यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
(हरेक देशको एक कालखण्डमा राजनैतिक नेता र कार्यकर्ताहरू घर छोडेर विभिन्न जिल्ला र प्रवासमा काम गर्थे । जेल जीवन भोगेपछि, देशले स्वतन्त्रता र मुक्ति पाएपछि तिनीहरूको आवश्यकता घट्दै गएको हुन्छ, छोराछोरी छैनन्, भाइ–बहिनीहरू आ–आफ्ना बाटा लागिसकेका हुन्छन् र राज्य र समाजमा पूर्व राजनैतिक नेता र कार्यकर्ता बोल्ने कोही पाउँदैनन् ।
तर तिनीहरूको मन र मस्तिष्कमा सदा देश एवम् जनताको दीर्घकालीन हितबारे चिन्तन भइरहेको हुन्छ । राज्य र समाजले कति देशमा राजनीतिका अग्रदूतहरूको हितको निम्ति देशका अन्य ज्येष्ठ नागरिकहरूलाई जस्तै आदर निकेतनको ऐन–कानुनको बन्दोबस्त गरेको हुन्छ र समाजले त्यसलाई आफ्नो जिम्मा लिन्छ ।)
xxxx
७० वर्ष नाघेका राजनैतिक व्यक्तिहरू आदर निकेतनको ठूलो टेबुल र मेचले घेरिएको एक अध्ययन कक्षमा आ–आफ्ना स्थानमा बस्दै दैनिक र साप्ताहिक अखबारका शीर्षक हेर्दै अनौपचारिक छलफल र चिन्तनमनन गर्दै गरेका हुन्छन् ।
एक स्वास्थ्य परिचारिका आएर भन्छिन्– “बुबाहरू, ९ बज्यो, अबको केही समयमा कपाल काट्ने दाइहरू आएर हजुरहरूको कपाल र दाह्रीजुङ्गा काट्ने काम सुरु गर्नुहुनेछ । हजुरहरू पल्लो कक्षमा गएर बसिदिनुहुन आग्रह गर्छु ।”
एक छिनपछि ज्येष्ठ नागरिकहरू हाँस्दै एक–एक गरी पल्लो कोठामा जान्छन् र केहीलाई अन्य स्वास्थ्य परिचारिकाहरूले पल्लो कोठामा जान सहयोग गर्दै छन् ।
पछि उहाँहरू स–साना स्नानगृह र सामूहिक ठूलो स्नानगृहबाट सुकिलो लुगा लगाएर निस्कनु हुन्छ । स्नानगृहबाट सहयोगीहरूले ठूल–ठूला बाल्टिनहरूमा औषधि र साबुन लगाएर सफा गर्नुपर्ने लुगाहरू … निश्चित लुगा धुने कक्षमा लगिरहेका हुन्छन् । तातोपानीमा औषधि मिलाएको कपडा धोएर सुकाइन्छ । ती लुगा धोएको पानीलाई एक सिसीमा परीक्षणको लागि प्रयोग गर्न लैजान्छन् र अरु पानी ढलमा पठाउँछन् । घाममा सुकाउँदै, इस्त्री गर्दै वा पानी पर्दा कोठामा बिजुलीले न्यानो बनाएको कोठामा सुकाएपछि इस्त्री गरेर कोठा नम्बरअनुसार परिचारिकाहरूले कोठा–कोठामा सुकिलो लुगा पु¥याउँछन् ।
(२)
बा¥ह बजेर केही मिनेटमा ज्येष्ठबाहरू सामूहिक भान्छाघरमा आ–आफ्ना स्थानमा बसेर बिहानको खानाको पर्खाईमा हुुन्छन् । तत्काल टेबुलको नम्बरअनुसारको प्लाष्टिकले मोडेको थाल पस्किन्छन् । प्लाष्टिक खोलेपछि थालमा काँटा–चम्चासहितको रिकापीमा पस्केर खाना सुरु हुन्छ, दूध, दही र अन्य पेय पदार्थ पनि फरक–फरक गिलासमा ल्याइएको हुन्छ । आ–आफ्नो रुचि र चिकित्सकको सिफारिसअनुसार खानाको परिकार पस्किएको हुन्छ ।
खाना खाएपछि बा र हजुरबाहरू पुनः अध्ययन कोठामा पुग्नुहुन्छ र पत्रपत्रिकाका शीर्षकहरू हेर्नुहुन्छ । त्यसैबेला रेडियो र टीभीको च्यानलहरू खोल्न रिमोट चलाउनुहुन्छ । ५–१० मिनेटको समाचार सुनेर वा हेरेर उहाँहरू २ बजेसम्मको निम्ति आ–आफ्नो कक्षमा आराम गर्न जानुहुन्छ ।
(३)
तीन बजेपछि आ–आफ्ना कोठाबाट पुनः खाजाको निम्ति हजुरबुबाहरू भोजन गृहमा पुग्नुहुन्छ । उहाँहरू आ–आफ्ना रुचि र चिकित्सकको सिफारिसअनुसारको फलफुल वा फलको रस, १–२ वटा साना रोटी लिनुहुन्छ ।
खाजापछि उहाँहरू बिस्तारै सानो सभागृहमा पुग्नुहुन्छ । एक टेबुलको चारैतिर ४–४ वटा मेच मिलाएको हुन्छ र त्यस्ता १५–२० समूह त्यहाँ आ–आफ्नो स्थानमा बसेर मनका भावना आपसमा बाँड्नुहुन्छ । हरेक टेवुलमा स–साना स्पिकर वा सुन्नेयन्त्र राखिएको हुन्छ । बोल्ने पालोमा हात उठाउनुहुन्छ र टेबुलमा राखिएको माइक खुल्छ र रातो बत्ती बल्छ ।
सहयोगीहरूको सहयोगले ८० वर्षका तराईका एक किसान नेता एवम् वामपन्थी नेताले मसिनो स्वरमै बोल्नुहुन्छ, “हामी त साँच्चै एक अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुँदाको सम्झना गर्दै छौँ । हामीले केही देशका समाजवादी बन्दोबस्त र केही क्रान्तिकारी पार्टीको इतिहासबारे अध्ययन गरेका छौँ । तर, व्यवहारमा आफै सहभागी भएर सिकेको हुँदा हाम्रै देश र दलहरू कहाँ चुक्यौँ हामीलाई भन्न गाह्रो भयो ।”
पचहत्तर वर्षका पश्चिमको अर्को आमूल परिवर्तनवादी पार्टीका ५ वर्ष पहिले दलको सक्रिय सदस्यता छोडेर आदर निकेतनमा आएको बताउँदै भन्नुभयो, “हामीले आफ्नै पार्टीभित्र शत्रु र मित्र छुट्याउन सकेनौँ । हामीहरू देशी र विदेशी वर्ग शत्रुले थापेको जालमा प¥यौँ । १५–२० वर्ष जेलको यातना भोग्यौँ । जेलबाट बाहिर आउँदा समाजको स्थिति हिजोको जस्तो थिएन, हाम्रा साथीहरू कति बिते, कति छोरा–छोरीको लालनपालनतर्फ लागे, केही जीवनको सन्ध्याकालमा शिक्षक, एकाउन्टेन्ट, पुस्तक पसल, दैनिक र साप्ताहिकहरूका समाचार विश्लेषक र साना–तिना लेख–रचना र साहित्य समालोचना लेखेर आ–आफ्नो जीवन बिताउँदै थिए ।”
कोही विवाह गर्ने अवसर नपाएर अविवाहित नेताहरू र नेतृहरू भाइ–भतिजाहरूकै परिवारमा मिलेर इतिहासका सफलता र असफलता अनि जीवनको मूल्याङ्कन गर्दै नयाँ पुस्तालाई चौतर्फी विविध विषयको ज्ञान आर्जन गर्नुपर्नेबारे बताउँथे । उहाँहरूले आफ्नो र समाजको आमूल परिवर्तनको निम्ति गरेका रोमाञ्चकारी गतिविधिबारे बताउनुुभयो ।
हात उठाउँदै कोही भन्नुहुन्थ्यो, “म २० वर्षपछि कारागारबाट छुट्दा आफ्नै टोल र गाउँका पुराना साथीहरू नचिनेको जस्तै टड्केर हिँड्थँे । कोही त हामीलाई उपदेश दिने पारामा भन्थे– तपार्इँहरूले अनावश्यक दुःख पाउनुभयो । अब उमेर पनि भयो अब राजनीतिमा नलाग्नु होला ।”
त्यसको जवाफमा उहाँ व्यङ्ग गर्नुहुन्थ्यो– “हो, उमेर पनि गयो, दुःख पनि भोगियो, तर तपाईँजस्ता साथीहरूलाई बिचैमा छोडेर जानेहरूको पाइन, शक्ति र फूर्ति पनि हेर्न जीवित छु ।”
राजनीति छोड्नुस् भन्ने व्यक्तिलाई टोल र गाउँमा कसैले राम्रो मान्दैनथ्यो । आफू पक्राउमा पर्ने डरले सबै कुरा प्रहरीलाई पोल्ने र जीउ जोगाउने मानिस थिए । टोल र नाता–गोता पनि उसको घरमा भोज खान जाँदैनन् र उसलाई पनि भोज बोलाउँदैनन् भनी हल्ला भइरहेको हुन्थ्यो ।
(४)
अर्को दिन त्यही सभाकक्षमा हजुरबुबाहरू आ–आफ्नो राजनैतिक दृष्टिकोणबारे बताउँदै हुनुहुन्थ्यो । घडीमा ४ बज्नासाथ हाइस्कूलका छात्र–छात्राहरू आएर टेबुलको चारैतिर मेचमा बसे । हरेक टेबुलमा एक एक जना हजुरबुबा बस्नुभएको थियो ।
कार्यक्रम सुरु भयो । विद्यार्थीहरूले आ–आफ्ना टेबुलका हजुरबुबासँग नमस्ते, अभिवादन, दर्शन र ज्यू गर्दै जिज्ञासा राखे – “हजुरबुबाहरूले किन राजनीतिमा लागेर घरबार छोडी दुःखको बाटो रोज्नुभयो ? बताइदिनुभयो भने हामी आभारी हुने थियौँ ।”
विद्यार्थीहरू विद्यालयको नाम र चिह्न भएको पोशाकमा थिए । विद्यार्थीहरूको नाम हेर्दै बडो वात्सल्य भावले हात समातेर हजुरबुबाले भन्नुभयो– “बाबु नातिहरू, हामीले तिमीहरूकै निम्ति दुःख पाएका हौँ । पहिले पहिलेका सरकारहरूले हामीलाई स्कूल र कलेज खोल्न दिन्थेन र काम–माम र रोजगारीको बन्दोबस्त थिएन, अस्पताल थिएन । अस्पतालको भवन भए डाक्टर हुंदैनथ्यो, कहीँ कतै एक जना कम्पाउन्डर हुन्थ्यो त कतै औषधि हुन्थेन ।”
“अब आउने हाम्रा छोरा–नातिहरूले पढ्न पाउनु पर्छ, बोल्न र लेख्न पाउनु पर्छ, आफ्ना जनतालाई रैती र नोकर ठान्नु हुन्न भनी हामीले सरकारविरुद्ध सङ्घर्ष गरेका थियौँ ।”
“पछि पछि सरकारहरू ढल्दै गए र स्वार्थी एवम् भ्रष्ट नेता र प्रधानमन्त्रीहरू जनताका आँखाका कसिङ्गर साबित भए । समय बित्दै गएपछि तिमीहरूले जस्तै देशका सबै छोरा–नातिहरूले डाक्टर, इन्जिनियर र वैज्ञानिक हुने शिक्षा पाउने भएको हो ।”
“तिमीहरूको स्कूलका राम्रा लुगा र तिमीहरूको हँसिलो र सरल अनुहारबाट मीठो बोली सुन्दा हामीलाई साह्रै आनन्द लाग्यो । हामी सुखी जीवन बिताउँदै छौँ र हाम्रो दुःख खेर गएन ।”
“अब तिमीहरूको दाजु–दिदीहरूले जस्तै धेरै पढेर देश र जनताको सेवामा लाग्दा हाम्रो देश र समाज राम्रो हुन्छ, हगि ?’ यति भनेर हजुरबुबाले सबैको कपाल सुम्सुम्याउनुभयो ।”
सबै नातीहरूले एकै साथ भने– “हजुरबुबाहरूको गर्न बाँकी काम हामी गर्नेछौँ ।” आशीर्वाद र बिदा लिएर नानीहरू बाहिरिए । सबै हजुरबुबाहरू खुसीले आँसु पुछ्दै हुनुहुन्थ्यो ।
सहयोगीहरूले माइकमा भोलि ३ बजे हजुरहरूलाई भेटन र अभिवादन गर्न विभिन्न भाषाका दैनिक, साप्ताहिक र पाक्षिकका पत्रकार, रेडियो र टीभीका पत्रकार साथीहरू आउँदै हुनुहुन्छ । नमस्ते, धन्यवाद !
(५)
नियमित पत्रकार भेटघाट
(महिनाको एक दुई दिन ज्येष्ठ राजनैतिक व्यक्तित्वहरूसँग पत्रकारहरूको भेटघाट हुन्छ । एक दुई दिन युवा–विद्यार्थीहरूसँग भेटघाट हुन्छ । ती सब विश्वविद्यालय र अनुसन्धानकर्ताहरू (रिसर्च स्कलरहरू) र एक–दुई समाजका लेखक, कवि, कलाकार, चित्रकार, सिनेमा एवम् नाटकका कलाकार वा नायक–नायिका र हास्यकलाकारहरूसँग भेटघाट हुन्छ भने केही गायक र सङ्गीतकारहरूसँग सैद्धान्तिक, व्यवहारिक र नयाँ नयाँ शैली र धाराहरू (ट्रेन)बारे छलफल हुन्छ । एक–दुई दिन ज्येष्ठ नागरिकहरूको परिवार र आफन्तहरूसँग भेटघाट हुन्छ ।)
देश र समाजका दैनिक, साप्ताहिक, पाक्षिक पत्र–पत्रिका, रेडियो, टीभी र सामाजिक सञ्जालका २५–३० जना पत्रकारहरू आ–आफ्ना प्रचारका उपकरणहरूसहित आ–आफ्ना स्थानमा बसेका छन् । २०–२५ जना ज्येष्ठ व्यक्तित्वहरूमध्ये एक दिनमा दुई–तीन जनासँग मात्रै अन्तरङ्ग छलफल हुन्छ ।
एक पत्रकारले ज्येष्ठ नागरिक राम प्रधानाङ्गकोे परिचय दिँदै भन्छन्, “८४ वर्षीय राम प्रधानाङ्ग नेपालको एक मुर्धन्य वामपन्थी नेता हुनुहुन्छ, साम्यवादी समाजबारे उहाँ नेपालको दोस्रो पुस्ताका व्यक्ति हुनुहुन्छ र आफ्नो झन्डै ५०–६० वर्षको सङ्घर्षको अनुभवबारे बताउनुहुन्छ र आफ्नो जीवनको सार्थकताबारे प्रस्ट भाषामा बताउनुहुन्छ ।”
राम प्रधानाङ्गले बिस्तारै आफ्नो भावना व्यक्त गर्नुभयो, “५०–६० वर्षको मेरो राजनैतिक जीवनमा विभिन्न जिल्ला, अञ्चल, प्रदेश वा तराई, पहाड र हिमाल एवम् पूर्व र पश्चिमका नेपाली जनताको साथ–सङ्गत र सङ्घर्षमा केही समानता पाएको छु । त्यो हो– नेपाली समाज विभिन्न जात–जाति र भाषा–भाषी, धर्म र संस्कृतिमा विभाजित हुँदा विचार र चिन्तनको क्षेत्रमा पनि एकरूपता छैन । अध्ययनको सामग्री र स्तरको विविधताले गर्दा पनि वैचारिक धरातल अन्यन्त विषम छ । खस–आर्यको सत्तामा पकड हुँदा अन्य सांस्कृतिक समाजको जीवन हीनताबोध, लाचारी र सुषुप्त असन्तोष सबैको मुखाकृति, रङ्ग र आँखा बिचमा देखिने छचल्किन लागेका आँसुबाट अभिव्यक्ति दिन्छ ।
“उत्पादनका साधन, चल र अचल सम्पत्तिमा देखिएको उँच–नीचको भेदले पनि अत्यन्त बहुमत जनताले पाएको प्रजातन्त्र र गणतन्त्र, निर्वाचनको बेलादेखिने जाँड–रक्सी, भोज–भतेर, आकर्षक लुगा र आधुनिक सामान, खामभित्र हरेक परिवारमा बाँडिने हजारौँ रूपैयाँका खामहरू, पद र पैसाको बोझिला आश्वासनहरूले मौलिक र राजनैतिक अधिकारहरू हाकाहाकी निर्वाचन आयोगकै निर्वाचनको मतदान केन्द्र क्षेत्रभित्रै बेचबिखन र लिलाम हुन्छन् ।
“यसको एउटै उपचार हो– एउटै जाति, एउटै भाषा–भाषी र संस्कृति एवम् वर्गको सत्तामाथिको हैकम नै आर्थिक समानताको समाज, शोषणविहीन र राज्यविहीन एवम् वर्गविहीन समाजको सबभन्दा ठूलो बाधालाई पन्छाउनु नसक्नु हो । बडा राष्ट्र वा जातीय अहङ्कारबाट नै सबभन्दा ठूलो सामाजिक र राजनैतिक दमनकारी हतियार हो । छिमेकी देशहरूको साम्यवादी आन्दोलनको लहरले मात्रै छिट्टै नेपाली समाज पनि छिमेकी देशहरूको अन्तर्राष्ट्रिय गीतको सारेगमको स्वरमा स्वर मिलाउन सकिनेछ । यो अनुभव र सार नै जीवनको सार्थकता र ज्ञानको अनुभव हो । यस अर्थमा मेरो जीवन साह्रै सार्थक र सन्तोषजनक एवम् विश्व समाजप्रतिको साझा अनुभव हो ।”
अर्को पत्रकारले ९० वर्षका ज्येष्ठ राजनीतिज्ञ डा. शर्माको परिचय दिँदैै भने, “उहाँ पहिलो पुस्ताको वामपन्थी नेता हुनुहुन्छ र सरकारको नेतृत्व तहमा पनि पुग्नुभएको थियो । उहाँको आफ्नो सार्थकताबारे भन्नुहुन्छ ।”
डा. शर्माले सुरु गर्नुभयो, “नेपालका पहिलो पुस्ताका वामपन्थी साथीहरूमा साम्यवादी चिन्तनको गहिराइमा जानुभन्दा छिट्टै टुङ्गोमा जाने लालसाको कारण छिमेकी देशहरूको अपुष्ट ज्ञानबाट बढी प्रभावित थिए । अग्ला र मोटा मानिसहरूका लुगा होचा र पातला मानिसहरूले लगाएजस्तै बहुरङ्गी र बेसोमती आकृतिका नेपाली वामपन्थी आन्दोलनको नागबेली बाटोमा हिँड्दै हामी बीचैमा थाकेका यात्रुजस्तै भएको अनुभव भयो ।”
“तातै खाऔँ र छिट्टै जाऔँ भन्दै काँचो भात र नपाकेको खाजाले हामी बिरामी प¥यौँ, साथै लोभलालच, व्यक्तिगत इज्जत, प्रतिष्ठा र जातीय अहङ्कारले आन्दोलन नै एकमुष्ठरूपमा तिरस्कृत हुँदै गयो, एउटा झूटलाई लुकाउन १० झूट बोल्न बाध्य भयौँ र सत्ताको मोहमा विदेशीले लेखेको भाषण, नीति र सम्झौता पढ्दै गयौँ र आखिर नेपाली वामपन्थी आन्दोलन न देशको भयो न विदेशको भयो । पहिलो वामपन्थी नेताहरूको जीवन पश्चाताप, लज्जाबोध र हात–खुट्टा नभएका अपाङ्गको जीवन बिताएजस्तै दुःखी छ । यसकारण, पुरानो हाम्रो पुस्ताले भविष्यतिरै आशाका किरण देख्ने गरेको छ ।”
पुनः अर्को पत्रकारले तेस्रो पुस्ताका ७५ वर्षीय एक वाम नेताको परिचय दिँदै भने, “उहाँ सुभाष वान्तवा हुनुहुन्छ । उहाँ आफ्नो देश सानो भएको, कम जनसङ्ख्या भएको र गरिब मुलुक हुनाले छिमेकीकै भर र सहयोगले मात्र नेपाली समाजको आमूल परिवर्तन सम्भव देख्नुहुन्थ्यो । उहाँले विदेशीहरूकै तालिमलाई महत्व दिनुहुन्थ्यो, जनता अशिक्षित एवम् पछि लाग्ने जात सम्झेर बन्दुकको भरमा आमूल परिवर्तन गर्न खोज्नुभयो । पछि त्यो उपाय असम्भव देख्नुभयो र त्यसलाई उहाँ ठूलो गल्ती मात्र होइन अपराध बताउन पुग्नुभयो,” भन्नुहुन्छ ।
का. सुभाषले पश्चातापका साथ मनको कुरा बताउनुभयो, “मैले आफ्नो बुद्धिलाई शारीरिकरूपले बलियो शक्तिलाई सुम्प्यौँ र हामीले पछि आफूलाई अरुको हातमा बेचेको अनुभव ग¥यौँ । हामीले चलाएको सरकार आफैँ अरुको हितलाई प्राथमिकता दिन बाध्य भयौँ । राति राति निद्रा नलाग्दा औषधिको खाँचो हुन्छ र पश्चाताप र पापले मन भतभती पोल्छ । देश र जनताप्रति गरेको अपराधले हामी आफैँ लज्जाबोधको अनुभव गथ्र्यौँ ।
“अरुले देखाएको पद र पैसाप्रतिको तृष्णा र मोह हाम्रो पतनको औषधिको पुरिया बन्यो र अन्य असल र राम्रो बाटोमा हिँडेका मित्रहरूलाई भाँड्यौँ र टुक्र्यायौँ– हामीले आफ्नै घरमा मट्टीतेल खन्याएर आगो लगाएजस्तै भयो । यसकारण, यो ज्येष्ठ नागरिकको सगोलमा हामीले आफूलाई अपराधी अनुभव गर्दै छौँ । माफी दिएर पनि हाम्रा बिरामहरू सचिने खालका छैनन् । हाम्रा छोरा–छोरीहरूलाई पनि पैसा र पदको लतमा पु¥याएर हाम्रो भविष्यलाई समेत आगो लगायौँ । यसकारण, हामीले सधँै अरु कामरेडहरूसँग मनमनै हरेक दिन माफी माग्दै छौँ । यो लामो जीवन एवम् हाम्रो निम्ति सजाय हो ।”
“पश्चातापको भावना र स्वरमा तेस्रो पुस्ताका ज्येष्ठ नेताले आफ्नो भोगाइ अन्त गर्नुभयो ।” पत्रकार मित्रले भने, “यसलाई भनिन्छ आत्म आलोचना” र बल प्रयोगले बुद्धि, संवेदनशीलता र अरु प्रतिको आदरलाई तिरस्कार हुन जान्छ र आफ्नो अज्ञानतालाई पर्दा हाल्न गरिने हरेक जबरजस्ती स्वयम् एक अहङ्कार तथा हरेक अहङ्कार आफ्नो पराजयलाई मेट्ने असफल प्रयास र शीघ्र पराजयको यात्राप्रतिको लाचारी हुन्छ ।
यस अर्थमा नेपालको वामपन्थी आन्दोलनको तेस्रो पुस्ता अराजकतावाद र राष्ट्रिय घाउको विदेशीको गलत उपचार साबित भयो । हरेक अपराध, गल्ती र पराजयबाट नयाँ पुस्ताले नकारात्मक शिक्षा लिँदै गएपछि समाज अगाडि बढ्ने बाटो खुल्नेबारे दुईमत नहोला । पहिलो, दोस्रो र तेस्रो वामपन्थी ज्येष्ठ नेताहरूप्रति भित्री मनदेखि नमन गर्दै कार्यक्रमलाई यही बिट मार्न अनुमति माग्छु । धन्यवाद !”
सबै पत्रकारहरू ज्येष्ठ नागरिक वा नेताहरूसँग बिदाइको हात हल्लाउँदै सभा भवनबाट बाहिरिए ।
Leave a Reply