भर्खरै :

शिक्षकहरू राजनीतिकरूपले सचेत र देशभक्त हुनुपर्ने

शिक्षकहरू राजनीतिकरूपले सचेत र देशभक्त हुनुपर्ने

भक्तपुर, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले शिक्षकहरू राजनीतिकरूपले सचेत र देशभक्त हुनुका साथै विषयवस्तुमा पनि दख्खल हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले उक्त कुरा नेपाल क्रान्तिकारी शिक्षक सङ्घको पाँचाँै जिल्ला सम्मेलनको बन्दसत्रमा प्रशिक्षण दिँदै व्यक्त गर्नुभएको हो ।
नेक्राशिसङ्घका शिक्षकहरू मद्यपान, धूमपान, जुवातासजस्ता कुलतबाट टाढा रहनुपर्ने र समाजलाई पनि टाढा राख्न लागि पर्नुपर्ने सुझाव दिँदै उहाँले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी समसामयिक राजनीतिक विषयका साथै देशभक्तिपूर्ण पाठहरू सिकाई राख्नुपर्नेमा जोड दिनुभयो ।
समाजमा व्याप्त अन्धविश्वासका मान्यताहरू हटाई विज्ञानसम्मत मान्यताहरू बसाल्न शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ, उहाँले भन्नुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्केकोमा चिन्ता व्यक्त गर्दै उहाँले शिक्षकहरू आफ्नो पेसाप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “शिक्षण पेसालाई समाज सेवाको रूपमा ग्रहण गर्नुपर्छ । शिक्षकहरू आफ्नो जिम्मेवारीप्रति सचेत हुनुपर्छ ।”
नक्कली भुटानी शरणार्थीमा भएको भ्रष्टाचार, देशघाती नागरिकता विधेयक, एमसीसी, एसपीपीलगायतका विषयमा प्रशिक्षण दिँदै उहाँले शिक्षकहरूको लेखन सिप माझिनुपर्ने बताउनुभयो ।
बन्द सत्रमा नेपाल प्राध्यापक समाजका प्रकाशकुमार श्रेष्ठले मानव समाजको विकास क्रमबारे प्रशिक्षण दिनुभएको थियो भने नेक्राशिसङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले शिक्षा र शिक्षक सङ्घर्षका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
बन्दसत्रमा भक्तपुर जिल्लाका नगर समितिहरूको प्रतिवेदन सम्बन्धित समितिका अध्यक्षहरूले प्रस्तुत गर्नुभएको थियो भने जिल्लाको प्रतिवेदन जिल्लाध्यक्ष जगन्नाथ सुजखुले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथि भएको छलफलपछि पाँच सदस्यीय प्रतिवेदन परिमार्जन समिति गठन गरिएको थियो ।
बन्द सत्रबाट गणेशराम थुसाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मतिबाट चयन गरिएको छ भने थप ६ सदस्य थप्ने जिम्मा पनि दिइएको छ ।
बन्द सत्र सञ्चालन गर्न सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति, निवर्तमान उपाध्यक्ष उद्धव सुजखु र केन्द्रीय सदस्य अम्बिका न्याइच्याई रहेको ३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो ।
नवनिर्वाचित पदाधिकारीहरूलाई केन्द्रीय अध्यक्ष प्रजापतिले सपथ गराउँदै अब शिक्षक सङ्घको चौथो राष्ट्रिय सम्मेलनको तयारी गर्दै जाने जानकारी दिँदै बधाई ज्ञापन गर्नुभयो । अम्बिका न्याइच्याई र सन्तराम दुलालले पनि बधाई ज्ञापन गर्नुभएको थियो ।
बन्द सत्रबाट विभिन्न १३ बुँदे राष्ट्रिय प्रस्तावहरू पनि पारित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *