भर्खरै :

लेनिन विश्व सर्वहारा वर्गको पहिलो राज्यका संस्थापक नेता

लेनिन विश्व सर्वहारा वर्गको पहिलो राज्यका संस्थापक नेता

काठमाडौँ, १० वैशाख । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगरपालिका वडा नं. ५ विशालनगर एकाइ समितिको आयोजनामा शनिबार विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इलिच उल्यानोभ लेनिनको १५३ औँ जन्म दिवस प्रवचन कार्यक्रम गरी मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय प्रतिनिधि एन. महर्जनले सर्वहारा वर्गका महान् नेता भ्लादिमिर लेनिनको कुशल नेतृत्वमा पहिलो समाजवादी क्रान्ति भएको, कामदार वर्गले सत्ता कब्जा गरी राम्रो शासन चलाउन सक्छ भन्ने माक्र्सवादी सिद्धान्तअनुसार शासन गरेको र समाजवादी क्रान्तिले गर्दा साम्राज्यवादी देशले उपनिवेश चलाइराखेका एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरूले राष्ट्रिय स्वतन्त्रता प्राप्त गरेको बताउनुभयो ।
उहाँले महान् नेता लेनिनको नेतृत्वमा भएको समाजवादी क्रान्तिले व्यक्तित्व विकासमा समान अवसर पाएको, कलकारखाना सबै सामाजिकीकरण भएको, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क एवम् अनिवार्य गरिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सोभियत सङ्घ विघटनले देश १५ टुक्रामा विभाजित भयो । त्यहाँ असमानता, अपराध, बेरोजगरी र गरिबीलगायतका धेरै समस्या सृजना भयो । महिला समानताको स्थिति अन्त्य भयो । महिलाहरू असुरक्षित हुन थाल्यो । कामदार वर्गमाथि शोषण र दमन पुनः सुरु भयो । यसले मानव कल्याणको लागि समाजवादी बन्दोबस्त नै जरुरी छ भन्ने देखायो ।”
कार्यक्रममा नेमकिपाका अक्कल महर्जनले विश्व सर्वहारावर्गका महान् नेता लेनिनले माक्र्सवादी सिद्धान्त सोभियत रुसमा पहिलो प्रयोग गरेको र त्यसले पुँजीवादको विकल्प समाजवाद हो भनी प्रमाणित गरेको छ भन्नुभयो ।
कृष्णहरि महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा कुलनारायण डंगोलले नेमकिपाले माक्र्सवाद र लेनिनवादलाई आत्मसात गर्दै नेपाली जनतालाई समाजवादी भावना जगाउने कार्य गरिरहेको बताउनुभयो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा पनि शनिबार लेनिन जयन्ती मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय प्रतिनिधि एन. महर्जनले सर्वहारा वर्गका महान् नेता भ्लादिमिर लेनिनको नेतृत्वमा माक्र्सवादी सिद्धान्तअनुसार पहिलो पटक सर्वहारा वर्गको हुकुम सोभियत समाजवादी क्रान्ति भएको, सोभियत रुसमा मजदुर, सिपाहीँ र किसानहरूको नेतृत्व रहेको समाजवादी सरकार गठन भएको, सोभियत सङ्घको समाजवादी क्रान्तिले सोभियत सङ्घमा आमूल परिवर्तन ल्याएको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सोभियत समाजवादी हुकुमले रेलसेवा, टेलेफोन सेवा, यातायात सेवा, बैङ्कलगायत मानव कल्याणसँग सम्बन्धित ठुला सेवा तथा कार्यहरू सरकारीकरण गरेर जनताको सेवा गर्यो ।”
कार्यक्रममा नेमकिपा ललितपुर जिल्ला समितिका उपाध्यक्ष अशोक महर्जनले भन्नुभयो, “पुँजीवादी निर्वाचन क्रान्तिको परिस्थिति तयार नहुञ्जेलसम्म उपयोग गर्नुपर्छ अथवा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र घुसेर जनताको सेवा गर्नुपर्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले सङ्गठन विस्तार गर्न जनवर्गीय वा पेशागत सङ्गठनमार्फत राम्रो कार्य गरेकोलाई वा खारिएका कार्यकर्तालाई मात्र पार्टी सङ्गठनमा सहभागी बनाउनुपर्छ ।”
नेमकिपा ललितपुर जिल्ला समिति सदस्य महन्त महर्जनले माक्र्सवाद मानव समाज र प्रकृतिको विकाससम्बन्धी नियमहरूको अध्ययन गर्ने विज्ञान भएको विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय कोषाध्यक्ष जगतराम धुख्वाले नेपालमा नेमकिपाका कार्यकर्ताहरूले मात्र निर्वाचनमा आचारसंहिता पालना गरेको तर अन्य पुँजीवादी पार्टीले आचारसंहिताविपरीत चुनाव प्रचार गरिरहेको छ भन्नुभयो । महन्त महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा महालक्ष्मीका कृष्णभक्त महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *