भर्खरै :

वागीश्वरीमा डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट कार्यशाला सुरु

वागीश्वरीमा डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट कार्यशाला सुरु

भक्तपुर, २२ वैशाख । वागीश्वरी कलेजको आयोजनामा ‘डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशाला गोेष्ठीको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद गोसाईले शिक्षक–प्राध्यापकहरू समाजका ज्ञाता भएकाले उहाँहरूको ज्ञान स्कूल–कलेजको कक्षा कोठामा मात्र सीमित नभई सिङ्गो समाजमा देखिनुपर्नेमा जोड दिनुभयो ।
हाल बजारमा पैसाको अभाव छ, स्नातक तहको कक्षामा विद्यार्थीको अभाव छ किन ? यसको व्याख्या विश्लेषण आवश्यक छ भन्दै उहाँले एक सफल अर्थशास्त्रीको लागि कम्युनिस्ट घोषणापत्रको अध्ययन अनिवार्य छ भन्नुभयो ।
“वैशाख २२ एकातिर हामी बुद्ध जयन्ती मनाइरहेका छौँ भने अर्कोतिर कार्ल माक्र्स जयन्ती पनि मनाइरहेका छौँ । गैरकम्युनिस्टहरूले समेत सबभन्दा बढी पढ्ने माक्र्सलाई दार्शनिकको रूपमा अध्ययन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
कुनै पनि कुराको सही व्याख्या विश्लेषणका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको यथार्थ जानकारी आवश्यक हुन्छ भन्दै सभासद् गोसाईले इराकका राष्ट्रपति सद्दाम हुसेनले डलरमा कारोबार नगर्ने घोषणा गरेपछि अमेरिकाले उनको हत्या गरेको, लिवियाका कर्णेल गद्दाफीले संयुक्त राष्ट्र सङ्घको कार्यालय अमेरिकाबाट अन्यत्र सार्नुपर्ने विचार राखेपछि उनको पनि हत्या गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई संरा अमेरिकाले युद्ध अपराधीको घोषणा गरेको छ भने अफ्रिकाले पुटिनलाई समर्थन गरेको छ । अमेरिकाले फिनलान्डलाई जबरजस्ती नाटोमा तानेको छ । यसरी संसार बदलिरहेको अवस्थासँग हामी अद्यावधिक भएनौँ भने हाम्रो व्याख्या विश्लेषण सटिक नहुनसक्छ ।”
रिसर्च मेनेज्मेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा उहाँले शिक्षक, प्राध्यापकहरूले निरन्तर अध्ययन, अनुसन्धान गर्दै त्यसको उपयोग गनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्न आग्रह गर्नु भयो ।
कलेज व्यवस्थापन समितिका सदस्य एवं वडाध्यक्ष रवीन्द्र ज्याख्वले डाटा एनेलेसिस युजिङ आर स्क्रिप्टको सफल कार्यशालापछि अध्ययन अध्यापन थप प्रभावकारी हुनेमा विश्वास गर्दै नयाँ युवा पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
आज युवा विद्यार्थीलाई कसरी कलेजमा आकर्षित गर्ने ? कलेजमा आएका विद्यार्थीलाई कसरी टिकाउने र टिकेका विद्यार्थीलाई कसरी देशभक्ति भावनाका साथ बिदाइ गर्ने भन्ने चुनौती रहेको चर्चा गर्दै उहाँले कार्यशाला सामाजिक, शैक्षिक, राजनीतिक, प्राज्ञिक हरदृष्टिले डाटा एनेलेसिस गर्न सक्षम होस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवाल, प्राचार्य धनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक विनोद प्रजापति र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
वैशाख २४ गतेसम्म चल्ने उक्त कार्यशालामा सहप्राध्यापक डा. विजयलाल प्रधान र नवराज पौड्याल प्रशिक्षक रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *