भर्खरै :

युक्रेनमा सोभियत सङ्घको छाप मेटाउन नाजीहरूलाई ल्याइएको हो – १

युक्रेनमा सोभियत सङ्घको छाप मेटाउन नाजीहरूलाई ल्याइएको हो – १

(ओरिनोको ट्रिब्युनमा लेख्ने सहेली चौधरीलाई दिएको अन्तर्वार्तामा युक्रेनी कम्युनिस्ट सङ्गठक दिमित्री कोभालेभिचले समकालीन युक्रेनी इतिहासको एउटा महत्वपूर्ण पाटो उजागर गरे । सोभियत सङ्घको विघटनपछि प्रत्येक युक्रेनी सरकारले नवनाजी विचारधारालाई मलजल गर्दै आएका छन् । युक्रेनी जनताको साझा स्मृतिमा सोभियत सङ्घको लोककल्याणकारी राज्य ताजा थियो । त्यसलाई मेट्न नै यस्तो मलजल भएको थियो ।
युक्रेनमा नाजी विचारधाराको उपस्थितिबारे कोभालेभिचले भने, “सोभियत सङ्घको विघटनपछि बनेका सबै सरकारहरूले राष्ट्रवादी र नवनाजी समूहहरूलाई मूलधारमा ल्याए । विघटित सोभियत सङ्घमा निःशुल्क स्वास्थ्य सेवा, शिक्षा, कामदारहरूको लागि निःशुल्क आवासको बन्दोबस्त, बिदामा देशका विभिन्न भागमा रहेका रिसोर्ट (आरामगृह) र बिदाघरहरूमा निःशुल्क भ्रमणको बन्दोबस्त थियो । खाना, ग्यास, बिजुली र सार्वजनिक यातायातको शुल्क नगण्य थियो । यसको सम्झना मेटाउन वा उल्ट्याउन नै युक्रेनी सरकारहरूले व्यवस्थितरूपमा राष्ट्रवादी र नवनाजी समूहहरूलाई बाहिर ल्याएका थिए ।”
जेलेन्स्की सरकारले यो प्रवृत्तिलाई झन् बढावा दिएको कोभालेभिचले बताए । उनले भने, “तिनीहरूले नवनाजी लडाकुहरूलाई धेरै छुट दिए किनभने सत्तामा आउन आफूले हतियारबद्ध पारेको दैत्यसँग तिनीहरू आफै डराएका थिए । आजभोलि त सोभियत तक्मा लगाएमा, कम्युनिस्ट गीतहरू सुनेमा वा हँसिया हथौडाअङ्कित टिसर्ट लगाएमा पनि जेलमा कोच्न थालिएको छ । अधिकांश कम्युनिस्टहरू विद्रोही गणतन्त्र डोनबासतिर बसाइँ सर्दै छन् । त्यहाँ तिनका कम्युनिस्ट पार्टीहरू क्रियाशील छन् । केही त रुस गइसके । कोही भने युक्रेनमै भूमिगतरूपमा काम गर्न रोकिएका छन् ।” कोभालेभिच पछिल्लो कोटीका कम्युनिस्ट सङ्गठक हुन् ।
युक्रेनी नाजीहरूले खुला छुट पाएको कुरा पश्चिमा मिडियाले किन अस्वीकार गर्न खोज्छ भन्ने प्रश्नमा कोभालेभिचले भने, “पश्चिमी देशहरूको लागि युक्रेनी नाजीहरू अहिले धेरै नाफादायी छन् किनभने तिनले रुसीहरूलाई मार्दै छन् । युरोमैदान विद्रोहभन्दा अगाडि पश्चिमी मिडिया र मानव अधिकार अभियन्ताहरूले युक्रेनी नाजीहरू देखेकै थिए र तिनको आलोचना पनि गरेका थिए । तर, युरोमैदान विद्रोहपछि यो आलोचना ठप्प भयो । त्यसपछि पनि युक्रेनमा नाजीहरू नभएका होइनन् तर पश्चिमी मूलधारे मिडियाले आँखा चिम्ले ।”
कोभालेभिचले ओरिनोको ट्रिब्युनसँग मैदान विद्रोह, युक्रेनी राष्ट्रपति जेलेन्स्कीको उदय, युक्रेनमा युद्ध अपराध र मानव अधिकार उल्लङ्घन, देशको आर्थिक दुर्दशा तथा अन्य धेरै विषयमा कुरा गरेका छन् ।)
सहेली चौधरी : २०१४ को विद्रोहमा तपाईँको अनुभव कस्तो रह्यो ? त्यसबेला युक्रेनी कम्युनिस्ट सङ्गठनहरूमाथि बन्देज लागेका खबरहरू पनि आएका थिए । ती सङ्गठनहरू कुन–कुन थिए ? जेलेन्स्की विजयी भएको निर्वाचनपछि वा रुसी हस्तक्षेपपछि केही स्थितिमा सुधार आयो कि ?

दिमित्री कोभालेभिच : त्यसबेला युक्रेनमा कम्युनिस्ट सङ्गठनहरू अलि कमजोर थिए । सबैभन्दा ठूलो युक्रेनी कम्युनिस्ट पार्टी थियो । सन् २०१४ मा त्यसको संसदीय मोर्चा पनि थियो । उच्चाटलाग्दा प्रतिवेदनहरू प्रकाशित गर्नेबाहेक भुइँतहमा त्यसले खासै काम गर्थेन । केही ससाना कम्युनिस्ट घटकहरू पनि थिए । तिनीहरू सबैले युरोमैदान विद्रोहको विरोध गरे । यद्यपि, तीमध्ये केहीले युरोपेली युनियनमा मिसिने उदारवादी विचारको पक्ष पनि लिएका थिए । युरोमैदान विद्रोहको लगाम अति दक्षिणपन्थी लडाकुहरूको हातमा थियो । उनीहरूले वामपन्थीजस्ता देखिने कसैलाई पनि छुट दिएनन् । भ्लादिमिर लेनिनको शालिकमाथि प्रहार गर्नु युरोमैदान विद्रोहको महत्वपूर्ण क्षण थियो । त्यस विद्रोहका विरोधीहरू पनि लडाइँका लागि लेनिनकै स्मारकवरपर जम्मा हुन थाले । यसरी भिडन्त सुरु भयो । पछि त्यो गृहयुद्धमा फेरियो र २०२२ को रुसी सैन्य कारबाहीको ढोका खुल्यो । अहिले यसले विश्वव्यापी द्वन्द्वको रूप लिएको छ । तर, सबैथोक लेनिनका स्मारकहरूमुनि र तिनै स्मारकहरूको लागि सुरु भएको थियो । सुरुआती दिनमा दुवै पक्षबाट मर्नेहरू लेनिनका स्मारकहरूकै अगाडि मरेका थिए ।
विद्रोहपछि राष्ट्रवादी लडाकुहरूले कम्युनिस्ट पार्टीका कार्यालयहरूमा लगातार मारकाट मच्चाए । लगत्तै सन् २०१४ मा कम्युनिस्ट र समाजवादी सङ्गठनहरूमाथि प्रतिबन्ध लगायो । कम्युनिस्ट पार्टी, समाजवादी पार्टी, प्रगतिशील समाजवादी पार्टी, वामपन्थी ब्लक, माक्र्सवादी सङ्गठन बोरोत्बा र युक्रेनी मजदुर पार्टीमा बन्देज लाग्यो । अर्को शब्दमा सम्पूर्ण वामपन्थी दल र समूहहरूका साथै सामाजिक जनवादी दलहरू पनि प्रतिबन्धित भए । कुरा के भने तिनीहरू रुससमर्थक नभए पनि सत्तासीनहरूले माग गरेजत्ति रुसविरोधी वा सोभियत सङ्घविरोधी थिएनन् ।
युक्रेनका नयाँ सत्ताधारीहरूले नवनाजी लडाकुहरूलाई सबैखाले छुट दिएका थिए किनभने सत्तामा रहिरहन आफैले हतियारबद्ध गरेको दैत्यसँग तिनीहरू आफै डराउँथे । यद्यपि, सोभियत सङ्घको विघटनपछि बनेका सबै सरकारहरूले राष्ट्रवादी र नवनाजी समूहहरूलाई मूलधारमा ल्याए । विघटित सोभियत सङ्घमा निःशुल्क स्वास्थ्य सेवा, शिक्षा, कामदारहरूको लागि निःशुल्क आवासको बन्दोबस्त, बिदामा देशका विभिन्न भागमा रहेका रिसोर्ट (आरामगृह) र बिदाघरहरूमा निःशुल्क भ्रमणको बन्दोबस्त थियो । खाना, ग्यास, बिजुली र सार्वजनिक यातायातको शुल्क नगण्य थियो । यसको सम्झना मेटाउन नै युक्रेनी सरकारहरूले व्यवस्थितरूपमा राष्ट्रवादी र नवनाजी समूहहरूलाई बाहिर ल्याएका थिए ।
आजभोलि त सोभियत तक्मा लगाएमा, कम्युनिस्ट गीतहरू सुनेमा वा हँसिया हथौडाअङ्कित टिसर्ट लगाएमा पनि जेलमा कोच्न थालिएको छ । अधिकांश कम्युनिस्टहरू विद्रोही गणतन्त्र डोनबासतिर बसाइँ सर्दै छन् । त्यहाँ तिनका कम्युनिस्ट पार्टीहरू क्रियाशील छन् । केही त रुस गइसके । कोही भने युक्रेनमै भूमिगत काम गर्न रोकिएका छन् ।
हाल यही मार्चमा युक्रेनी सुरक्षा निकायले पश्चिम युक्रेनमा पर्ने लेभिभ सहरमा प्रतिबन्धित सोभियत सङ्घको कम्युनिस्ट पार्टीको एउटा समितिका ४५ सदस्यलाई बन्दी बनाएको समाचार आयो । रिपोर्टअनुसार ती सदस्यहरू सबै वयोवृद्ध थिए ।

शान्तिपूर्ण प्रदर्शन भनिएको २०१४ को हिंसात्मक युरोमैदान आन्दोलन

सहेली : पश्चिमी देशका मूलधारे मिडिया र राजनीतिक वृत्तमा रुसले बिनाकारण युक्रेनमा आक्रमण ग¥यो भन्ने विचार छ्यापछ्याप्ती पाइन्छ । २०२२ मार्च २४ भन्दा अगाडिको सम्पूर्ण घटनाक्रमलाई हाम्रो सामूहिक स्मृतिबाट मेटिएको छ । रुसी हस्तक्षेपभन्दा अगाडि युक्रेनमा के भएको थियो ? रुसको हस्तक्षेपको विषयमा युक्रेनीहरू के सोच्छन् ?

कोभालेभ : २०१४ फेब्रुअरीको विद्रोहमा युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्युत गरेपछि नै रुसलाई चिढाउन थालिएको हो । उनले केही समयलाई युरोपेली युनियनसँग व्यापारसम्बद्ध सम्झौता गर्न नमानेपछि त्यो विद्रोह सुरु भएको थियो । यो एउटा खुला व्यापार सम्झौता थियो । उत्तर अमेरिकामा नेफ्टा सम्झौता भनेजस्तो सम्झौता थियो । मेक्सिकोसँग त्यो सम्झौता गर्दा जापाटिस्टा जनविद्रोह सुरु भएको थियो यहाँ युक्रेनको सरकारले त्यो सम्झौतामा हस्ताक्षर गर्न नमानेपछि रङ्गीन विद्रोह सुरु भयो । यहाँको विद्रोह संरा अमेरिका र युरोपेली युनियनले गराएका थिए । २०१३–१४ तिर युक्रेनमा अमेरिकापक्षधर शक्तिहरूले चुनाव जित्ने सम्भावना नै थिएन । त्यसैले उनीहरूले सत्ताविद्रोहको बाटो रोजे । त्यो विद्रोहको बेला युक्रेनमा अमेरिकापक्षधर उदारवादीहरूले नवनाजी र दक्षिणपन्थी राष्ट्रवादीहरूसँग गठबन्धन गरे । यिनै उदारवादीहरूले प्रजातन्त्रको लागि कथित सङ्घर्ष गरेको तस्बिर बनाए । यो तस्बिर पश्चिमी मिडियाका लागि बनाइएको थियो । जब कि नवनाजी र दक्षिणपन्थी राष्ट्रवादीहरूले आतङ्क मच्चाउँदै थिए ।
कम्ती आधा युक्रेनीहरूले त्यो विद्रोह स्वीकारेनन् र नयाँ सरकारलाई मान्यता दिन अस्वीकार गरे । युक्रेनको दक्षिणी र पूर्वी भेगमा जनविद्रोह भयो । युक्रेनको सेना पनि नयाँ सरकारको आज्ञाकारी बन्न मानेन । त्यसैले तिनीहरूले कारागारहरूबाट अपराधीहरूलाई रिहा गरे र राष्ट्रवादी एवम् नवनाजी गिरोहहरूलाई हतियार दिएर ल्याटिन अमेरिकामा भन्ने गरेजस्तो अर्धसैन्य दस्ताहरू बनाए । धेरै स्थानमा तिनीहरूले जनप्रतिकारलाई क्रुरतापूर्वक दबाउन सफल भए । तिनीहरूलाई क्रिमिया पठाइएन किनभने त्यहाँ जाने सडक निकै साँघुरो छ । तिनीहरूले डोनबास मात्र छिचोल्न सकेनन् किनभने त्यो युक्रेनको खानी क्षेत्र हो र त्यहाँ सर्वहारा अन्तर्राष्ट्रवाद र सोभियत सङ्घपक्षीय भावना सधैँ बलियो रहँदै आएको छ । ती क्षेत्रहरूले आफ्नो स्वतन्त्रता घोषणा गरे । त्यसपछि अमेरिकापक्षीय विद्रोहका धेरै विरोधीहरू युक्रेनका विभिन्न भेगबाट त्यहाँ जम्मा भए ।
नयाँ अमेरिकापक्षीय सरकारले सेना, गुप्तचर निकाय र प्रहरीमा ठूलो पजनी ग¥यो । पुराना अधिकारीहरूको ठाउँमा धेरै अर्धसैन्य राष्ट्रवादीहरूलाई भर्ती ग¥यो र तिनलाई २०१४ को वसन्त याममा विद्रोही खानी क्षेत्रमा पठायो । यसरी सन् २०१४ मा सुरु भएको गृहयुद्ध २०२२ सम्म जारी रह्यो । सन् २०१४ र २०१५ मा मिन्स्क १ र मिन्स्क २ गरेर शान्ति सम्झौतामा हस्ताक्षर गरियो । विद्रोही क्षेत्रहरू युक्रेनमा फर्किने तर तिनको स्वायत्तता कायम रहने अनुमान गरिएको थियो । यद्यपि, नयाँ युक्रेनी सरकार त्यो सम्झौता पालना गर्ने सोचमा थिएन । यसका दुई कारण थिए । एक, संरा अमेरिकालाई रुसी सिमानानजिक एउटा अखडा चाहिएको थियो । अर्को, शक्ति संरचनामा घुसेपछि सरकारमा अर्धसैन्य लडाकु र दक्षिणपन्थी राष्ट्रवादीहरूको पकड बढेको थियो । उनीहरू मिन्स्क सम्झौता कार्यान्वयन गर्ने पक्षमा थिएनन् ।
आठ वर्षसम्म डोनबासका सहरहरूमा लगातार बमबारी गरियो र नियोजितरूपमा ती सहरहरूलाई ध्वस्त पारियो । अहिले पश्चिमा मिडियाहरूले रुसी सेनाले युक्रेनी सहरहरू ध्वस्त पारेको मात्र देख्दै छन् । तर, उनीहरूले जानाजान डोनबासमा लगातार आठ वर्षसम्म भएको हत्याहिंसा र विनाश देख्न आनाकानी गरेका थिए । रुसको विशेष कारबाहीको मुखमै नयाँ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मिन्स्क सम्झौता कार्यान्वयन गर्ने मनसाय नभएको स्पष्ट पारे । उनीमाथि केही दक्षिणपन्थी राष्ट्रवादीहरूको दबाब थियो । पूर्व जर्मन चान्सलर एँगेला मर्केलजस्ता पश्चिमा नेताहरूले पनि द्वन्द्वपछि सार्न र युक्रेनी सेनालाई हतियारले सुसज्जित गर्न नै आफूले मिन्स्क शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्वीकारेका छन् । यति गरे विद्रोही क्षेत्रहरूलाई युक्रेनी सेनाले सजिलै हातमा लिन सक्नेछ भन्ने उनीहरूको अनुमान थियो ।
यस्तो स्थितिमा डोनबासमा नरसंहार मच्चिने र आठ वर्षसम्म मस्कोसँग सहयोग मागिरहेका लाखौँ शरणार्थीहरू रुस जाने स्पष्ट थियो । बुझ्नुपर्ने कुरा के हो भने रुसमा युक्रेनीहरूको सबैभन्दा ठूलो डायस्पोरा छ । रुसमा उनीहरू ६० लाखको हाराहारीमा छन् र कतिपय शक्तिशाली पदमा पनि छन् । युक्रेनीहरूलाई शरण दिन अस्वीकार गरे रुसमा राजनीतिक सङ्कट पैदा हुने थियो । संरा अमेरिका यही चाहन्थ्यो । पश्चिमीहरू खालि अमेरिकापक्षीय युक्रेनी डायस्पोरा मात्र देख्छन् । दुवै डायस्पोराले युक्रेनको पक्षमा कुरा गर्छन् । तर, एउटाले रुसको साथ खोज्छ भने अर्कोले अमेरिका र युरोपेली युनियनको साथ खोज्छ । अहिले रुसी सेनामा कम्तीमा २५ प्रतिशत सैनिक युक्रेनी भेट्न सकिन्छ । युक्रेनी सेनामा पनि रुसी राष्ट्रवादीहरूको पनि आफ्नै पल्टन छ ।
रुसले युक्रेनमा सैन्य कारबाही गर्ने निर्णय लिनुका पछाडि २०२२ फेब्रुअरीमा म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीले दिएको वक्तव्य पनि जिम्मेवार छ । त्यहाँ उनले भावुक हुँदै युक्रेनले आणविक हतियार त्याग्ने विषयमा विचार गर्नुपर्ने र तिनको उत्पादन गर्ने सम्भावना खोज्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *