भर्खरै :

नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुँदाको अनुभव

नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुँदाको अनुभव

नेपाल क्रान्तिकारी महिला सङ्घ देश र जनताको निःस्वार्थ सेवामा समर्पित नेपाल मजदुर किसान पार्टीको विभिन्न भगिनी सङ्गठनहरूमध्ये एक हो । यो सङ्घ माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई आत्मसात गर्दै समाजवाद स्थापना गर्ने पार्टीको उद्देश्य पूरा गर्न निरन्तर क्रियाशील छ । समाजमा रहेका किसान, मजदुर तथा विभिन्न पेशागत कार्यमा संलग्न महिला र शोषितपीडित महिलालाई राजनीति र सैद्धान्तिकरूपमा शिक्षित बनाउन र समाजमा विद्यमान अन्धविश्वास, छुवाछुत, भेदभावविरुद्ध सचेत गर्ने काममा निरन्तर अघि बढ्दै छ । नेपाल क्रान्तिकारी महिला सङ्घले देशका विभिन्न जिल्लाका महिलाहरूलाई सङ्गठित गर्दै राजनीतिकरूपले सचेत र शिक्षित बनाउँदै छ । सामन्तवादी व्यवस्था अन्त्य भई पुँजीवादी व्यवस्था आए पनि काम गरी खाने वर्गका महिलाहरूको अवस्था र समस्या उस्तै छ । शिक्षा र स्वास्थ्यमा पहुँच पुगेको छैन† अन्धविश्वास, कुरीति, परम्परावादी सोचले गर्दा समाजमा महिलाहरूको स्तर वृद्धि भइरहेको छैन । दुर्गम जिल्लामा बोक्सी, छाउपडी, झुमा, देउकीलगायतका कुप्रथा र बहुपत्नीका कारण कैयौँ महिलाहरू नारकीय जीवन जीउन बाध्य छन् । दिनहुँ हत्या र बलात्कारका घटनाहरू, बाल अपराध र यौन शोषणका घटनाहरू वृद्धि भइरहेका छन् । उजुरी दिए पनि कार्यान्वयन नहुने, गरीबका कारण पहुँच नहुने, डर धम्कीले गर्दा कैयौँ घटनाहरू दबाउने प्रवृत्तिले गर्दा गरीब किसान र मजदुरहरूले न्याय पाइरहेका छैनन् । आधारभूत आवश्यकता पूरा गर्न नसकेका ग्रामीण जनसमुदाय शिक्षाको उज्यालो घामबाट वञ्चित भइरहेका छन् । यिनीहरूको आवाजलाई डर, धम्की र लोभ देखाएर दबाइएको छ । बलात्कारी तथा हत्याराहरू सरकार र शासक दलहरूकै संरक्षणमा छन् । तराईका विभिन्न स्थानहरूमा दाइजो र तिलक प्रथाका कारण कैयौँ महिलाहरू जिउँदै जलाइँदै छन् भने शिक्षित महिलाहरू पनि सामाजिक कुप्रथाका कारण शारीरिक र मानसिक यातना भोग्न बाध्य छन् । यस्ता महिलाका समस्याहरू समाधान गर्न नेपाल क्रान्तिकारी महिला सङ्घ निरन्तर लागिरहेको छ ।
नेक्रामसङ्घ व्यक्तित्व विकासमा समान अवसर, शिक्षा एवम् स्वास्थ्य उपचार निःशुल्क हुने बन्दोबस्तको निम्ति आवाज उठाउँदै छ । सङ्घ छोरीलाई सम्पत्तिको अधिकार होइन उच्च शिक्षा दिनमा जोड दिन्छ । महिलाहरूको मुक्ति, सम्मान, सुरक्षा र न्याय समाजवादी व्यवस्थामा मात्र बन्दोबस्त हुने भएकोले पुँजीवादी व्यवस्थामा व्याप्त यस्ता कार्यहरूविरुद्ध आवाज उठाउन कामदार वर्गका महिलाहरू राजनीतिकरूपमा सचेत र सक्रिय बनाउन नेक्रामसङ्घ निरन्तर लागिरहेको छ । नेपालका विभिन्न जिल्लाका महिलाहरूलाई राजनीतिकरूपमा सक्रिय र गोलबन्द बनाउने कार्यको एउटा महत्वपूर्ण कार्यक्रम नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन हो । सम्मेलन चैत २४ र २५ गते चितवनको रत्ननगर १ टाँडीमा सम्पन्न भएको थियो ।
सम्मेलनमा विभिन्न जिल्लाबाट महिलाहरूले सक्रिय सहभागिता जनाएका थिए । टन्टलापुर घामको वास्ता नगरी प्रदर्शनकारीहरूले नारा लगाइरहेका थिए† सरकारको विरुद्ध आवाज उठाइरहेका थिए† आफूले देखे भोगेका घटनाहरूको विरुद्ध एकताबद्ध भई अघि बढिरहेका थिए । नेक्रामसङ्घ जिन्दावाद ¤, सीमा अतिक्रमण बन्द गर ¤, बढ्दो महँगी नियन्त्रण गर ¤, शिक्षा, स्वास्थ्य निःशुल्क गर ¤, खुला सीमा बन्द गर ¤, स्वदेशमै रासायनिक मल कारखानाको बन्दोबस्त गर ¤ लगायतका नाराहरू लगाउँदै हजारौँ महिला र पुरुषहरू कार्यक्रममा सहभागी थिए । परिवर्तनको लागि सामाजिक न्याय र सुरक्षाको लागि समान शिक्षा र स्वास्थ्य उपचारको लागि भइरहेको सङ्घको जुलुसमा सवारी साधनमा अघि बढिरहेका पत्रकारहरू फोटो खिच्न र भिडियो रेकर्ड गर्नमा व्यस्त थिए । चितवनको टाँडीमा भएको उक्त सम्मेलनबाट त्यहाँका स्थानीय जनता पनि उत्साहित देखिन्थे ।
बटुवाहरू हँसिया र हथौडाको चिह्न भएको झन्डा बोकेर हिँडिरहेको र देशको सीमा सुरक्षाको नारा लगाएको देखेर अचम्म मानेर हेरिरहेका थिए । मकवानपुर जिल्ला, कैलाश गाउँपालिका निवासी पेसाले चटपटे व्यापारी सन्तमाया टिटुङ आफू नारायणमान बिजुक्छेँ (रोहित) को कुराले प्रभावित भएको बताउँछिन् । ‘श्रमिक’ र ‘मजदुर’ पत्रिका अध्ययन गरेर धेरै राजनीतिक कुरा जान्ने मौका पाएको उनी बताउँछिन् । गाउँमा शिक्षा र स्वास्थ्य सेवाको कमी भएको र महिलाहरूलाई सङ्गठित पार्न गा¥हो भएको बताउने उनले अरूलाई आफूले जानेको कुरा बताउँदै आइरहेको जानकारी दिइन् ।
२०७४ को चुनावमा म्यादी प्रहरीमा काम गरेकी मिथिला अधिकारी सम्मेलन उत्साहजनक रहेको बताउँछिन् । अन्य राजनीतिक दलहरू भ्रष्टाचार, कमिसनखोरमा लागेर देश विकास नभएको, गाउँमा समस्या भएको बताउने उनी टेलिभिजन र पत्रिकामा मात्र देखेका सांसदहरू आज आफ्नै अगाडि उपस्थित हुँदा खुसी लागेको बताउँछिन् । मिथिला अधिकारी ‘मजदुर’ दैनिकमा पढेका कुराहरू आज यस कार्यक्रममा सुन्न पाउँदा पुनर्ताजगी भएको बताउँछिन् । उनी गाउँमा चुनाव हुँदा मासु, भात र रक्सीमा मानिसहरू बिक्ने गरेको बताउँछिन् ।
आफू घरको चुलोचौको र खेती किसानी काममा मात्र व्यस्त रहने भएकोले केही पनि थाहा नभएको बताउने बर्दिया निवासी सुनिता न्यौपाने आफ्नो श्रीमान्ले दोस्रो श्रीमती बिहे गरेर आफू र छोरोलाई अलपत्र पारेर हिँडेकोले माइत बस्न बाध्य भएको कुरा सुनाउँदै प्रशिक्षणमा भएको महिला कानुनी साक्षरता कक्षा आफूलाई ठ्याक्कै मिलेको बताउँछिन् ।
चितवन निवासी लीलाकुमारी चेपाङ, लक्ष्मी चेपाङ, सानुमाया मगर, सुमित्रा महतोलगायतले महिलाहरू शिक्षित नभएकाले भेला गर्न कठिन भएको बताए । राष्ट्रिय सम्मेलनमा सहभागी भएर महिला स्वास्थ्य स्तन क्यान्सर, पाठेघर क्यान्सर, कानुनी साक्षरता र महिलाहरूको हकहितको बारेमा जानकारी लिन पाएकोमा उनीहरूले खुसी व्यक्त गरे ।
गाउँमा ‘श्रमिक’ र ‘मजदुर’ पु¥याएकोमा धन्यवाद व्यक्त गर्दै देशको लागि हित हुने काम गर्ने पार्टी नेमकिपा मात्र हो भन्ने उनीहरू बताउँछन् । आफूहरू ठूलो कार्यक्रममा सहभागी हुन पाएकोमा उनीहरूले खुसी व्यक्त गरे ।
आफू म्यादी प्रहरीमा काम गरेको बताउने एक महिलाले आफूले विभिन्न राजनीतिक दलको बारेमा थाहा पाएको अनुभवबारे बताइन्– ठूला पार्टीका मानिसहरूले आफूलाई नेमकिपामा लागेर के हुन्छ ? ठूला पार्टीमा लागे तिम्रो भविष्य बन्छ, पावर हुन्छ, हाम्रोमा आउ भनी लोभ देखाए । म सङ्घर्ष गर्दै हुर्केको मान्छे, मलाई नेपाल मजदुर किसान पार्टीले राजनीतिक बाटो देखाइदियो† अब म यसलाई ढोका दिन्नँ† निरन्तर यसमा लाग्छु† बेला बेला म ‘मजदुर’ र ‘श्रमिक’ पढ्न पाउने आशा व्यक्त गर्छु ।”
महिलालाई श्रमशक्तिको वातावरण तयार भए देश विकासमा थप टेवा पुग्नेछ । महिलाहरूले समान कामको लागि समान ज्याला पाएका छैनन् । कामकाजी महिलाहरू गर्भवती र सुत्केरीपछि कामबाट निकालिन्छन् । रोजगारीको बन्दोबस्त छैन । रोजगारी नभएका महिलालाई सीपमूलक तालिमको व्यवस्थासँगै (गृहिणी) महिलाहरूलाई मासिक भत्ता र किसानलाई निवृत्तिभरणको बन्दोबस्त हुनुपर्ने आवाज सङ्घले उठाउँदै आइरहेको छ ।
सङ्घले नेपालका विभिन्न जिल्लाका महिला दिदीबहिनीहरूलाई एकत्रित गरेर राजनीतिक, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे अवगत गराउने कार्य नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनले गरेको छ । सङ्घले शोषितपीडित महिलाहरू एकताबद्ध भई सङ्घर्ष गर्न आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *