भर्खरै :

नेपालीलाई भुटानी शरणार्थी बनाइएको सम्बन्धी केही टिपोटहरू– २

नेपालीलाई भुटानी शरणार्थी बनाइएको सम्बन्धी केही टिपोटहरू– २

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गृहमन्त्री रहेका रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट २०७६ जेठ ३० मा बालकृष्ण पन्थी संयोजक, गणेशकुमार केसी सदस्य र मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव रहेको कार्यदल बनाएका थिए ।
गृहको कार्यदलसँग मिल्दोजुल्दो हुने गरी बनाइएको समानान्तर प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरिएको छ । यो शीर्षकमा ८ सय ७५ जनाको नाम छ ।
२०७८ असार २९ मा शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा दोस्रो वरीयतासहित शक्तिशाली गृहमन्त्री बनेका बालकृष्ण खाण र उनले रोजेर ल्याएका सचिव टेकनारायण पाण्डेले अघिल्लो सरकारले गर्न नपाएको काम अघि बढाएका थिए ।
गृहका अधिकारीहरूका अनुसार सचिव पाण्डेले पन्थी कार्यदलको प्रतिवेदन ‘अध्ययन गर्नु छ’ भन्दै स्थानीय प्रशासन शाखाबाट झिकेर लगेका थिए । ‘प्रतिवेदन’ करिब २ सातापछि मात्रै शाखामा फिर्ता भएको थियो । तर सक्कली प्रतिवेदन बाहिर लगेका पाण्डेले नक्कली प्रतिवेदन ल्याएर स्थानीय प्रशासन शाखामा राखेको पुष्टि भयो ।
प्रहरी अधिकारीहरूका अनुसार २०७६ वैशाखदेखि हालसम्म स्थानीय प्रशासन शाखामा रहेका शाखा प्रमुखसहितका कर्मचारीसँग बयान लिइनेछ ।
यसरी सचिव पाण्डेबाटै सक्कली फाइल गायब पारेको खुलेको हो, यति ठूलो अपराधमा मन्त्री पनि संलग्न भएको खुलेपछि खाणलाई पक्राउ गरिएको हो ।
नक्कली शरणार्थी खडा गरिएको भन्दै झापा प्रशासनले गत फागुनमा पत्र लेखेपछि गृह प्रशासन कारबाहीमा उत्रिएको हो ।
पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव रहेका सांसद रायमाझीका छोरा सन्दीपसमेत पक्राउ परिसकेका छन् । पूर्वउपप्रधानमन्त्री रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज पनि फरार छन् । शरणार्थी प्रकरणमा काङ्ग्रेसका दुई सांसद आरजु राणा देउवा र मञ्जु खाँण पनि मुछिएका छन् ।
दुवै जनाले शरणार्थी प्रकरणमा साढे आठ करोड रुपैयाँ असुलेको दाबीसहित बाहिरिएको अडियोमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
– कान्तिपुर, वैशाख २९
यो त मानवताविरुद्धको अपराध हो
“यो त मानवताविरुद्धको अपराध हो,” उनले भने, “यसमा मानव बेचबिखनसम्बन्धी कसुर पनि आकर्षित हुनसक्छ ।”
यो मुद्दामा जोडिएका माथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर पनि आकर्षित हुनेछ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्यलाई सम्पत्ति शुद्धीकरणमा लेखिपठाउने प्रहरीको तयारी छ ।
पीडितले दिएको जाहेरी र अभियुक्तहरूको बयानमा जोडिएका अन्यमाथि अनुसन्धान जारी छ । बलियो प्रमाण जुटिनसकेकोले उनीहरूसम्बन्धी सूचना प्रहरीले गोप्य राखेको छ ।
पीडितहरूले काङ्ग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि आफूहरूलाई सहयोग गरेको बताएका छन् । किर्तेमा संलग्न गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका केही कर्मचारी पनि प्रहरी छानबिनमा छन् ।
बिचौलियासँग नगद पैसा नै लिएको र गाडीमा राखेको कुरा पक्राउ परेका अभियुक्तको बयानको आधारमा चालकहरूलाई पनि त्यस विषयमा सोधपुछ गरिएको छ ।
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मोबाइल पनि फर्म्याट भएको खुलेको छ । ‘डेटा रिकभर’ का लागि प्रहरीले उक्त मोबाइल प्रहरी प्रयोगशालामा पठाएको छ ।
प्रहरीले केशव दुलाललाई १२ चैतमा काठमाडौँबाट पक्राउ गरेको थियो । सङ्गीत अपराध अनुसन्धान गर्न प्रहरीलाई ६० दिनको मात्रै म्याद अवधि हुन्छ । त्यसो हुँदा प्रहरीले अबको दस दिनभित्र घटनाको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिसक्नुपर्नेछ ।
– नयाँ पत्रिका, वैशाख २९
सक्कली प्रतिवेदन गिरोहको हातमा
संयुक्त राष्ट्रसङ्घीय खाद्यान्न कार्यक्रमले नेपालमा रहेका भुटानी शरणार्थीलाई दिने खाद्यान्न सन् २०१९ को जनवरीदेखि रोक्ने भनेर सरकारलाई पत्र पठाएपछि शरणार्थी समस्या समाधानका उपाय पहिल्याउन बनाइएको कार्यदलको प्रतिवेदनमै गिरोहले नक्कली शरणार्थीको नाम दर्ता प्रक्रिया सुरु गरेसँगै अमेरिका पठाइदिने भन्दै उनीहरूसँग रकम असुली गर्न थालेको थियो ।
२०७५ मङ्सिर ३ गते तत्कालीन गृहमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रीको संयुक्त बैठक बस्यो । बैठकमा ती मन्त्रालयका सचिवहरू पनि सहभागी थिए । २०७५ मङ्सिर १७ गते कार्यदल बनाउने गरी तीन मन्त्री र तीन सचिवको बैठक टुङ्गिएको थियो । त्यसपछि २०७६ जेठ ३० गते गृहमन्त्रीस्तरीय निर्णयबाट कार्यदल गठन भयो । कार्यदलमा तत्कालीन सांसद टोपबहादुर रायमाझीको सल्लाहमा माओवादीका कार्यकर्ता गणेश केसीलाई विज्ञ सदस्यका रूपमा राखियो । कार्यदललाई भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपाय पहिल्याउनेसहित ६ बुँदे कार्यादेश र दुई महिनाको कार्यविधि दिइएको थियो ।
गिरोहको जोडबलमा शिक्षा मन्त्रालयमा रहेका टेकनारायण पाण्डेलाई गृहसचिवमा ल्याइयो । २०७८ साउन २७ गते टेकनारायण पाण्डेलाई गृहसचिव बनाइएपछि दुलाल, भण्डारी, शर्मासहितको गिरोह फेरि सक्रिय भयो । सचिव पाण्डेले पन्थी कार्यदलले बुझाएको प्रतिवेदन गिरोहको हातमा पुग्ने वातावरण मिलाइदिए । गिरोहले गोप्यरूपमा प्रतिवेदन आफूअनुकूल तोडमरोड ग¥यो । सक्कली प्रतिवेदन गिरोहको हातमा र तोडमरोड गरिएको प्रतिवेदन गृहमन्त्रालयमा रह्यो । मन्त्रिपरिषद्ले २०७८ पुस ३० गते प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गर्ने निर्णय ग¥यो ।
– नागरिक दैनिक, वैशाख २९
आरजु र पाण्डेबिच प्रहरी कार्यालयमै गोप्य भेट
अध्यक्ष केपी शर्मा ओलीले भने, “कुन शरणार्थीका नाममा कहाँ–कहाँ कतिलाई रकम पठाइयो र को संलग्न छन् भन्ने तथ्यसहित संसदमा म बोल्छु । के भएको थियो ? तथ्य खुल्नुपर्छ ।”
‘‘हामीले अब शरणार्थी पालिराख्न सम्भव छैन । थर्ड कन्ट्री सेटलमेन्ट गर्नुपर्छ भन्ने प्रस्ताव गिरिजाप्रसादसँग राख्दा उहाँले तपाईं प्रयास गर्नुस् भन्नुभयो, – केपी ओली ।
तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले आफूसँग शरणार्थीको विषयमा जिज्ञासा राखेको ओलीको भनाइ थियो । ओलीले भने, ‘‘हामीलाई ठूलो समस्या भयो । समस्या तन्किँदै जाँदा हामीले थेग्न सक्दैनौँ । महामहिमज्यू, तपाईंले हामीलाई मद्दत गर्नुपर्यो ।”
जर्ज डब्लु बुसले कोन्डालिजा राइससँग कुरा हुँँदै छ क्यारे । उहाँसँगै डिटेलमा कुरा गर्नुस् भन्नुभयो । म कोन्डालिजालाई भनुँला भन्नुभयो । त्यसपछि डीसीमा कोन्डालिजासँग मेरो लामै कुरा भयो । त्यो कुराकानीको रेकर्ड अहिले पनि परराष्ट्रमा होला,’ ओलीले भने । अध्यक्ष ओलीले सन् २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरु भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गरे ।
नेपाली काङ्गे्रसकी नेतृ आरजु राणा र प्रहरी हिरासतमा रहेका सचिव टेकनारायण पाण्डेबिच प्रहरी कार्यालयमै गोप्य भेटवार्ता भएको छ ।
– अन्नपूर्ण २९ वैशाख
गिरोहले झन्डै एक अर्ब रुपियाँ ठगी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि विगतमा गृह मन्त्रालयका नेतृत्व सम्हालेका अन्य व्यक्तिमाथि अनुसन्धान सोझिने देखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रहरीले फेला पारेको सो प्रतिवेदनमा किर्ते गरी अनुसूची थप गरी नक्कली भुटानी शरणार्थी भनी ४२९ जना नेपालीको नाम थपेको पाइएको छ ।
नक्कली प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका को को कर्मचारी वा तत्कालीन नेतृत्व संलग्न थिए भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।
२०७४ फागुनदेखि २०७७ असार २९ गतेसम्म गृह मन्त्रालयको नेतृत्व नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले गरेका थिए । बादलको पालामा कार्यदल गठन भई तयार पारेको प्रतिवेदनमा अनुसूची थप गरी नक्कली फाइल तयार भएको पाइएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पीडितको सङ्ख्या झन्डै नौ सयको हाराहारीमा भएको अनुमान छ । गिरोहले झन्डै एक अर्ब रुपियाँभन्दा बढी रकम ठगी गरेको अनुमान छ ।
अध्यक्ष केपी ओलीले आफूसँग रायमाझीका मान्छेले सम्पर्क गरेको बताउँदा सचिव पृथ्वी सुब्बा गुरुङले भने प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी सम्पर्कमा नै नरहेको दाबी गरे ।
– गोरखापत्र, वैशाख २९
नेपाल समाचार पत्र, २०८० वैशाख २९
पार्टीले रायमाझीलाई निलम्बन गरे पनि अध्यक्ष ओलीले भने रायमाझीको पक्षमा वकालत गर्दै हिँड्ने क्रम छोड्नु भएको छैन । यसअघि पनि उहाँले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर रायमाझी बचाउने विषयमा चासो राख्नुभएको थियो । रायमाझीको बचाउ गर्दै दिएको ओलीको यो चौथो अभिव्यक्ति हो ।
भुटानी शरणार्थी प्रकरणकै सन्दर्भमा ओलीले माओवादी शिविरमा भएको भ्रष्टाचारको छानबिनसमेत गनुपर्ने बताए ।
अनलाइन खबर, वैशाख २८ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका केही निर्णय प्रक्रियामा जोडिएका पूर्व गृहसचिव प्रेमकुमार राईले आफू अख्तियारको प्रमुख आयुक्त भएपछि त्यससँग सम्बन्धित गम्भीर उजुरीहरूमाथि अनुसन्धान गरेनन्, उल्टो आफूविरुद्धको उजुरीलाई आफैंले तामेलीमा पठाइदिए ।
लोकान्तर, वैशाख २८
पूर्वएसएसपी लब विष्टले २०७३ मा ज्येष्ठताका आधारमा १ नम्बरमा रही कार्य सम्पादनमा अब्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत काङ्गे्रस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवालाई चाकडी गर्न नमान्दा बढुवा हुनबाट वञ्चित हुनुपरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *