कसको तागतमा देश जलायौ ?
- श्रावण १, २०८३
लघु कथा
धर्मलक्ष्मीको लोग्ने असलबहादुर सामाजिक कार्यकर्ता थिए । उनी एउटा ऐतिहासिक र सांस्कृतिक महत्वले भरिपूर्ण मन्दिरको पुनः निर्माण उपभोक्ता समितिमा बसेर काम गर्दै थिए । मन्दिर पुनः निर्माणको बिहान, साँझ निरीक्षण गर्ने र समितिका सहयोगीहरूसँग भेटघाट गर्दै फर्कनु उनको चर्या नै भयो । त्यसो नगरेसम्म उनलाई खाना खाएजस्तो नै हुँदैनथ्यो ।
एक दिनको कुरा हो । असलबहादुर बिहान मन्दिर निर्माण गर्न त्यसको लागि इँटा, माटो, पानी, काठ आदि पुग नपुग हेरेर घर फर्के । भान्छा कोठामा पुगेपछि धर्मलक्ष्मीले एक गिलास तातो दुध दिँदै उनलाई भनिन्, “अरू–अरू ठाउँका यस्तै उपभोक्ता समितिमा बसेका मान्छेले तलब, ज्याला, भत्ता पाउँछ रे ! इँटा, डन्डी, सिमेन्ट, काठजस्ता सामान खान्छ रे । त्यस्तो समितिमा बस्न तछाँडमछाड हुन्छ रे । तिम्रै साथीहरूलाई हेर न । उनीहरू न उपभोक्ता समितिमा बस्या छ, न मन्दिर र पाटी बनाउने काममा नै लाग्या छ । उनीहरूलाई त्यसको केही मतलब छैन । उनीहरू पैसा कमाएर हाम्रै अगाडि कोही करोडपति, कोही अरबपति भए । तिमीले यो उपभोक्ता समितिमा बसेर के पायौ ? न छोराछोरीलाई न काम दिन सक्यौ न यसो लुसुक्क मूल्यवान सामान नै ल्याउन सक्यौ । दिनरात समाज सेवा भनेर लाग्या लाग्यै छ ।”
धर्मलक्ष्मीको लोभ पापको कुरा सुनेपछि असलबहादुरले श्रीमतीलाई सम्झाउँदै भने, “हेर धर्मलक्ष्मी, समाजमा सबै मानिसको सोच तथा विचार एउटै हुँदैन । सबैको यस्तै सोच र काम भएको भए समाज त स्वर्ग नै भइहाल्यो नि । त्यो दिन पनि आउला तर समय लाग्छ । तिमीले भनेजस्तो सोच र लोभ राखेर म उपभोक्ता समितिमा बसेको पनि होइन । त्यस्तो सोच राखेर यदि कसैले काम गर्छ भने त्यो एक प्रकारको पाप नै हो । मानिसले नामबाहेक मरेर लानु केही छैन । जुन हाम्रा पुर्खाहरूले गरे । त्यसमा बसेर मैले दुइटा कुरा पाउँछु । पहिलो, हाम्रा पुर्खाहरूले निःस्वार्थ र त्याग गरेर बनाएका सांस्कृतिकरूपले अति महत्वपूर्ण हाम्रो मौलिक सम्पदाको संरक्षण हुन्छ । दोस्रो, मैले नाम र सम्मान पाउँछु । जुन धन सम्पत्तिभन्दा ठूलो र महत्वपूर्ण हुन्छ । हिजो हाम्रा पुर्खाहरूले पाँचतले मन्दिर बनाउँदा आज विश्वमा हाम्रो मान छ, इज्जत छ । त्यसैले संसारका मानिसहरू श्रद्धा र सम्मानका साथ भक्तपुर हेर्न आएका छन् । धर्मलक्ष्मी के त्यस्ता सम्पदा संरक्षण गर्नु हाम्रो कर्म र धर्म होइन र ! त्यसैमा हाम्रो सान हुन्छ, मान हुन्छ । सान तथा मान पैसाले किन्न पाइँदैन । बुझ्यौ ? हाम्रो सम्पदा अरूले होइन हामी आफैँले हाम्रो पौरखले बनाउने हो । तिमीले पाँचतले मन्दिर पुनः निर्माण गरेको आफैले देखेकै छौ ।” त्यसैले उपभोक्ता समितिमा बस्नु भनेको केबल निःस्वार्थ सेवा हो† त्यही धर्म हो भन्दै, सम्झाउँदै असलबहादुर तल कोठामा पत्रिका हेर्नतिर लाग्छ । धर्मलक्ष्मी पनि मनमनै तिम्रो विचार, त्याग, समर्पण धन्य छ भन्दै खुसी भएर लोग्नेलाई मीठो खाना पकाउनतिर लागिन् ।
Leave a Reply