भर्खरै :

रुस – अफ्रिकी मुलुकबिचको सम्बन्धमाथि अमेरिकी गिद्देदृष्टि

रुस – अफ्रिकी मुलुकबिचको सम्बन्धमाथि अमेरिकी गिद्देदृष्टि

अमेरिकाले रुस–युक्रेन युद्धमा थप ५० करोड डलरको हतियाररुपी घ्यु थप्ने घोषणा गर्दै गर्दा रुसले अफ्रिकी मुलुकलाई प्रदान गरेको ऋणलाई मिनाहा गर्ने घोषणा गरेको छ । नेडरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुस–युक्रेन युद्धसँग जोडेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न वारेन्ट जारी गरेको सन्दर्भलाई जोडेर रुस र अफ्रिकी मुलुकबिचको सौहार्दपूर्ण सम्बन्धबाट इष्र्यालु भएका अमेरिकालगायत पश्चिमेली मुलुकहरूले अहिले ‘रुसको राष्ट्रपति दक्षिण अफ्रिकामा हुने ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा पक्राउ पर्ने’ भनेर हल्ला चलाइरहेका छन् ।
विश्व व्यवस्थापनलाई आफू अनुकूल व्याख्या गर्ने साम्राज्यवादीहरूले याद गर्नुपर्ने कुरा के हो भने जसरी प्रतिकृयावादी विश्व बैङ्कको विकल्पको रुपमा ब्रिक्स बैङ्क आएको छ, त्यसरी नै निकट भविष्यमै विश्व प्रतिकृयावादको ‘अन्तर्राष्ट्रिय फौजदारी अदालत’ नामको फत्तुरे निकाय पनि ‘हेग’ को विकल्पको रुपमा आउने नै छ । हो, त्यहीँबाट इराक, अफगानिस्तान, सिरिया लिवियामा अमेरिकी साम्राज्यद्वारा मच्चाइएको नरसंहारको सुनुवाइ हुनेछ । मुख्य अपराधी बाबु बुशको मृृत्यु भइसकेकोले छोरा बुशदेखि बाराक ओवामा र बेलायती तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरजस्तालाई यसरी नै वारेन्ट जारी गरिने छ । अमेरिकी डलरलाई विस्थापित गर्न डलरको विकल्पको रुपमा ब्रिक्स बैङ्कले नयाँ मुद्रा जारी गरेपछि संसारमा जहीतही आर्थिक नाकाबन्दी लगाउने अमेरिकाको चेत खुल्नेछ ।
अफ्रिकामा रुसको प्रभाव बढ्ने कुनै पनि घटनाक्रमलाई अमेरिकी नीति निर्माताहरू ब्वाँसाजस्तै चनाखो भएर हेरिरहेका हुन्छन् । रुसले धेरै अफ्रिकी देशहरूसँग घनिष्ठ साझेदारी स्थापना गरेको छ । हालैका वर्षमा रुसले आर्थिक सहयोग बढाएर, सैन्य साझेदारीमा संलग्न भएर र आफ्नो कूटनीतिक उपस्थिति विस्तार गरेर अफ्रिकी राष्ट्रहरूसँगको सम्बन्धलाई बलियो बनाउन खोजेको छ । रूसले प्रायः खाद्यान्न र पूर्वाधार परियोजनाहरूमा लगानी गर्ने गर्दछ । यी कार्यहरूले अमेरिकालगायत केही पश्चिमी देशहरूले रुसको संलग्नतालाई भूराजनीतिक लाभ उठाउन र यस क्षेत्रमा पश्चिमी प्रभावलाई चुनौती दिने प्रयासको रूपमा बुझेर सशङ्कित भएका छन् ।
रुस–युक्रेन युद्धले गर्दा कालो सागरबाट हुने आपूर्ति श्रृङ्खलामा अवरोध आएपछि विश्वमै खाद्यान्न सङ्कटको परिणामस्वरुप खाद्यान्नको मूल्य आकाशिएको छ । जसको कारण विशेषगरी अफ्रिकाजस्ता गरिब मुलुकका जनता यसबाट प्रभावित भएका छन् । यही समस्यालाई सम्बोधन गर्ने अभिप्रायःले रुसले अफ्रिकाको लागि खाद्यान्न आपूर्ति गर्ने विशेष सम्झौता गरेको छ । रुसले विस्तृत रूपमा ‘विशेषगरी खाँचोमा परेका अफ्रिकी देशहरूलाई’ निःशुल्क अन्न आपूर्ति गर्ने भनिएको छ । त्यसैगरी रुसी खाद्यान्न ढुवानीको मुख्य गन्तव्य चीन, स्पेन र टर्की भए पनि आपूर्ति बढेपछि विश्वमा खाद्यान्नको मूल्य घट्ने हुँदा यसबाट अफ्रिकी देशहरू अप्रत्यक्षरूपमा लाभान्वित भएका छन् । तर, अमेरिकालगायत पश्चिमी शक्तिहरूले युक्रेनमा रुसको गतिविधिलाई लिएर कडा आर्थिक प्रतिबन्ध लगाएको हुनाले भुक्तानी र बीमा उद्योगहरूमा ढुवानीको लागि बाधक बनेको छ ।
रूसले अफ्रिकी देशहरूका लागि खाद्य उत्पादन, मल, इन्धन र अन्य उत्पादनहरूको आपूर्तिमा आफ्ना सबै दायित्वहरू इमानदारीपूर्वक पूरा गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकी देशहरूलाई खाद्यान्न, मल, इन्धन र अन्य महत्वपूर्ण उत्पादनहरूको आपूर्तिमा आफ्नो दायित्व पूरा गर्न आफ्नो देशको प्रतिबद्धता दोहो¥याएका छन् । अन्तर्राष्ट्रिय संसदीय सम्मेलन ‘बहुध्रुवीय विश्वमा रसिया–अफ्रिका’ मा बोल्दै पुटिनले महाद्वीपमा खाद्य र ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसले प्रमुख भूमिका खेलिरहेको बताए । रुस र अफ्रिकी राष्ट्रबिचको सम्बन्धलाई मजबुत बनाउने र व्यापार, ऊर्जा, स्वास्थ्य सेवा र शिक्षालगायतका विभिन्न क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले ‘बहुधु्रुवीय विश्वमा रसिया–अफ्रिका’ अन्तर्राष्ट्रिय संसदीय सम्मेलनको आयोजना गरिएको हो । रूसले अफ्रिकी राष्ट्रहरूको २० अर्ब डलरभन्दा बढीको ऋण मिनाहा गरेको छ । रुस र अफ्रिकी राष्ट्रहरूबिचको पारस्परिक व्यापार परिमाण हरेक वर्ष बढ्दै गएको छ र गत वर्षको अन्त्यसम्ममा झन्डै १८ अर्ब डलर पुगेको छ ।
मलहरूको लागि बलियो उत्पादन प्रविधि भएको रूसले अफ्रिकी राष्ट्रहरूलाई निःशुल्क मल आपूर्ति गरेको छ । तर, पश्चिमाहरूले युक्रेन युद्धको नाममा गर्दै आएको विभिन्न किसिमको नाकाबन्दीले अवरोधहरू तेस्र्याएका छन् । यदि मल आपूर्तिमा अवरोध गर्ने अमेरिकी प्रयास जारी रहेमा संसारभरी नै कृषिजन्य वस्तुको उत्पादनमा कमी आई गरिबी झनै बढ्ने सम्भावना रहेको छ । त्यसैगरी युरोपेली देशहरूमा जम्मा भएर रहेका स्रोतहरूको अंश आवश्यक पर्ने देशहरूलाई सित्तैमा आपूर्ति गर्न रुस प्रयासरत छ । यद्यपि, दुर्भाग्यवश अमेरिकालगायत पश्चिमेली मुलुकहरू यस कार्यमा पनि बाधाहरू तेस्याइरहेका छन् ।
प्रशस्त प्राकृतिक स्रोतहरू, बलियो उत्पादन क्षमता र रणनीतिक स्थानसहित धेरै कारणले विश्वमा मलको आपूर्तिमा रूसले महत्वपूर्ण भूमिका खेलेको छ । मल उत्पादनका लागि प्रमुख कच्चा मालको रुपमा रहेको पोटासियम, फस्फोरस र नाइट्रोजनको ठूलो भण्डारसहित प्राकृतिक स्रोतहरूमा रुस धनी छ । रुस विश्वको सबैभन्दा ठूलो पोटासियम उत्पादक र निर्यातकर्तामध्ये एक हो । यसले विश्वव्यापी उत्पादनको लगभग २० प्रतिशत हिस्सा ओगटेको छ ।
रूसका धेरै ठूला रासायनिक कम्पनीहरू मल उत्पादक देशमा काम गरिरहेका छन् । यी कम्पनीहरूले उत्पादन सुविधाहरूको आधुनिकीकरण गर्न, सञ्चालनको दक्षता सुधार्न र विश्वव्यापी बजारमा प्रभावकारीरूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन ठूलो लगानी गरेका छन् । विश्वव्यापी मल बजारमा यसको बलियो स्थितिको अतिरिक्त, रूसले अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका उदीयमान बजारहरूमा आफ्नो मल र अन्य कृषि उत्पादनहरूलाई सक्रियरूपमा बढावा दिइरहेको छ । रुसी मल र अन्य उत्पादनहरू आयात गर्न अनुकूल वित्तीय सर्तहरू र अन्य प्रोत्साहनहरू प्रदान पनि गरेको छ । यसले रूसी मल उत्पादकहरूलाई चीन, भारत र युरोपलगायत प्रमुख बजारहरूमा क्रेता र वितरकहरूसँग बलियो सम्बन्ध स्थापित गर्न सक्षम बनाएको सन्दर्भमा नेपालमा मल कारखाना स्थापना गर्नुपर्ने बहस भइरहेको अवस्थामा रुससँग सहकार्य गरेर यो अभियानलाई मूर्तरुप दिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *