भर्खरै :

नेपाल र क्युवाबिचको जनस्तरको सम्बन्ध प्रगाढ

नेपाल र क्युवाबिचको जनस्तरको सम्बन्ध प्रगाढ

भक्तपुर, ११ वैशाख । नेपाल–क्युवा सम्बन्ध ५० वर्ष पुगेको अवसरमा क्युवाको वर्तमान स्थितिबारे विचार गोष्ठी सोमबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपश्चात क्युवाले ४९ सदस्यीय चिकित्सक टोली पठाएर सहयोग पु¥याएपछि नेपाल र क्युवाबिचको जनस्तरको सम्बन्ध प्रगाढ बनेको विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपाल र क्युवाबिचको मैत्री सम्बन्ध समयसँगै विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष रोहितले ल्याटिन अमेरिका तथा क्यारिवियामा हिजोसम्म क्युवा एक्लो देखिन्थ्यो तर आज क्रमशः राजनीतिक दृश्य परिवर्तन भइरहेको प्रस्ट पार्नुभयो ।
नेपाली र क्युवाली जनताबिच सहयोग आदानप्रदान थप अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले व्यापार–व्यवसाय, शिक्षा आदि क्षेत्रमा आपसी सहकार्य आवश्यक भएको धारणा राख्नुभयो ।
क्युवाले शैक्षिक क्षेत्रमा हासिल गरेका उपलब्धिबाट नेपाली जनता पनि लाभान्वित हुने वातावरण तयार गर्न आवश्यक भएको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले नवनिर्वाचित क्युवाली राष्ट्रपति मिगुयल डियाज कानललाई नेमकिपाको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
नेपालका लागि क्युवाका राजदूत अलेजान्ड्रो सिमान्कासले कठिन परिस्थितिमा सँगै उभिने नै वास्तविक मित्र हुने र ती मित्रहरू नेपालमा भेटाएको बताउनुभयो । उहाँले वैशाख १२ को भूकम्पपश्चात् सानो मानवीय सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै क्युवाली डाक्टरहरू नेपाली जनताबाट प्रभावित भएको बताउनुभयो ।
राजदूत सिमान्कासले क्युवाली समाजवादको अन्तिम विजय र अमानवीय नाकाबन्दीको अन्त्य गर्ने अठोटका साथ क्युवाली नेतृत्व र जनता लडिरहेको प्रस्ट पार्नुभयो । उहाँले विश्व शान्ति स्थापनाको पक्षमा क्युवा रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोले क्रान्ति र विजयको अर्थ अन्यायको अन्त्य र गरिबी तथा बेरोजगारीको अन्त्य बताउनुभएको चर्चा गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “शासक दलहरू नेपालमा क्रान्ति भएको दाबी गर्छन् । तर, ८० लाखभन्दा बढी युवाहरू १११ देशमा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न बाध्य छन् ।”
“अमेरिकी साम्राज्यवादले क्युवाको समाजवादविरूद्ध ६० वर्षभन्दा अघिदेखि नाकाबन्दी लगाउँदै छ । संयुक्त राष्ट्र सङघले सन् २०२२ नोभेम्बरसम्म क्युवाविरूद्ध नाकाबन्दी हटाउन ३० पटक प्रस्ताव पारित ग¥यो । तर नाकाबन्दी हटाउन अमेरिकी साम्राज्यवाद तयार भएन । २४५ वर्षयता अमेरिकी साम्राज्यवाद २२८ ओटा युद्धमा संलग्न भयो”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “दोस्रो विश्वयुद्धयदेखि सन् २००१ सम्म अमेरिकी साम्राज्यवाद संसारको ८१ प्रतिशत सैनिक विद्रोहमा संलग्न भयो, अर्थात २४८ वटा सैनिक विद्रोहहरूमध्ये २०१ वटामा अमेरिकी साम्राज्यवाद संलग्न भयो । कोरिया, भियतनाम, खाडी, कोसोभो, अफगानिस्तान, इराक, सिरिया युद्धमा अमेरिकी साम्राज्यवाद सिधै संलग्न भयो । गत वर्ष सुरू गरिएको युक्रेनमा रूसविरूद्धको युद्धमा अमेरिकी साम्राज्यवाद संलग्न भएको पछिल्लो उदाहरण हो । युक्रेन युद्धको कारण संसारमा इन्धन, खाद्यान्न र आर्थिक सङ्कट बढ्यो । हालै अमेरिकी साम्राज्यवादले फिनलैन्डलाई नाटोको ३१ औँ सदस्य बनायो र पूर्वतिर युद्ध फैलाउने तयारी ग¥यो । विश्व शान्तिको लागि अमेरिकी साम्राज्यवाद नेतृत्वको नाटो, अउकस, पाँच आँखा, क्वाड, अन्जुसलगायत सैनिक सङ्गठन खारेज गर्नु जरूरी छ । अमेरिकी साम्राज्यवादले हिन्द–प्रशान्त क्षेत्रमा सैन्य मोर्चा बनाउन एमसीसी सम्झौता अघि बढाउँदै छ । शासक दलहरूले नेपाललाई पनि एमसीसी सम्झौतामा फसाए । वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गराउन हामी सङ्घर्ष गर्दै छौँ ।”
२०७२ सालको विनाशकारी भूकम्पको बेला घाइतेको उपचार गर्न र त्यस अगाडि पनि क्युवाली चिकित्सक टोलीले नेपाली जनताको सेवा गरेको ताजा सम्झनामा रहिरहने चर्चा गर्दै सचिव सुवालले समाजवादी क्युवाबाट हामीले जैविक खेती, आत्मनिर्भर अर्थतन्त्र र साम्राज्यवादविरोधी सङ्घर्षबारे सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “क्युवाली जनताको राष्ट्रिय सभाबाट राष्ट्रपति पदमा मिगुएल डियाज क्यानेल बर्मुडेज पुनः निर्वाचित हुनुभएको छ । उहाँको यो दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्दछौँ । उहाँको यो कार्यकालमा नेपाल मजदुर किसान पार्टी र क्युवाली कम्युनिस्ट पार्टीबिचको मैत्रीपूर्ण सम्बन्ध थप बलियो हुने विश्वास गर्दछौँ ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *