विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
श्रीकृष्ण श्रेष्ठद्वारा लिखित जङ्गबहादुर उपन्यास ज्यादै रोचक लागेको थियो । साँच्चै नै एकचोटि पढेपछि कुनै पनि पाठकले भुल्नै सक्दैन यो उपन्यासलाई ।
पछि उपन्यासकारसँग साक्षात्कार हुने मौका पाउँदा उहाँलाई सोधेको थिएँ, “तपाईँको दोस्रो उपन्यास भीमसेन थापा किन पहिलोजस्तो लोकप्रिय हुन सकेन ?”
उहाँको जवाफ थियो, “जङ्गबहादुर नै त्यस्ता अद्भूत पात्र हुन् जो अन्यत्र पाउन गाह्रो छ ।”
साँच्चै नै, जङ्गबहादुर अचम्मकै विशेषता भएका पात्र हुन् । त्यसो त नेपालमा १०४ वर्षे राणाशासनको जग बसाउने भएका हुँदा उनलाई खासै राम्रो मानिँदैन । तर, हरेक कामकुरामा उनले देखाएको साहसिक, चातुर्यपूर्ण र कूटनीतिक गतिविधिहरू निकै रोमाञ्चक छन् । कतिपय घटनामा उठाएको जोखिम र देखाएको साहस पढ्दा विश्वास गर्न पनि गाह्रो हुन्छ । कोतपर्व, भण्डारखालपर्वजस्ता हिंसात्मक घटनामा क्रममा उनी अलिकति मात्रै चुकेका भए उनको पनि इहलीला समाप्त हुने थियो । यस मानेका उनलाई ‘भाग्यले साथ दिएको’ पनि मान्न सकिन्छ । उनलाई सफल बनाउनचाहिँ उनका भाइहरूको पनि उत्तिकै योगदान छ ।
जङ्गबहादुरको खास नाम त वीरनरसिंह कुँवर थियो । उनको रिसाउने स्वभावका कारण मामा माथवरसिंह थापाले ‘जङ्गे’ भनेका थिए । पछि त्यही नाम चल्न थाल्यो । गरिबीका कारण जे पनि गर्न तयार जङ्गबहादुरले तराईमा जङ्गली हात्ती पक्डने काममा सफलता पाएका थिए । त्यही भएर उनलाई सुरेन्द्रजस्ता उद्दण्ड र सनकी राजकुमारको हेरविचार गर्ने काम दिइयो । ती नै युवराज सुरेन्द्रको मनोरञ्जनका लागि उनले बाह्रवर्षे इनारमा हाम्फालेका थिए । वर्षामासको त्रिशूली नदीमा घोडासहित हाम्फालेका थिए । दुनियाँमा यस्तो करलाग्दी ‘आत्महत्याको काम’ कसले गर्न सक्छ ?
समयको आवश्यकताअनुरूप उनले नेपाललाई दिएको अमूल्य योगदान कसैले पनि बिर्सनु हुँदैन । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले सेनाको सङ्ख्या बढाएर तिनलाई सुविधा दिने काम थालेका थिए । त्यसलाई निरन्तरता दिँदै भीमसेन थापाले सेनालाई व्यवस्थित बनाई सुदृढीकरण गरेका थिए । त्यसपछि त्यो काम जङ्गबहादुरले गरे । यस अर्थमा नेपालको सैनिक इतिहास उनीसँगै जोडिएको छ । उनकै नामबाट नेपाली सैनिक अड्डा, ‘जङ्गी अड्डा’ भयो । सैनिकले लगाउने पोशाक ‘जङ्गी पोशाक’ भयो । उनकै पहलमा, देशको रक्षाका लागि दुई वर्ष लगाएर गाडिएका २५२ ओटा खाँबाहरू गाडी ‘जङ्गे पिलर’का रूपमा प्रसिद्ध छन् ।
कुनै बेला रेडियो नेपालमा काम गर्ने सुमधुर स्वरका धनी पाण्डव सुनुवार, ‘चौतारी’ र ‘फोन इङ’जस्ता लोकप्रिय कार्यक्रम पनि चलाउँथे । उनको अनुहार भने खासै राम्रो थिएन । त्यसैले एउटा उखानै बनेको थियो, “अनुहार न दनुवार, पाण्डव सुनुवार ।” यसैगरी जङ्गबहादुरको छिटो रिसाउने स्वभावबाट ‘रिसाउनु’को पर्यायवाची शब्द ‘जङ्गिनु’ बन्न पुग्यो । उनको जस्तो झडङ्गे रिस उठ्नेलाई ‘जङ्गे स्वभावको’ भन्न थालियो । त्यतिमात्र होइन, निकै ठूलो र अग्लो रूखलाई ‘अजङ्गको रूख’ भन्ने गरिएको छ ।
नेपालीमा मात्र होइन, अन्तर्राष्ट्रिय भाषाका रूपमा परिचित अङ्ग्रेजी भाषामा समेत जङ्गबहादुरको नामबाट नयाँ शब्द बनेको छ—‘टिप्स’ ।
भनिन्छ—जङ्गबहादुर बेलायत यात्राको क्रममा लन्डन पुगेपछि त्यहाँ उनलाई भव्य स्वागत गरियो । तोपको सलामी दिइयो । विशेष आसनमा राखियो । युवतीहरूलाई नचाइयो । तिनीहरूको अनौठो कपडा र सिँगारपटारसहितको नाच जङ्गबहादुरलाई रमाइलो लागेछ । उनले, नाचिरहेका युवतीतिर सुनका असर्फी फालेछन् ! नाच्दानाच्दै त्यसरी आफूतिर असर्फी फालिँदा युवतीहरूलाई चाहिँ अनौठो लागेछ । आफ्नो नाचमा केही गल्ती पो भयो कि भन्ठानेर तिनीहरू डराउँदै एकैछिन रोकिएछन् । यो कुरा बुझेका जङ्गबहादुरले हातको इशारा गर्दै भनेछन्, “ठिक छ ! टिप ! टिप !!” बल्ल खुसी भएर युवतीहरूले असर्फी टिपेछन् । आजकल यो शब्द (टिप्स) अङ्ग्रेजीमा, ‘होटल, रेष्टुराँ आदिका कामदारलाई ग्राहकले दिने बक्सिस’का रूपमा प्रयोग हुन्छ । जङ्गबहादुरका कारण अङ्ग्रेजीमा थपिएको यो शब्द नेपालीमा पनि लोकप्रिय भएको छ ।
नेपाल एकीकरणको थालनी पृथ्वीनारायण शाहबाट थालिएको थियो । त्यसलाई निरन्तरता दिने काम बहादुर शाहको नेतृत्वमा सफल भयो । तर, पछि भीमसेन थापाको पालामा भएको सुगौली सन्धिबाट ‘ग्रेटर नेपाल’ खुम्चिन पुग्यो । अङ्ग्रेजलाई खुसी पारेका कारण पछि जङ्गबहादुरकै कारण, नेपाल–अङ्ग्रेज युद्धमा नेपालले गुमाएकोमध्ये ९२०७ वर्ग किलोमिटर भूमि (नयाँ मुलुकका रूपमा चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) फिर्ता आयो । यति हुँदाहुँदै पनि भूभाग गुमाउने भीमसेन थापालाई राष्ट्रिय विभूति घोषणा गरिँदा जङ्गबहादुरप्रति न्याय गरिएन भन्ने विश्लेषकहरू पनि छन् ।
हाम्रो गौरवमय इतिहासलाई हामीले बिर्सन हुँदैन । नेपाल विगतमा कसैको पनि गुलाम बनेन । कसैको उपनिवेश भएन । यसको अचल झण्डा विश्वभरि चर्चित भयो । हिमालको काखमा नेपाल होइन, नेपालको काखमा हिमाल बसेर इज्जत दिइरह्यो । यो प्यारो देश भूपरिवेष्टित भए पनि, यहाँ सयौँ नदीनाला बग्छन् । ती बग्दै गएर समुन्द्रमा पुग्दा भूपरिवेष्टितको सिमाना नै मेटाउँछन् । यस्तो गौरवमय देशको गौरव अक्षुण्ण राख्ने एकजना विशिष्ट पात्र जङ्गबहादुर पनि हुन् ।
स्मरणीय छ—४ मार्च १८१६ ,तदनुसार २० मङ्सिर १८७२ को सुगौली सन्धिले गुमेको भूभाग ४० वर्षपछि भारतमा उठेको सिपाही विद्रोह दबाउने काम जङ्गबहादुरले खटाएको नेतृत्वको पल्टनले गरिदिएको थियो । त्यस्तो साहसी कामबाट खुसी भएर बृटिश सरकारले नेपालको यो गुण कसरी तिरूँ भन्ने कुरामा विशेष छलफल गरेपछि नेपाललाई सुगौली सन्धिले कायम गरिदिएको १,३७,९७४ वर्ग किमी क्षेत्रफलमा ९२०७ वर्ग किलोमिटर थपिदिई १,४७,१८१ बर्ग किमी पु¥याइदिएको थियो ।
यो कुरा बुझेर पनि बुझ पचाउने कसैले नेपालका लागि जङ्गबहादुरको देन के थियो भन्छ भने उसलाई विश्वमा आजसम्म स्वतन्त्र रहेका ९२०७ किमी क्षेत्रफल भएका २९ ओटा देशबारे सम्झाइदिनुपर्छ । यतिखेर त्यही सुगौली सन्धिले नेपालको सार्वभौमिकता स्वीकारेको ३७००० हेक्टर अर्थात् ३७० वर्ग किलोमिटर क्षेत्रफल भएको लिपुलेक ,कालापानी र लिम्पियाधुरा भारतले अतिक्रमण गरिराखेको छ । अब त्यो भूभाग यो गणतन्त्रले फिर्ता गरेर लिन सक्छ ? यतिमात्र होइन, भारतले सिमाना अतिक्रमण गरिराखेको ६० हजार हेक्टरभन्दा बढी जमिन नेपाली भूमिपुत्रहरूलाई उपभोग गराउन सक्छ ? कुनै बेला निर्यातमा नाम कमाएको देश आत्मनिर्भरको बाटोमा हिंड्न सक्ला ? अहिलेका ‘छलाङवादी’, ‘सङ्घीयता बलियो बनाउने’, ‘प्रतिगमनलाई उठ्नै नदिने’ विशेषता भएका शासकहरू नै जान्लान् । तैपनि यो विश्वमा ३७० वर्ग किलोमिटरभन्दा सानो क्षेत्रफल भएका मुलुक ११ वटा रहेका छन् भन्ने कुरा प्रत्येक नेपालीले बुझ्न सके जङ्गबहादुरप्रति सबै नेपालीको शिर श्रद्धावत् निहुरिने थियो ।
Leave a Reply