भर्खरै :

भ्रष्टहरू मन्त्री बनेका हुन् वा मन्त्रीहरू भ्रष्ट बनेका हुन् ?

बीस–पच्चीस वर्ष अगाडि नै राजनीतिक नेता र कार्यकर्ताहरू सांसद, मन्त्री वा महत्वपूर्ण पदहरूमा पुग्दा सैद्धान्तिक, राजनीतिक, आर्थिक र व्यावहारिकरूपले इमानदार नदेखिएको हुँदा एक कहावत जस्तै एक वाक्य प्रचलित भएको थियो – ‘बेइमानी गर्ने अवसर नपाएर मात्रै तिनीहरू इमानदार बनेका हुन् ।’
यसको अर्थ हो – आजका नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र (प्रचण्ड) र सरकारका अन्य दलहरू पञ्चायती व्यवस्थामा मन्त्री वा अन्य पदहरू नपाएर मात्रै तिनीहरू बहुदलवादी, प्रजातन्त्रवादी वा गणतन्त्रवादी भएका हुन् – जो आज भ्रष्टाचारी, दल बदलू र अवसरवादी बने !
तर, सत्य के हो भने कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने झैँ ती सरकारको नेतृत्व गर्ने दल र सरकारमा सहभागी दलहरूमा पनि सिद्धान्तनिष्ठ, राम्रा वा स्वच्छ नेता तथा कार्यकर्ताहरू पनि छन् भनी अनुमान गर्नु गा¥हो छैन ।
तर, यहाँ एउटा प्रश्न छ – एउटै समयमा पार्टीमा प्रवेश पाएका वा एउटै कक्षा र विचारबाट दीक्षित भएका युवा वा नेताहरूमध्ये केही राम्रा र केही विवादस्पद किन बने ?
एउटै अभिभावकको कोखबाट जन्मेका र एउटै गाउँ, सहर, धारा–पानी, विद्यालय–विश्वविद्यालय, पाठ्यपुस्तकहरूबाट स्नातक र विद्यावारिधि भएका दाजु–भाइ र दिदी–बहिनी किन फरक फरक विचार वा व्यवहारका हुन्छन् ?
मानिस चरा–चुरुङ्गी र पशुभन्दा विचारशील प्राणी हो, यसकारण तिनीहरूमा प्राणी विज्ञानको प्रभाव सँगसँगै समाजका विद्यमान केही रचनात्मक र ध्वंसात्मक, विवेक र असंवेदनशीलता, सकारात्मक र नकारात्मक तथा गुण र वैगुणका प्रभावहरू पर्नु स्वाभाविक हो । खानपान, सङ्गत, अध्ययन र फरक फरक मानवीय प्रवृत्तिको कारण पूर्ण एकरूपता सम्भव नहुने होला । कति जुम्ल्याहाहरूमा फरक स्वाद पर्ने, बानी–व्यहोरामा फरक, साहित्य र विज्ञान वा गणित मन पराउने, कुनै कुनै जुम्ल्याहामा सङ्गीत–नाच–गान र खेलकुद मन पराउने देखिएका छन् । जुम्ल्याहामध्येका राम फतर फतर कुरा गर्न मन पराउँछन् भने लक्ष्मण कुरा सुन्न । एउटै उमेर, एकै परिवारका युवा कोही परम्परावादी र कोही परिवर्तनवादी देखिएका छन् । विभिन्न कारण विचारले मात्रै होइन व्यवहारमा दुश्मन जस्तै पनि देखिएका छन् । यसो हेर्दा यस्तो सा¥है आत्मकेन्द्रित वा मनोगत देखिए पनि चुरो कारण पत्ता लगाउन सकेमा समस्या समाधानमा धेरै सजिलो हुने पक्का छ ।
२० वैशाख २०८० को ‘नयाँ पत्रिका’ को पहिलो पृष्ठको समाचारको एक शीर्षक छ – ‘भुटानी शरणार्थीका आवरणमा ठगी प्रकरण’, ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राई पक्राउ’, समाचारमा ‘गृहमन्त्रालयको संलग्नता’ र गृहमन्त्री ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई दोषी हो कि ? के राई संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) बाटै सञ्चालित छ कि ?
‘भ्रष्ट राजनीति’ संरक्षणमा ओलीको आड’ शीर्षकमा २५ वैशाख २०८० को ‘नेपाल समाचारपत्र’ मा लेखिएको छ – एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी छ । कोरोना महामारी सङ्क्रमण रोकथाम र नियन्त्रणसँग सम्बन्धित ‘ओम्नी काण्ड’, बालुवाटार जग्गा काण्ड, वाइडबडी काण्ड, मल खरिद काण्ड, बुढी गण्डकी काण्ड र भुटानी शरणार्थी काण्डमा पूर्वप्रधानमन्त्री ओलीलाई जोडेका छन् । फेरि बादलका छोरा प्रतीक थापा प्रहरीको फरार सूचीमा छन् ।
‘भुटानी शरणार्थीको आवरणमा एक अर्ब ठगी प्रकरण, गृहले गठन गरेको कार्य दल सदस्य पनि छानबिनमा’ शीर्षकमा प्रधानमन्त्री प्रचण्ड भन्छन् – ‘यो ट्रेलरमात्रै हो, हेर्दै जानुस् सिङ्गै फिल्म देखिन्छ ।’ (नयाँ पत्रिका, २४ वैशाख २०८०)
‘नक्कली भुटानी शरणार्थी प्रकरण, प्रलोभनमा यसरी ठगिए दाङका ६० जना’ शीर्षकको समाचार भन्छ – काङ्ग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण, काङ्ग्रेस सांसद रामहरि खतिवडा र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ ।
(नागरिक, २५ वैशाख २०८०)
‘शरणार्थी काण्डका बिचौलियाको आत्मदाह गर्ने धम्की पछि तानिए ‘हाई प्रोफाइल’, ‘बालकृष्ण खाणविरुद्ध प्रमाण जुटाउँदै प्रहरी ।’ (नयाँ पत्रिका, २५ वैशाख २०८०)
हल्ला व्यापक छ – भुटानी शरणार्थी काण्डमा तीन जना गृहमन्त्री तानिनेछन् । के फोहर पानीमा नुहाएर कोही सफा हुन सक्लान् ? मुख्य प्रश्न यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *