भर्खरै :

सार्वजनिक पर्ती जग्गा नै कायम गर्नुपर्छ

सार्वजनिक पर्ती जग्गा नै कायम गर्नुपर्छ

श्रीमान् प्रमुख मालपोत अधिकृतज्यू,
भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुर ।

विषय : प्रमाणसहित लिखित जवाफ पेस गरेको सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरले भक्तपुर जिल्ला दुवाकोट गा.वि.स.वडा नं. ८(ख) कित्ता नं. ४७ कि.का. भई कायम भएको कि.नं. ३७५ को सम्बन्धमा मेरो नाममा जारी भएको दिन २१ को म्याद सरहको पत्र मिति २०७९÷१२÷०६ मा प्राप्त भएकोले म्यादैभित्र मेरो भएको व्यहोरा निम्न प्रकरणहरूमा उल्लेख गरी यो लिखित जवाफ पेश गर्न आएको छु ।
१) उल्लेखित साविक भ.पु.जि.दुवाकोट वडा नंं ८(ख) कित्ता नंं ४७ को १९–१०–०–० जग्गा नापी हुँदा फिल्डबुकमा जग्गाधनी महलमा पर्ती, मोही महलमा पनि पर्ती र कैफियत महलमा आवाद बेलायक पर्ती उल्लेख भएको परापूर्व कालदेखिको सार्वजनिक पर्ती जग्गा नै हो । उक्त जग्गामा नेवार तथा क्षेत्री जातिका सर्वसाधारण गाउँलेले परापूर्व कालदेखि आ–आफ्नो कुलदेवता पूजा, देवाली पूजा गर्दै आएको मन्दिर तथा सार्वजनिक खुला क्षेत्र हो ।
२) जहाँसम्म सर्वोच्च अदालतले गरेका फैसला कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा सार्वजनिक पर्ती जग्गा व्यक्ति विशेषले दर्ता गराई तहतह बिक्री वितरण, हकहस्तान्तरण गरे तापनि सार्वजनिक नै हुने भन्ने सर्वोच्च अदालतले नै फैसला गरी नजिर सिद्धान्त कायम रहेको हुँदा उक्त फैसला कार्यान्वयन हुनसक्ने होइन । उक्त मुद्दामा हामीलाई प्रत्यर्थी पनि नबनाइएको र निष्पक्ष सुनुवाइको सिद्धान्तबमोजिम हामीहरूको आफ्नो भनाइ राख्न पाउने सुनुवाइको मौकासमेत नदिई गरेको फैसला कार्यान्वयन गर्न मिल्ने होइन ।
३) जहाँसम्म कान्छा सुवालले २०१६ सालमा जग्गा दर्ता गरी पाउन निवेदन दिई बहाली पुर्जी पाएको, तत्कालीन वन तथा कृषि मन्त्रालयको २०२१ सालमा आवाद गर्न दिने भनेको, २०२९ सालमा निवेदन दिई २०३८ सालको निर्णयबमोजिम २०४२ सालमा कान्छा सुवालको नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा दिएको भन्ने फैसलामा उल्लेख गरे तापनि सम्मानित सर्वोच्च अदालतबाट कैयौँ मुद्दामा प्रतिपादित नजिर सिद्धान्तबमोजिम उल्लेखित साविक कि.नं. ४७ को साविक लगत, रसिद तथा के कुन मौजा, लगत नं., नक्सा नं.बाट भिडी दर्ता हुने, साविक रसिद को कसको नाममा छ ? विपक्षी कान्छा सुवालसँग रैकरतर्फको साविक रसिद छ, छैन ? वा बिर्तातर्फको हो भने बिर्तातर्फको साविक रसिद, लगत छ, छैन ? केही नबुझी नहेरी हचुवा भरमा हुँदै नभएको सार्वजनिक पर्ती जग्गालाई व्यक्ति विशेषको नाममा मोलाहिजाको भरमा बिना कुनै सबुद प्रमाण दर्ता गराए भन्दैमा बहाल पुर्जी दिने, आवाद गर्न दिने, उक्त दर्ता गरी जग्गाधनी पुर्जा दिनेलगायतका निर्णय कानुनबमोजिम भएको भन्न मिल्ने अवस्था छैन । हालसम्म साविकका दुषित निर्णय गराउने कान्छा सुवालदेखि अहिले आफ्नो नाममा पुर्जा, श्रेस्ता बनाउने कोही कसैले उक्त जग्गा आवाद वा भोगचलन गर्न गराउन आएको पनि छैन, आउन सक्ने पनि होइन । उल्लेखित साविक कित्ता नं. ४७ को जग्गा परापूर्व कालदेखि नीलबाराही भगवतीको आँगनको रूपमा रहिरहेको, नापीका बखत सिमानामा परी हाल दुवाकोटतर्फ परेको हो । उक्त कित्ता नं. ४७ को दक्षिणतर्फ हाल पनि सार्वजनिक बसपार्क सञ्चालन हुँदै आएको छ । फिल्ड निरीक्षण गरी प्रतिवेदन बनाई पाऊँ । उक्त जग्गा आजका मितिसम्म सार्वजनिक पर्ती जनिई सार्वजनिक भोगचलनमा रहेको नेपाल सरकारको स्वामित्वको जग्गा हो ।
४) साविक कित्ता नं. ४७ लाई साविकका दुषित दर्ता गराउने कान्छा सुवालले १९ रोपनी १० आनामध्ये ३ रोपनी १० आना छोडी दुषित दर्ता गराएको प्रस्ट देखिन्छ । त्यसैले भूमिसुधार तथा व्यवस्थापन विभागले छानबिन गरी तयार गरेको प्रतिवेदन २०६९ बमोजिम अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट २०७०÷०४÷१८ को पत्रबमोजिम यस कार्यालयले नेपाल सरकारको नाममा कायम गरेको उल्लेखित कित्ता जग्गाहरू सार्वजनिक पर्ती नै कायम हुनुपर्दछ । जग्गा प्रशासन निर्देशिका, २०५८ को परिच्छेद ३ को प्रकरण ८१ (७) ले यस्तो प्रकृतिको दर्ता नेपाल सरकारको निर्णयले मात्रै सच्याउन सक्ने कानुनी व्यवस्था रहेको हुँदा फैसला कार्यान्वयन गर्न मिल्ने होइन ।
५) अतः साविक परापूर्वकालदेखि सार्वजनिक पर्ती जनी नेवार तथा क्षेत्री जातिका सर्वसाधारणले कुलदेवता, देवाली पूजाआजा गरी धार्मिक तथा सार्वजनिक प्रयोग गरी आएको नेपाल सरकारको स्वामित्वको जग्गा दुषित निर्णय तथा फैसला गराउँदैमा नीजि हुने होइन । सार्वजनिक पर्ती कायम हुनुपर्दछ ।
६) संलग्न प्रमाण कागज, फोटोहरू ः
क) नागरिकताको फोटोकपी १,
ख) स्थानीय नेवार तथा क्षेत्री जातिका सर्वसाधारणले देवाल (कुल देवता) पूजा गर्ने मन्दिर रहेको, सार्वजनिक खानेपानी ट्याङ्की तथा बसपार्कसमेत रहेको हालको वस्तुस्थिति देखिने मिति २०७९ चैतमा खिचेका फोटोहरू,
ग) सुरु दर्ता गर्ने मानिसले के कुन साविक रैकर वा बिर्ता रसिद राखी जग्गा दर्ता गरेको हो, छ या छैन ? थप अध्ययन अनुसन्धान गरी पाऊँ ।
लिखित जवाफ प्रस्तुतकर्ता
गौरीमान सिंह थापा
चाँगुनारायण नगरपालिका वडा नं. १
इति संवत् २०७९ साल चैत २३ गते रोज ५ शुभम् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *