नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
वि.सं. २०७२ मा ठूलो धनजनको क्षति हुनेगरी भैँचालो जानुअघिसम्म धेरैले ‘नब्बे सालको भैँचालो’ भनेर चिन्ने वि.सं. १९९० को भूकम्पलाई पछिल्लो समयको सबैभन्दा ठूलो भैँचालोको रूपमा लिने गर्थे ।
भैँचालोको जोखिम क्षेत्रमा रहेको भनिएको नेपालमा बारम्बार ’नब्बे सालको जस्तै भैँचालो आउन सक्छ’ भनेर जनमानसलाई सार्वजनिकरूपमा भन्ने गरेको पाइन्थ्यो ।
त्यसबारे कैयौँ लेख लेखिएको भेटिन्थ्यो । स्वदेशी र विदेशी दातृनिकायको आर्थिक सहयोगमा हुने भैँचालोसम्बन्धी कार्यक्रमहरूमा पनि यस्ता अभिव्यक्ति सार्वजनिक हुने गरेको सुनिन्थ्यो ।
वि.सं. २०७२ साल वैशाख १२ गते दिउँसो ११ः५६ मा गएको भैँचालोले मुलुकभरि ठूलो धनजनको क्षति ग¥यो । र, धेरैले आज पनि त्यसलाई नब्बे सालकै भैँचालोसँग तुलना गर्ने गरेका छन् ।
पाठ
बहत्तर सालको भैँचालोमा हामीले आफ्नै पालामा हाम्रा बा वा हजुरबाहरूले सुनाउने गरेको ‘नब्बे सालको भैँचालोको कथा’ जस्तै भयानक विपद् भोग्यौँ । तर, न सर्वसाधारण न त सरकारी ओहोदामा रहनेहरूले त्यस भैँचालोबाट पाठ लिएको देखिन्छ ।
अहिले पनि भैँचालो थाम्नेखाले निर्माण नभइरहेको गुनासो सार्वजनिक हुने गरेको छ । विशेष गरेर सहरी क्षेत्रमा त्यस्तै विपद् पर्दा आवश्यक पर्ने खुला स्थानहरू राखेको देखिँदैन । विभिन्न ऐतिहासिक ग्रन्थ, लेख र लेखोटहरू हेर्दा नेपालमा हरेक शताब्दीमा एक वा दुई ठूलाखाले भैँचालाहरू गएकै देखिन्छ ।
त्यस्ता भैँचालाको प्रभाव देशका धेरै भागमा परेको विवरणहरू पाइन्छन् । साना र मझौला खाले भैँचालोहरू त गइरहेकै हुन्छन् ।
गल्ती
नेपालमा गएका भैँचालाहरूको विवरण समावेश गरेर लेखिएका कतिपय पुस्तक र लेखहरूमा पनि गल्तीहरू भेटिएका छन् । भैँचालाहरूको कुरा गर्दा धेरैले सम्झना गर्ने पुस्तकमध्येमा ब्रह्मशमशेर जङ्गबहादुर राणाले लेखेको ‘नेपालको महाभूकम्प’ पर्छ ।
यो पुस्तकमा नब्बे सालको भैँचालोको विषयमा धेरै र त्यसभन्दा अघिका भैँचालोहरूका विषयमा केही उल्लेख गरिएको पाइन्छ । यो नब्बे सालको भैँचालो गएको एक वर्षपछि प्रकाशित भएको थियो । तर, त्यसमा नब्बे सालअघिको भैँचालोबारे राणाले लेख्दा गल्ती हुन गएको भनी नयराज पन्त भन्ने गर्थे । उक्त पुस्तकको आफ्नो निजी प्रतिमा उनले त्यसको संशोधन पनि गरेर राखेका थिए ।
खोजी
अध्ययन गर्दै जाँदा मैले पनि त्यो पुस्तकमा गल्तीहरू भेट्दै गएँ । नेपालको खानी तथा भूगर्भ विभागका भूगर्भशास्त्रविद् र भूकम्पविद्याविद् जीआर चित्रकार र माधवराज पाण्डेले अङ्ग्रेजी भाषामा लेखेको ‘इतिहासमा चढेका, नेपालमा गएका भैँचाला’ भन्ने एउटा लेखमा पनि ब्रह्मशमशेरकै गल्ती दोहो¥याएको भेटियो ।
यस्तै कारणहरूले मैले नेपालमा गएका भैँचालाहरूको इतिहास खोतल्ने निधो गरेँ र वि.सं. १८६८ जेठ २४ गते गएको एउटा भैँचालोबारे सप्रमाण लेखी संशोधन मण्डलद्वारा प्रकाशित हुँदै आएको ‘पूर्णिमा’ को ९५ पूर्णाङ्कमा त्यसलाई २०५५ सालमा छपाएँ ।
फ्रान्सको ‘सँत्र नासओनल् दे ला रशे¥शे साँतिफिक’ अर्थात् शास्त्रीय अन्वेषणको राष्ट्रिय केन्द्रबाट मलाई २०५६ सालको हिउँदमा तीन महिनाका लागि त्यहाँ अन्वेषण गर्ने प्रस्ताव आयो ।
मैले त्यहाँ तीन महिनामा सकिने खालको अन्वेषण गर्नुपर्ने थियो । त्यसैले मैले नेपालका भैँचालाकै विषय समातेँ । प्यारिसमा गरेको त्यस अध्ययनबाट एउटा छाप्न मिल्ने पुस्तिका नै तयार भयो ।
त्यो लेख २०५७ वैशाख ८ गते काठमाडौँमा भएको एउटा गोष्ठीमा प्रस्तुत हुनुका साथै संशोधन मण्डलबाट प्रकाशित भएको अङ्ग्रेजी भाषाको जर्नल ‘आदर्श’ मा पनि त्यो लेख छापियो । पछि प्यारिसबाट पनि उक्त लेखको सारांश फ्रेन्च भाषामा छापिएको छ ।
कुन हो सबैभन्दा पुरानो भैँचालो ?
यसरी मैले ऐतिहासिक तथ्यहरूमा आधारित भएर नेपालका भैँचालासम्बन्धी इतिहासको अध्ययन गर्दा कतिपय पुस्तक र लेखहरूमा प्रशस्त गल्तीहरू भेटेँ र तिनलाई सच्याउने प्रयास पनि गरेँ ।
नेपालका प्राचीन टिपोट र अभिलेखहरूको मेरो हालसम्मको अध्ययनले नेपालमा गएका भैँचालामध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भैँचालो भनेको वि.सं. १२८० मा गएको भैँचालो हो । यो त्यस वर्षको पौष शुक्ल प्रतिपदाका दिन गएको भनिएको छ । मैले अध्ययन गर्दा लक्ष्मीपति–नयराज सङ्ग्रहमा जुनजुन सालका पात्राहरू उपलब्ध भए तिनको पनि उपयोग गरेँ ।
यसबिच दिनेशराज पन्तको अन्वेषणबाट पनि भैँचालाको इतिहासको विषयमा केही तथ्य फेला परे ।
गोपाल राजवंशावली, मण्डल वंशावली, भाषा वंशावली, नेपालिक भूपवंशावलीसहित पुराना हस्तलिखित पात्राहरूमा उल्लेख गरिएका विवरणहरू भेला पारेर मैले नेपालका भैँचालाहरूबारे तथ्यहरू खोजेको हुँ । त्यस क्रममा एकै साल पनि धेरैवटा भैँचालाहरू गएको तथ्य भेटिन्छ । चाँडचाँडै दोहोरिएका भैँचालाहरू अहिले भन्ने गरिएको परकम्प पनि हुनसक्छन् ।
राजाकै मृत्यु
गोपाल राजवंशावली अनुसार वि.सं. १३१२ को भैँचालोमा त्यसबेलाका राजा अभय मल्लको मृत्यु भएको उल्लेख छ । त्यस भैँचालोले देवल र घरहरू धेरै भत्किएको र तीन भागको एक भाग प्रजाहरूको मृत्यु भएको भन्ने विवरण त्यसमा देखिन्छ । त्यसबेला चार महिनासम्म जमिन हल्लिरहेको वंशावलीमा उल्लेख भएकोले उसबेला पनि अहिले जस्तै परकम्पहरू आएका रहेछन् भन्ने बुझिन्छ ।
भैँचालोकै कारण १५ दिन देखि एक महिनासम्म देश छाडेर बाहिर जानुपरेको विवरण ऐतिहासिक दस्तावेजमा पाइन्छ । वि.सं. १४०१ मा गएको भैँचालोलाई ठूलो भैँचालो भनेर गोपाल राजवंशावलीमा लेखिएको छ । त्यो भैँचालो दसैँको फूलपातीका दिन गएको रहेछ ।
त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरण भेटिएको छ । त्यसबेला भक्तपुर शासनको केन्द्र थियो । तर, अरि मल्लको मृत्यु भने देउपाटन (पशुपतिक्षेत्र) मा भएको उल्लेख छ । त्यसबेला राजाहरूको राज्याभिषेक देउपाटनमा नै गर्ने चलन थियो ।
मृत्यु हुन लागेकाहरूलाई पशुपतिक्षेत्र लाने चलनअनुसार अरि मल्ललाई पनि त्यसबेला देउपाटन लगिएको हुनसक्छ । वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भैँचालाहरू गएका विवरणहरू तथ्यसहित भेटिएका छन् ।
त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भैँचालो गएका हुन् । झन्डै आठ सय वर्ष (७९५ वर्ष) को नेपालको इतिहासमा २०४५ सालको भैँचालोलाई पनि सामेल गर्दा कुल ५० वटा ठूला भैँचाला गएको देखिन्छ । कतिपय ऐतिहासिक विवरणहरूमा ती भैँचालाहरूले ठूलो क्षति पु¥याएको उल्लेख छ ।
अपूर्ण
अन्य शास्त्रमा जस्तो औसत निकाल्न मिल्ने भए करिब आठ सय वर्षको यो विवरण हेरेर हामी हरेक १६ वर्षमा एउटा भैँचालो जानसक्छ भन्न सक्थ्यौँ । तर, इतिहासमा न यस्तो औसत निकाल्न मिल्छ न त त्यसो गर्नु वैज्ञानिक नै हुन्छ ।
यसरी औसत निकाल्न किन पनि मिल्दैन भने कुनैकुनै साल एकै वर्षमा धेरैपटक भैँचाला पनि गएका छन् । यसले नेपाल भैँचालाको जोखिममा रहेको कुरालाई भने स्पष्ट पार्छ ।
इतिहासका यी विवरणहरूको विश्लेषण गरेर भूकम्पविद्याविद्हरूले आफ्नै ढङ्गले वैज्ञानिक विश्लेषण पनि गर्न सक्लान् । नेपालमा अभिलेख राख्ने राम्रो परम्परा नभएकोले यस्ता भैँचाला यी भन्दा धेरै नै बढी गए होलान् भनी अनुमान गर्न सकिन्छ ।
भैँचालोको इतिहासको जे जति खोजी भयो त्यो पनि एकाध मानिसको व्यक्तिगत प्रयासमा भएकोले यो निकै अपूर्ण छ । भैँचालाको बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवैतर्फबाट प्रशस्त खर्च भइरहेको छ । भैँचालोको इतिहासको खोजीमा योग्य व्यक्तिहरूलाई जिम्मेवारी सुम्पेको खण्डमा अझ बढी प्रकाश पथ्र्यो कि जस्तो मलाई लाग्छ ।

(इतिहासकार पन्तसँग बीबीसी संवाददाता विष्णु पोखरेलले गरेको कुराकानीमा आधारित । यो लेख पन्तले प्रयोग गर्ने शैलीकै भाषामा तयार पारिएको छ ।)
– बीबीसी नेपाली सेवा
Leave a Reply