राज्यस्तरको षड्यन्त्र ‘भक्तपुर काण्ड’
- भाद्र ६, २०८३
लेखक इन्द्रकुमार श्रेष्ठको लेख ‘अद्भूत र देशभक्त पात्र जङ्गबहादुर’ मा ध्यान गयो । उहाँको अनुभवजस्तै अर्को अनुभव पनि छ । चित्तरञ्जन नेपालीको पुस्तक ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ जति लोकप्रिय भयो जङ्गबहादुरको विषयमा उहाँले नै लेखेको पुस्तकले त्यति चर्चा पाएन । इतिहासमा कुनै व्यक्तिको स्थान उसले निजी तवरमा गर्ने ‘लीला’ ले भन्दा उसले तत्कालीन समाजको उत्पादन सम्बन्धमा के–कस्तो परिवर्तन ल्यायो, त्यसले तय गर्छ । यो इतिहाससम्बन्धी माक्र्सवादी बुझाइ हो । लेखक श्रेष्ठले यो कोणबाट पनि जङ्गबहादुरको मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।
बेलायतमा सम्पन्न औद्योगिक क्रान्तिले साम्राज्य विस्तारमा उसलाई घच्घच्यायो । इस्ट इन्डिया कम्पनी साम्राज्य निर्माणको चरणमा बेलायतमा बनेको एउटा ज्वाइन्ट स्टक कम्पनी थियो । उपनिवेश फैलाउन बेलायतीहरूले साम, दाम, दण्ड र भेद सबै नीति अख्तियार गरे । यी नीतिको प्रयोग गरेर अङ्ग्रेजहरूले भारतका ५०० भन्दा बढी स–साना राज्यहरू निले । अङ्ग्रेजहरूलाई ‘खुसी पार्ने’ वा ‘रिझाउने’ नीति लिएका कतिपय नेपालभन्दा पनि ठूला भारतीय राज्यहरू सजिलै अङ्ग्रेजका गुलाम बने । साम्राज्यवादविरोधी सङ्घर्षहरू इतिहासमा न्यायपूर्ण सङ्घर्षको रूपमा दर्ज छन् । यस अर्थमा नेपालका प्रधानमन्त्री भीमसेन थापाको स्थान उच्च रहेको स्वयम् तत्कालीन अङ्ग्रेज रेजिडेन्ट ब्रायन हडसनले स्वीकारेका छन् । हडसनले बेलायतको साम्राज्यवादी नीति बुझेका र त्यसविरूद्ध अडान लिने नेताको रूपमा नेपालका भीमसेन थापा र पञ्जाबका रणजीत सिंहको तारिफ गरेका छन् ।
आफूले उपनिवेश बनाउन खोजेका वा उपनिवेश बनाइसकेका देशमा देशभक्त नेताहरूले शिर उठाउनु बेलायती साम्राज्यवादलाई कहिल्यै सह्य भएन । संसारका धेरै देशभक्त नेताहरूको हत्यापछाडि साम्राज्यवादी षड्यन्त्र पाइन्छ । त्यस्तै ती देशभक्त नेताहरूलाई खतम पारेपछि साम्राज्यवादीहरूले आफ्ना अनुचरहरू स्थापित गरेका पनि धेरै उदाहरण छन् । जस्तो, हाइटीमा तुसाँ लुबेयरतेयर मारिए । साम्राज्यवादीहरूले चिलीमा साल्भाडोर एयेन्डलाई मारे, जनरल पिनोचे सत्तासीन भए । कंगोमा प्याट्रिस लुमुम्बालाई मारेर कासाभुबुलाई सत्तामा ल्याए । दक्षिण अफ्रिकामा क्रिस हानी मारिए । लिबियाका देशभक्त मुअमर गद्दाफी मारिए । साम्राज्यवादको चाकडी गरेको भए गद्दाफीको त्यो गति हुने थिएन । उनको पनि न्युयोर्क र लन्डनमा धुमधामले स्वागत हुनसक्थ्यो ।
लेखकले कोतपर्व र भण्डारखाल पर्वमा जङ्गबहादुर र उनका भाइहरूको बहादुरीबारे जे लेख्नुभएको छ, त्यो फगत बहादुरी थिएन, भयानक षड्यन्त्र थियो । त्यसमा बेलायती रेजिडेन्सीले पूर्ण सहयोग गरेको विद्वान हृषिकेश शाहले लेख्नुभएको छ । भीमसेन थापा र उनका भतिज माथवरसिंह थापाले स्थापित गरेको नेपालको देशभक्तिको परम्परा नष्ट गर्ने पात्र हुन् जङ्गबहादुर राणा । यसको लागि जङ्गबहादुर राणा आफैले मामा पर्ने माथवरसिंह थापाको हत्या गरे र अङ्ग्रेजहरूलाई खुसी पारे । देशभक्तहरूको हत्या गरेर साम्राज्यवादी र विदेशीहरूलाई खुसी पार्नेहरू कसरी देशभक्त हुनसक्छन् ? विद्वान लेखक इन्द्रकुमार श्रेष्ठलाई एउटा सामान्य प्रश्न ।
बेलायतमा जङ्गबहादुरले देखाएको सामन्ती ‘लीला’ लाई त्यसबेला त्यही बसोबास गरिरहनुभएका कार्ल माक्र्सले नजिकबाट नियाल्नुभएको थियो । अङ्ग्रेज सेनाभित्र सन् १९५७ को गदर (विद्रोह) मा उत्रिने भारतीय देशभक्त सैनिकहरूको हत्या गर्न जङ्गबहादुर राणा फौज लिएर गए । बेलायती साम्राज्यको सेवामा नेपाली युवाहरूलाई संसारका कुनाकाप्चामा गई देशभक्तहरूको हत्या गर्ने परम्परा जङ्गबहादुरबाटै सुरू भएको हो । यहीनिर जङ्गबहादुरको ‘जङ्गीपन’ को सक्कली चरित्र उदाङ्गो हुन्छ । भारतीय सिपाही विद्रोहको मिहीन अध्ययन गर्नुभएका र बेलायतमा जङ्गबहादुरको तुच्छतम् चाकडी देख्नुभएका कार्ल माक्र्सले यसै कारण उनलाई ‘बेलायतको कुकुर’ भन्नुभएको थियो । यो सुनेर नेपाली कामदार जनताले टाउको दुखाउनुपर्ने कुनै कारण छैन । विदेशी रिझाउँदै आएका शासकहरूलाई अलि खल्लो लाग्नु स्वाभाविक छ । आफ्ना शासकको गलत चरित्रको सिको जनताले पनि गर्नुपर्छ भन्ने छैन ।
जुनसुकै शासकले आफ्नो गद्दी जोगाउन खोज्छ नै । देशै नरहे कसरी त्यसको शासक कहलिने ? यस अर्थमा ‘बरू पञ्चायत त्याग्छु, भारतसँग असमान सन्धि गर्दिन’ भन्ने वीरेन्द्र हुन् वा शान्तिपूर्वक सत्ता छोड्ने ज्ञानेन्द्र हुन्, सबैलाई देशभक्त भन्नुपर्ने हुन्छ । तर, आफ्नो सत्ता जोगाउन नै अङ्ग्रेजको चाकडी गर्ने जङ्गबहादुर र नेपालबाट मात्र होइन समग्र एसियाबाट बेलायती साम्राज्यवादका पञ्जा काट्न खोज्ने भीमसेन थापाको तुलना हुन सक्दैन ।
जहाँसम्म जङ्गबहादुरले नेपालमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला थपेको प्रसङ्ग छ, अवधकी रानी बेगम हजरत महल जङ्गबहादुरभन्दा धेरै दूरदर्शी र बहादुर देखिन्छिन् । उनले सँगै मिलेर अङ्ग्रेजहरूलाई खेद्न र नेपालले गुमाएका ‘सम्पूर्ण भूभाग’ फिर्ता लिने बुद्धिसहितको एउटा पत्र जङ्गबहादुरलाई पठाएकी थिइन् । त्यो पत्र जङ्गबहादुरले पाएनन्, त्यो अर्कै कुरा हो । तर, उनले हजरत महलले जत्ति पनि बुद्धि लगाउन नसकेको साँचो हो । यस मानेमा भीमसेन थापा कता हो कता बुद्धिमान देखिन्छन् । उनले अङ्ग्रेजहरू फ्रान्ससँगको युद्धमा अलमलिरहेको बेला भारतबाट अङ्ग्रेजहरूलाई लखेट्ने योजना बुनेका थिए । यस मानेमा भीमसेन थापा ‘स्वाभिमान’ का स्तम्भ हुन् ।
फेरि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला भारतीय देशभक्तहरूलाई मार्न र दबाउन खटिएबापत जङ्गबहादुरले पाएको ‘टिप्स’ (बक्सिस) थिए । ‘गोर्खाली’ हरूले बेलायती सेनामा पाउने ‘भिक्टोरिया क्रस’ जस्तो । टिप्स पाउनेलाई ‘देशभक्त’ वा ‘बहादुरी’ गरेको भन्न शब्दकोशले नदेला । त्यसो भने संसारमा साम्राज्यवादीहरूको चाकडी गरी देशको निम्ति केही न केही बक्सिस थाप्ने चाकडीबाजहरूलाई पनि ‘देशभक्ति’ को तक्मा लगाइदिनुपर्ने हुन्छ । देशलाई साम्राज्यवादीहरूको तखतमा राखेर राजगद्दी जोगाउने कश्मीरका राजाहरू हुन् वा बङ्गालका मीरकासिम, दुवैलाई देशभक्त भन्नुपर्ने हुन्छ । दक्षिण कोरियाका सिङमन री र भियतनामका थ्युकीलाई सम्मान गर्नुपर्ने हुन्छ । भीमसेन थापालाई दुत्कार्नेहरूको तर्क मान्ने हो भने अमेरिकी साम्राज्यवादविरूद्ध लड्न साहस गर्ने हो चि मिन्ह र भियतनामी जनतालाई दुत्कार्नुपर्ने हुन्छ । सानो देश भएर पनि साम्राज्यवादको विरोध गर्ने ? यो मानसिकता नेपालका कतिपय शासकको मानसिकता बन्दै आएको छ, जून गलत छ ।
यदुनाथ खनाललगायतले कूटनीतिक माध्यमबाट नेपाल–चीन सीमाबाट १८ भारतीय चौकी हटाएको घटनालाई इतिहासमा ‘देशभक्ति’ भन्न मिल्छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई त्यसरी नै नेपालमा ल्याउन सकिन्छ । यसको लागि नेपाली शासकहरूले आधुनिक ‘जङ्गबहादुर’ बन्न छोड्नुपर्छ, ‘जङ्गी’ लयमा हिनहिनाउन छोड्नुपर्छ ।
Leave a Reply