नो विचार राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सम्पदा संरक्षणमार्फत भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन भक्तपुर नगरपालिकाले सम्पदा पुनः निर्माण र मर्मतमा जोड दिँदै आएको बताउनुभयो ।
पुस्तकले कला, संस्कृति, सम्पदा र साहित्यमार्फत जनतालाई राजनैतिकरूपमा सचेत गराउनुपर्ने विचार भक्तपुर स्थानीय पर्यटक पथप्रदर्शक परिचालन समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिकाअध्यक्ष रामसुन्दर भेलेले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र जनताबिच पु¥याउनुपर्ने र यसको मर्मबारे कक्षा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुस्तकको पचास वर्ष पहिले विषयमा पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले चर्चा गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रशासन प्रमुख दामोदर सुवालले भक्तपुर जिल्लालाई पर्यटकीय गन्तव्य तथा शिक्षा र संस्कृतिको केन्द्र बनाउने सम्बन्धमा आफ्नो विचार राख्नुभयो भने अर्थशास्त्र अध्ययन समाजका अध्यक्ष मुरज दिदियाले ५० वर्षपछिको नेपाल विषयमा आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा र होटल व्यवसायी अजय प्रधानाङ्ग, वीरेन्द्र जति र तुल्सीनारायण डण्डेख्याले पनि आफ्नो विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *