भर्खरै :

तार्केश्वरमा लेनिन जन्म दिवस

तार्केश्वरमा लेनिन जन्म दिवस

काठमाडाँै, १२ वैशाख । नेपाल मजदुर किसान पार्टी तार्केश्वर नगर समिति काठमाडाँैको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला गरी विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इलिच उल्यानोभ लेनिनको १५३ औँ जन्म दिवस प्रवचन कार्यक्रम गरी मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले सर्वहारावर्गका महान् नेता भ्लादिमिर लेनिनको नेतृत्वमा माक्र्सवादी सिद्धान्तअनुसार पहिलो पटक सर्वहारावर्गको हुकुम सोभियत रुसमा समाजवादी क्रान्ति भएको, समाजवादी क्रान्तिले सोभियत रुसमा आमूल परिवर्तन ल्याएको, साम्राज्यवादी देशले उपनिवेश चलाइराखेका एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरूले मुक्ति पाएको बताउनुभयो ।
उहाँले नेपालमा पनि क्रान्ति गर्न त्यागी, समर्पित र बलिदानी भावनाले काम गर्ने साथीहरूको खाँचो छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “आदेशको पालना नगर्ने, अनुशासनमा नबस्ने, व्यक्तिगत स्वार्थी भएका कार्यकर्ता साँचो अर्थमा कार्यकर्ता होइनन् । उनीहरूले क्रान्तिमा साथ दिँदैनन् ।”
उहाँले साथीहरूको सैद्धान्तिक स्तर उकास्न पार्टी प्रकाशन अध्ययन गरिहनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सनकमान महर्जनले लेनिनको नेतृत्वमा सोभियत रुसमा भएको अक्टोबर क्रान्तिले कामदार वर्गले राज्य व्यवस्था राम्रोसँग चलाउन सक्छ भनी देखाइदिएको, व्यक्तित्व विकासमा समान अवसर पाएको, उत्पादनका साधनहरू सामाजिकीकरण गरेको, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गरेको, कम अवधिमा पश्चिम युरोप र संरा अमेरिकाको भन्दा बढी विकास गरेर देखाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बहुदलीय पुँजीवादी व्यवस्थाले जनताको प्यास मेटिँदैन भन्ने कुरा नेपाली जनताले बहुदलीय व्यवस्थाबाट बुझिसकेका छन् ।
नेमकिपाका एनवि श्रेष्ठले भन्नुभयो, “क्रान्तिको परिस्थिति तयार नहोउञ्जेलसम्म पुँजीवादी निर्वाचनलाई उपयोग गर्नुपर्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले सङ्गठन विस्तार गर्न जनवर्गीय सङ्गठनमा काम गरेका वा खारिएका कार्यकर्तालाई मात्र पार्टी सङ्गठनमा सहभागी बनाउनुपर्छ । उपनिवेश देशमा पहिला समाजवादी क्रान्ति गर्ने र पछिमात्र साम्राज्यवादी देशहरूमा समाजवादी क्रान्ति गर्नु आवश्यक छ भन्ने विचार लेनिनको हो ।”
नेमकिपा तार्केश्वर नगर समिति अध्यक्ष श्यामकुमार महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा देशलक्ष्मी महर्जनले पुँजीवादको अन्त्य र समाजवादको उदय दुवै सत्य हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *