क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
संरा अमेरिकाले युरोपका आफ्ना साझेदार देशसँगको अन्तरएटलान्टिक गठबन्धनलाई प्रायशः साझा हितमा आधारित सम्बन्धको रूपमा चर्चा गर्ने गरेको छ । तर, व्यवहारमा वाशिङ्टनको नीति र काम भने ठीक उल्टो छ । डोनाल्ड ट्रम्पको कार्यकालमा युरोप र संरा अमेरिकाबिचको यो गठबन्धन अप्ठ्यारो अवस्थामा पुग्यो । जो बाइडेन सरकार गठनपश्चात् यो गठबन्धनको आधारलाई पुनः बलियो बनाउने वाचा गरियो । रुस र युक्रेनबिचको द्वन्द्वले यो गठबन्धनलाई पछिल्लो इतिहासमा अभूतपूर्वरूपमा निकट बनाएको प्रायशः चर्चा हुने गरेको छ ।
तर, बाइडेन सरकारकै पालामा अन्तरएटलान्टिक सम्बन्धसँग जोडिएका केही घटनाक्रमले संरा अमेरिकाले अन्तरएटलान्टिक गठबन्धनको प्रमुख आधारस्तम्भ भन्दै आएका मुख्य मुख्य मूल्य मान्यतामा नै प्रश्न उठेका छन् । हालसालैका दुई वटा घटनामाथि मात्र विचार गरौँ : बाइडेनकै अगुवाइमा प्रस्तावित मुद्रास्फीति न्यूनीकरण ऐन र संरा अमेरिकासामु युरोपको रणनीतिक पछुवा प्रवृत्तिबारे फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले दिएको अभिव्यक्तिलाई लिएर वाशिङ्टनमा फ्रान्सविरुद्ध खेदो खनाइ ।
पहिलो प्रसङ्ग, निकै वाहवाही पाएको ४ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको बाइडेन सरकारद्वारा प्रस्तावित मुद्रास्फीति न्यूनीकरण ऐन संरा अमेरिकामा नै उत्पादन गर्दै आएका कम्पनीहरूलाई अनुदान र कर छुट दिने प्रस्ट मनसायका साथ अघि ल्याइएको थियो । यो कानुनले युरोपमा उत्पादन गर्दै आएका कम्पनीलाई संरा अमेरिकी वैरीसँग काम गर्न असजिलोमा पारेको छ । यसले युरोपका कम्पनीलाई युरोपमा भन्दा संरा अमेरिकामै लगानी गर्न हौस्याएको छ ।
“संरा अमेरिकी मुद्रास्फीति न्युनीकरण ऐनमा हाम्रो चासोको विषय त्यसमा रहेका युरोपप्रतिका विभेदकारी प्रावधान हुन् । ती प्रावधान युरोपेली कम्पनीहरूप्रति विभेदकारी छन्”, युरोपेली व्यापार कमिसनर भाल्दिस दोमब्रोभस्कीले भने ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युरोपले संरा अमेरिकाप्रतिको निर्भरता घटाउनुपर्ने र ताइवान क्षेत्रमा चीन र संरा अमेरिकाबिचको द्वन्द्वमा युरोप लतारिन नहुने भनाइ सार्वजनिक भएलगत्तै वाशिङ्टनका राजनीतिक र नीतिगत वृत्तमा फ्रान्सको खेदो खनियो । म्याक्रोँले युरोप कसैको पछुवा हुन नहुने पनि बताएका थिए ।
युरोपको रणनीतिक स्वायत्तताबारे म्याक्रोँको दृष्टिकोणविरुद्ध यसरी खेदो खनियो, वाशिङ्टनको राजनीतिक वृत्तमा केही मानिसले ‘फ्रान्ससँगको सम्बन्धमा पुनर्विचार गर्न’ समेत संरा अमेरिकी नेतृत्वसमक्ष आग्रह गर्न भ्याए ।
अर्थतन्त्र, विदेश नीति र सुरक्षालगायत बृहत् क्षेत्रमा युरोपेली रणनीतिक स्वाधीनताबारे म्याक्रोँको दूरदर्शी धारणा कुनै आश्चर्यको विषय भने होइन । युरोपको फराकिलो स्वायत्तताबारे फ्रान्सेली राष्ट्रपतिले यस्तो धारणा सार्वजनिक गरेको यो पहिलोपटक पनि होइन । सन् २०१७ मा राष्ट्रपति पद सम्हालेसँगै म्याक्रोँले युरोपेली सङ्घका अन्य नेताहरूसमक्ष कम्तीमा विदेश नीति, औद्योगिक तथा सुरक्षा नीतिमा संरा अमेरिकासँगको गठबन्धनबाट अलग्ग हुनुपर्नेमा जोड दिएका थिए ।
युरोपको रणनीतिक भविष्यबारे म्याक्रोँको भनाइले गहिरो ओज बोकेको छ । उनले युरोपको एउटा प्रमुख देशको नेतृत्वको हैसियतमा त्यसो बोलेका हुन् । फ्रान्स संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा सदस्य रहेको एक मात्र युरोपेली सङ्घको सदस्य देश हो । युरोपेली सङ्घका सदस्यमध्ये फ्रान्स एक मात्र आणविक शक्ति हो । साथै, फ्रान्स संसारकै सबभन्दा ठुलो व्यापारिक इन्जिनमध्ये एउटा हो ।
त्यसकारण, युरोपबारे दूरदर्शी सोच राखेकै कारण म्याक्रोँमाथि भएको हमलाले अन्तरएटलान्टिक सम्बन्धका प्रमुख पक्षमध्ये एउटा पक्ष ‘आपसी सम्मान’ लाई प्रश्नको घेरामा तानेको छ । फ्रान्सविरुद्धको खेदोले युरोपको भविष्य आफूले निधो गर्ने र बृहत् राजनीतिक तथा नीतिगत सार्वभौमिकताको लागि युरोपेली चाहनालाई निषेध गर्ने वाशिङ्टनको धेरै अघिदेखिको निषेधकारी व्यवहार पुनः खुलासा भएको छ ।
कम्तीमा दुई वटा कारणले संरा अमेरिकाबाट युरोपले रणनीतिकरूपमा अलग हुनुपर्ने आवश्यकता बढ्दै गएको छ । प्रथमतः आजको युग बहुपक्षता उदाउँदै गरेको युग हो । २७ वटा सदस्य देश भएको युरोपेली सङ्घभित्र सबै देशका भिन्न भिन्न स्वार्थका जटिल र गतिशील परिस्थितिमा सङ्घले आफ्नै हितलाई भन्दा कुनै महाशक्तिले आफ्नो रणनीतिक प्राथमिकताको आधारमा अघि बढ्नु असजिलो काम हो ।
संरा अमेरिकाप्रतिको निर्भरता घटाउने म्याक्रोँको आग्रहमा भविष्यको अनिश्चितता न्यूनीकरण गर्ने सोच पनि निहित हुन सक्छ । संरा अमेरिकाको अनिश्चित राजनीतिक अवस्था सर्वविदित विषय हो । बढ्दो धुव्रीकृत राजनीतिक अवस्था र चीनलाई घेराबन्दीमा पार्न दुवै शासक दल एकै ठाउँमा आउने परिस्थितिले युरोपको भविष्यलाई जोखिममा पार्न सक्छ ।
चीनविरुद्ध अहिलेको घातक दुई दलीय सहमतिको खतरा बुझ्न सन् २००३ को सुरुमा संसारले देखेको उस्तै संरा अमेरिकी राजनीतिक परिस्थितिलाई युरोपेली सरकारहरूले विचार गर्न जरुरी छ । त्यत्तिबेला अमेरिकाका दुई शासक दलको सहमतिमा तत्कालीन जर्ज डब्ल्यु बुश सरकारले सद्दाम हुस्सेनबारे अनेकथरी खतराको हल्ला फैलाएको थियो । जसले इराकलाई अवैध र मानव इतिहासकै सबभन्दा विध्वंसात्मकमध्येको एउटा युद्धमा धकेलेको थियो ।
उतिबेला अन्तरएटलान्टिकको मन्त्रले धेरै युरोपेली देशहरूलाई त्यो युद्धमा सरिक बनाएको थियो । जब कि त्यो युद्धमा उनीहरूको कुनै लिनुदिनु थिएन । संरा अमेरिकाको अभिमानको सेवा गर्न मात्र उनीहरू त्यो युद्धमा होमिए । चीनविरुद्ध हमलालाई अन्तरएटलान्टिक तनावको रूपमा प्राथमिकताका साथ चित्रण गर्नु पछाडि पनि संरा अमेरिकाका दुई दलबिच उस्तै रणनीतिक योजना निहित देखिन्छ ।
यदि युरोप संरा अमेरिकाकै अधिनमा रहिरहे र अन्तरएटलान्टिक गठबन्धनअन्तर्गत अमेरिकी प्रभुत्ववादी रणनीतिक मुद्दालाई पछ्याइरहे बाँकी संसारमा विशिष्ट क्षेत्रको रूपमा युरोपको रणनीतिक उपादेयता समाप्त हुनेछ । युरोप अझ कमजोर हुनेछ । अन्ततः युरोपको सामूहिक राजनीतिक अस्तित्व नै खतरामा पर्नेछ ।
(लेखक अन्तर्राष्ट्रिय राजनीति, विशेषतः एसिया मामिलामा केन्द्रित भएर कलम चलाउने ढाका निवासी स्तम्भकार र विश्लेषक हुन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवाद : नीरज
Leave a Reply