भर्खरै :

नेपालीलाई भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गर्ने को को हुन् ?

नेपालीलाई भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गर्ने को को हुन् ?

काठमाडौँ, २६ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मङ्गलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नक्कली भुटानी शरणार्थीलगायत विभिन्न विषयमा ध्यानाकर्षण गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालीलाई भुटानी शरणार्थी बनाएर मानव बेचबिखन गर्ने र यसमा अर्बौँ ठगी गर्नेहरू को को हुन् ? प्रधानमन्त्रीले यसबारे फिल्म नै देखाउने भन्नुभएको थियो । अहिले दाहाल, देउवा र ओलीजीको बैठक भइरहेको छ । के त्यही फिल्म देखाउनकै लागि हो र ?”
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालयको विधेयक दर्ता भएर सांसदहरूलाई वितरण भइसकेको अहिलेसम्म किन रोकियो ? अन्य सबै विधेयक संसद्मा आउने, ख्वप विश्वविद्यालयको विधेयक किन आएन ? भक्तपुरको बागेश्वरी र नगरकोटबिचको मुहान खोलामा वर्षाको पानी जम्मा हुने एउटा बाँध बनाउन बजेटको बन्दोबस्त हुनु जरुरी छ । बागेश्वरीको मझुवामा जङ्गल मासेर खेल मैदान बनाउने र खानेपानीको मुहान् बिगार्नेहरूलाई किन कारबाही भएन ?”
एमालेका सांसद ठाकुरप्रसाद गैरेले नेपालीलाई भुटानी शरणार्थी बनाउनेहरू कोही फरार र कोही संसद्मा उपस्थित भएर बोलिरहेको उल्लेख गर्दै दोषीलाई कारबाही गर्नुपर्नेतर्फ जोड दिनुभयो ।
नेकाका सांसद तेजुलाल चौधरीले नेपालीलाई भुटानी शरणार्थी बनाउनेविरुद्ध निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
रास्वपाका सांसद तोसिमा कार्कीले नेपालीलाई भुटानी शरणार्थी बनाउनेहरूलाई जोगाउने काम भइरहेको र टेप रेकर्डबारे विषय उठ्दा महिलालाई अगाडि बढ्न नदिने आरोप लगाइएको उल्लेख गर्दै भ्रष्टाचारमा लिङ्ग नजोडिने बताउनुभयो ।
माओवादीका सांसद देवेन्द्र पौडेलले नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउनेहरूलाई कडा कारबाही गर्न प्रम दाहाललाई अनुरोध गर्नुभयो ।
जसपाका सांसद प्रदिप यादवले नेपालीलाई भुटानी शरणार्थी बनाई करोडौँ ठगीमा लागेका सांसद टोपबहादुर रायमाझी फरार भएबाट दोषी ठहर भएको र यसले नेपालको अन्तर्राष्ट्रिय छविमा आँच पुगेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *