यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
चार वर्षअघि १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याले देशलाई नै आक्रोशित पारेको थियो । अझैसम्म दोषी भेटिएन । अझैसम्म त्यो आक्रोश शान्त भएको छैन । मनमस्तिष्कबाट निर्मला पन्तको कलिलो मुहार र उनको निश्चल मुस्कान हटिसकेको सायदै कोही सचेत नेपाली होला ।
के बलात्कार एउटा जघन्य अपराध होइन ? नेपाली समाजका मूलधारदेखि सिमान्तकृत वर्गका कसैलाई पनि सोध्नू, नकारात्मक उत्तर कसैले नदेला । कारागारमा सजाय पाइरहेको कैदीले समेत सँगै बस्ने बलात्कारीलाई घृणाको नजरले हेर्छ । समाजका सबै व्यक्तिले बलात्कारलाई एक क्रूर घटना, समाजको असफलता मान्छन् भने अझैसम्म किन बारम्बार बलात्कारको घटना सुन्नु परिरहेको छ त ? बलात्कारको उन्मूलनको लागि मुखले मात्र अस्वीकार गरेर पुग्छ त ? कि अरू पनि केही गर्न आवश्यक छ ?
यस लेखबाट म केही यस्ता प्रश्न गर्नेछु जसको उत्तर नेपाली समाजबाट बलात्कार उन्मूलनको लागि आवश्यक छन् । म यी प्रश्न नेपाली समाजका हरेक पुरुष र महिलासामु राख्छु । एउटै उत्तरमा सबै सहमत नहुनु जायज छ, तर सबैले आत्ममन्थन गरेर यसको उत्तर खोज्न आवश्यक छ । साथै, हामीले कल्पना गरिरहेको बलात्कारमुक्त समाजले यी प्रश्नको उत्तर कसरी देला भनेर पनि सोच्न जरूरी छ ।
चार वर्षअघि बलात्कार पीडितका लागि न्यायको चर्को आवाज उठेको देशमा २ महिनाअघि सामाजिक सञ्जालमा बलात्कार आरोपितको पक्षमा आवाज उठ्यो । विगत ४ वर्षमा हाम्रो समाजले यस्तो के फड्को मार्यो कि सामाजिक सहानुभूति पीडितबाट हटेर आरोपितमा पुग्यो ? कि त यी दुई मुद्दामा केही आधारभूत भिन्नता छन्, जसले गर्दा एउटामा पीडितप्रति दया जाग्यो भने अर्कोमा आरोपितप्रति ? ठ्याक्कै उत्तर म पनि दिन सक्दिनँ तर यसबिच केही घटनाप्रति ध्यानाकर्षण गराउन चाहन्छु जसले उत्तर भेट्टाउन केही सहयोग गर्ला ।
विगत केही वर्षयता हामीसामु धेरै हाइ–प्रोफाइल बलात्कारका मुद्दा आए । आरोपितका रूपमा राजनेता, अभिनेता तथा अन्य चर्चित व्यक्ति देखापरे । यसले गर्दा यी मुद्दा प्रहरीमा जाहेरी परेदेखि सञ्चारमाध्यममा आउन थाले । बलात्कारको संवेदनशीलताका कारण कानुनअनुसार अदालतले मुद्दा नटुङ्ग्याएसम्म पीडित र आरोपित कसैको पनि नाम सार्वजनिक गर्न पाइन्न । अदालतले दोषी ठहर गरेपछि मात्र बलात्कारीको नाम सार्वजनिक हुनुपर्ने हो । तर, चर्चित व्यक्तिको संलग्नताका कारण यो सम्भव भएन । अन्ततः समाजको एक भागले पीडितसित सहानुभूति जनायो भने अर्कोले अभियुक्तसँग । सायद आरोपित चर्चित नभएका भए त्यति जनसमर्थन पाउँदैन थिए । आरोपित थाहा नहुँदा गाली गर्न जति सहज हुन्छ, चिनिरहेका व्यक्तिलाई बलात्कार आरोपितको रूपमा स्वीकार्न त्यति नै असहज हुन्छ ।
धेरैजसो हाइ–प्रोफाइल मुद्दामा अन्त्यमा पीडित आफ्नै वचनबाट पछि हटे । यसका विभिन्न कारण हुन सक्छन् । पीडितको सुरुको आरोपमा सत्यता नहुन सक्छ । आफूले सत्य बोले पनि दोषीसित केही गुप्त सम्झौता गरेको हुनसक्छ । पीडकप्रतिको जनसमर्थन र आफूप्रतिको सामाजिक दोष र प्रत्यारोप संवेदनशील मनस्थितिले सहन नसकेको हुनसक्छ । आफ्नै घरपरिवारको दुरुत्साहनसित हार मानेको हुनसक्छ । कानुनी प्रक्रियाको ढिलासुस्तीले अत्यास लागेको हुनसक्छ । नेपालको सामाजिक परिवेश बुझ्नेले यीमध्ये कुनैलाई पनि असम्भव भन्दैन । तर, नेपालको पितृसत्तात्मक सोचले पीडितले वचन फेर्नुको कारण उनको असत्य आरोप लगाएको, आरोपितबाट उनले आर्थिक सहयोग लिएको हुनसक्ने मात्र देख्यो । सजिलै पीडितलाई मानहानिको दोषी र आरोपितलाई निर्दोषको भूमिकामा राख्यो ।
के कुनै कार्य अपरिचित व्यक्तिले गरे अपराध र परिचितले गरे स्वीकार्य हुने हो ? हाम्रो समाजमा किन बलात्कार पीडितले सामाजिक बहिष्कार सहनुपर्छ ? एउटा बलात्कार पीडितलाई उनको मुद्दा टुङ्गो नलागेसम्म हाम्रो समाजले किन समवेदना पनि दिन सक्दैन ? चार वर्षअघि बङ्गलादेशमा एउटी १९ वर्षीया युवतीले आफ्नो शिक्षकविरूद्ध दायर गरेको यौन दुव्र्यवहारको मुद्दा फिर्ता लिन अस्वीकार गरेपछि उनलाई १६ जना मिलेर जिउँदै जलाइदिए । यसमा यौन दुव्र्यवहार गर्ने मात्र नभई पीडितलाई तर्साएर मार्ने सबै दोषी छन् । नेपाली समाज पनि यही दिशामा त गइरहेको छैन ? एउटा पीडितलाई भयको कारणले न्यायबाट वञ्चित हुन नदिन हाम्रो समाजले के गर्नुपर्छ ?
यीबाहेक विगतका वर्षमा अमेरिकादेखि भारतको बाटो हुँदै ‘मी टू मुभमेन्ट’ पनि नेपाल भित्रियो । नेपाली जीवनका उच्च स्थानहरूमा पुगेका महिलाले पनि कार्यस्थलमा भोगेको यौन दुव्र्यवहारका विषयमा आवाज उठाए । प्रहरीमा उजुरी गर्ने धेरै नभए पनि केही चर्चित र ठूला व्यक्तिहरूको नाम मुछियो । सायद यीमध्ये कोही निर्दोष पनि थिए । तर, हाइ–प्रोफाइल बलात्कारको मुद्दामा जस्तै यी नाम पनि सञ्चारमाध्यममा आउन पाएको छैन, एक टोलीले पीडितको पक्ष र अर्कोले आरोपितको पक्ष लिन थाल्यो ।
यी दुई प्रकारका मुद्दामा अर्को के समानता छ भने यी सबैमा पीडित हाम्रो जनमानसमा अङ्कित बलात्कार पीडितजस्ता छैनन् । हामीले बलात्कार पीडितको एउटा मानसिक चित्र (स्टेरियोटाइप) बनाएका छौँ । हाम्रो स्टेरियोटाइपअनुसार बलात्कार भएपछि पीडित कमजोर हुन्छिन् । सामाजिक लाञ्छना लाग्ने डरले घरबाट बाहिर निस्किन्निन्, आफूसित भएको घटना लुकाउँछिन् । तर, यी मुद्दामा पीडितहरू हाम्रा स्टेरियोटाइपविपरीत गए । उनीहरूले डराउन मानेनन् । आफूसित भएका घटनालाई पछाडि राख्दै जीवनमा अगाडि बढे । केहीले प्रहरीमा उजुरीसम्म दिए । हाम्रा स्टेरियोटाइपजस्ता नहुनाले यिनलाई बलात्कार पीडित भनेर हामीलाई स्वीकार्नै गा¥हो भयो । हामीले तिनीहरू त पीडित नै हैनन् भन्ने निष्कर्ष निकाल्यौँ । तिनले भनेको घटना भएकै थिएन भन्यौँ ।
के बलात्कारपछि पनि बाँच्नु पीडितको अपराध हो ? तिनले आफ्नो जीवनलाई एउटै घटनाले परिभाषित नगर्नु गलत हो ? के हाम्रो समाजलाई पीडितले आफ्नो मृत्युले आफूमाथि भएको बलात्कारको प्रमाण दिनुपर्ने हो ?
सामाजिक मनस्थितिमा सामाजिक सञ्जालले पनि नकारात्मक असर पारेको छ । सामाजिक सञ्जालले मानिसलाई गुमनाम हुने सुविधा दिन्छ जुन हाम्रो दैनिक जीवनमा सम्भव छैन । सामाजिक सञ्जालमा म मेरो वास्तविकताभन्दा भिन्न एउटा पहिचान बनाउन सक्छु । यसले मेरो वास्तविक र सामाजिक सञ्जालको क्रियाकलापलाई छुट्याउँछ । दैनिक जीवनमा मैले गर्ने कार्यप्रति म उत्तरदायी हुन्छु, मेरो कार्यको परिणाम मैले भोग्नुपर्छ । सामाजिक सञ्जालको विशेषता यस्तो छ कि यसले मेरो क्रियाकलापबाट मेरो उत्तरदायित्व हटाउन सक्छ । यसैकारण, मानिस सामाजिक सञ्जालमा जति क्रूर हुन्छन्, त्यति वास्तविक जीवनमा हुन सक्दैनन् । फेसबुकका कमेन्ट, ट्विटरका ट्विट इत्यादिमा झल्किने हिंसात्मक भावनाका साक्षी हामी सबै छौँ ।
केही दिनअघि सामाजिक सञ्जालमा एउटा पोस्ट देखेकी थिएँ । नाम स्पष्टरूपमा नक्कली नै प्रयोग भएको थियो । ‘कानुनभन्दा माथि देश हुन्छ’ भन्ने वाक्यबाट सुरु भएको थियो त्यो पोस्ट । अन्तसम्म पढ्दा त्यसको मूल भाव के थियो भने देशको लागि धेरै योगदान गर्नुभएका नागरिकले कुनै अपराध गरे सजाय दिनु हुँदैन । उहाँलाई वास्तविकतासँग सरोकार थिएन । यहाँको विचारमा कानुनभन्दा अगाडि व्यक्ति आउँछन् ।
नेपालको संविधान २०४७ सम्म श्री ५ लाई कानुनको माथि राखिन्थ्यो । त्यतिबेला पनि नमिता सुनिता हत्याकाण्ड भएकै थियो । जनआन्दोलनले राजसत्ता हटाएपछिको अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ ले भने नेपालमा पूर्णतया कानुनी शासन स्थापना गर्यो । अर्थात्, हरेक नेपाली नागरिक संविधान र कानुनप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था भयो । माथि भनिएका व्यक्तिको आशय के हामीले राजाको स्थानमा अब हजारौँ व्यक्तिलाई कानुनमाथि राख्नुपर्ने हो ? या त देशप्रतिको योगदानको मूल्य देशका चेलीबेटीका शरीरले तिर्नुपर्ने हो ? भोलि गएर तिनले आफ्ना परिवारका चेलीबेटीसित पनि यही अपेक्षा गर्छन् त ? सामाजिक सञ्जालमा आफ्नो नाम लुकाएर भन्न त सजिलो छ । तर, सोही कुरा आफ्ना घरका महिलाका अगाडि भन्ने साहस होला तिनको ?
के सबै आरोपित दोषी हुन्छन् ? कदापि हुँदैनन् । ‘इनोसेन्ट अन्टिल प्रुभन गिल्टि’ ः अर्थात् अदालतले दोषी ठहर नगरेसम्म हरेक आरोपितलाई निर्दोष मान्नुपर्छ । विश्वका धेरै न्यायपालिका यही सिद्धान्तमा चलेका हुन्छन् । नेपालको संविधान २०७२ को धारा २० को उपधारा ५ ले यसको अनुमोदन गरेकै पनि छ । मैले व्यक्तिगत रिसईबि साँध्न कसैमाथि आरोप लाउँदैमा उनलाई दोषी मान्नु उचित हुन्न । सोही तर्कअनुसार के अदालतले झूटो ठहर नगरी पीडितलाई झूटो मान्नु उचित हो त ?
सन् २०२१ मा विश्व स्वास्थ्य सङ्गठनले गरेको अध्ययनअनुसार विश्वमा ३ जनामध्ये १ महिलाले आफ्नो जीवनकालमा शारीरिक वा यौनिक यातना सहने गरेका छन् । सोही बराबर ३ मध्ये १ पुरुषले यातनाको झूटो आरोप सहनुपरेको छ । तथ्याङ्कअनुसार जाने भए हरेक आरोपमा पुरूषलाई स्वतः दोषी मान्नुपर्ने हुन्छ । तर, बलात्कारजस्तो जघन्य अपराधको दोष कसैलाई पनि तथ्याङ्कको आधारमा लगाउन मिल्दैन । १,००० मा ९९९ आरोपित दोषी भए पनि त्यो एकजना निर्दोष आरोपितको रक्षा कानुनले गर्नुपर्छ । तर, त्यो एक निर्दोष आरोपितसँग संवेदनशीलता प्रकट गर्नको लागि ९९९ जना पीडितहरूप्रति कठोर हुनैपर्ने हो त ?
एउटा तथ्याङ्कले आश्चर्यचकित पार्ला । दुर्भाग्यवश यो सत्य हो । बाल न्याय समन्वय समितिले २०७१ मा निकालेको प्रतिवेदनअनुसार वि. सं. २०६२÷६३ देखि २०७०÷७१ सम्मको ८ वर्षे अन्तरालमा नेपालमा दर्ता भएका बालबिज्याँइमध्ये सबैभन्दा बढी गरिने कृत्य नै जबरजस्ती करणी (अर्थात् बलात्कार) हो । कुल २३६ बलात्कारका मुद्दा दर्ता भए । त्यसपछिको सबैभन्दा बढी गरिने कृत्यः चोरी† कूल ६५ चोरीका मुद्दा दर्ता भए ।
यसले अझै पनि हाम्रो समाजको क्रूर सत्य झल्काउँदैन । १६ वर्षमुनिका बालकले गर्ने यी कुकृत्यका शिकार प्रायः १० वर्षमुनिका बालिका हुन्छन् । कति मुद्दामा बलात्कारका प्रत्यक्ष साक्षी हुँदा पनि पीडितका बाबुले जाहेरी दर्ता गर्न मानेनन् । अरू कसैले जाहेरी गरेर मुद्दा अदालतमा पुग्दा पनि बलात्कार भएको अस्वीकार गरेका छन् । सत्य खोतल्दै जाने हो भने कति बालिका होलान्, जसमाथि भएको जघन्य अपराधको साक्षी कोही थिएनन् र जसका घर परिवारले घटनालाई दबाए ।
हाम्रो समाजमा हुने यौन दुव्र्यवहारको सत्य बुझ्ने साहस भए आफ्ना मित्र, प्रेमिका, श्रीमती, दिदी, बहिनीलाई सोध्नुहोस् । पहिलोपटक कुन उमेरमा उनलाई अरूको बद्नियतपूर्ण दृष्टि वा स्पर्श अनुभव भएको थियो ? पहिलोपटक उनको असहजतामा अरूले आफ्ना वासना पूरा कहिले गरेका थिए ? कतिले यो सत्य आजसम्म जन्म दिएकी आमा, बाल्यकाल वा किशोरावस्थासँगै बिताएका साथीलाई समेत नभनेका हुनसक्छन् । असंवेदनशीलताका साथ सोधे सत्य उत्तर आउँदैन ।
आठ वर्षमा २३६ बलात्कारका मुद्दा अर्थात् सामूहिक बलात्कारलाई बिर्सिने हो भने पनि ती आठ वर्षमा २३६ बालकले बलात्कार गरे । यो तथ्याङ्कले ती २३६ बालकको मनस्थितिको मात्र चित्रण गरेको छैन । यो त समाजको असफलताको चित्रण हो । चोरी गर्नु अपराध हो भनी सिकाउन सक्ने समाजले किन बलात्कार गर्नु अपराध हो भनेर सिकाउन सकेन ?
कुनै दिन कुनै अपरिचित पुरुष मेरो अगाडि परे म उनलाई बलात्कारी सोच्दिनँ । मलाई सामान्यतया मानवता र मानवमा विश्वास छ । कुनै पुरुष मित्रले मलाई घर बोलाए त्यही विश्वासका साथ नै म निम्तो स्वीकार्छु । कथम्कदाचित ममाथि बद्नियतपूर्वक उसले ममाथि यौन उत्पीडन गरे, समाजले त्यो घटनालाई कस्तो दृष्टिकोणले हेर्छ ? एउटी महिलाको विश्वास तोडिएको बुझ्छ, कि एक्लै एक पुरुष मित्रको घरमा गएको भनी ममाथि नै आरोप लाउँछ ? यसरी महिलालाई आरोप लाएर समाजले पुरुषमाथि विश्वास गर्नु अपराध हो भनी बुझाउन खोजेकै हो ?
यसरी हेर्दा समाजले मलाई कहिल्यै पुरूषमाथि विश्वास गर्नु हुन्न भनेर सिकाइरहेको छ । मलाई यसमा कदापि विश्वास छैन । के मैले मानवतामा विश्वास गर्नु अनुचित हो ? मनोविज्ञान पढाउने भएर होला मेरा अधिकांश विद्यार्थी महिला छन् । के मेरा विद्यार्थीलाई मैले पनि कुनै पुरुषलाई विश्वास नगर्न सिकाउनुपर्ने हो ? भविष्यमा मेरा सन्तान भए छोरी बलात्कृत हुने र छोरो बलात्कारी हुने डरमा मैले जीवन काट्नुपर्ने हो ? के यो आजीवन डरको अरू कुनै विकल्प छैन ?
बलात्कारको विषयमा हाम्रो समाजले महिला र पुरुषको बिचमा एउटा विभेदको रेखा कोरेको छ । समाजले एक पक्षलाई पीडित र अर्कोलाई स्वतः पीडकको संज्ञा दिएको छ । तर, के यो उचित रेखा हो ? पुरुष हुन् वा महिला, बलात्कारका समर्थक कोही भेटिन्न । बलात्कारको निन्दा सबैले गरे पनि पुरुष र महिला दुवैको सामाजिक व्यवहारले भने बलात्कार र बलात्कारीलाई प्रोत्साहन दिइरहेको छ । के हामी महिला र पुरुषबिचको यो कल्पित रेखा हटाई पीडित र पीडकबिच न्यायको रेखा कोर्न सक्दैनौँ ? बलात्कारी र जस्तोसुकै यातना दिने (पुरुष वा महिला) लाई पीडकको पक्षमा राखी तिनको यातनाका शिकार बन्नुपरेका पुरुष वा महिलालाई पीडितको पक्षमा राख्न सक्दैनौँ ? एउटा बलात्कारीलाई देखाएर हरेक पुरुषलाई बलात्कारी मान्नु अनुचित भएजस्तै एउटी महिलाले झूट बोल्दैमा सबै महिलालाई झूटो भन्नु उचित हुन्न ।
मेरो यो लेखले सायद उत्तरभन्दा बढी प्रश्न दिएको छ । मेरो उद्देश्य उत्तर दिनु पनि थिएन । मैले दिन खोजेको उत्तर कति जनालाई चित्त नबुझ्न सक्छ । तर, उत्तर हामी सबैले निकाल्नुपर्ने हुन्छ । यी प्रश्नको उत्तर दिन नसके बलात्कारमुक्त समाज केबल हाम्रो कल्पनामा सीमित रहनेछ ।
Leave a Reply