कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ३१ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले शिक्षामा निजीकरण र व्यापारीकरणको नीति लिएसँगै शिक्षा महँगो र सर्वसाधारण जनता शिक्षाबाट वञ्चित हुने अवस्था सिर्जना भएको बताउनुभयो ।
ब्राइट स्टार इङ्गलिस स्कूलको ३० औँ वार्षिकोत्सव कार्यक्रम तथा नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत कार्यक्रममा बोल्दै उहाँले भक्तपुर नपाले विद्यालयको शैक्षिक उन्नतिको लागि भौतिक संरचनालाई भन्दा शैक्षिक गुणस्तरलाई जोड दिँदै आएको बताउनुभयो ।
विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगसँगै नैतिकताको पाठ र समाजप्रति उत्तरदायी बन्न प्रेरित गर्नुपर्ने बताउँदै उहाँले सामुदायिक विद्यालय, कलेज र विश्वविद्यालयमा भएको विकृतिकै कारण उच्च शिक्षा हासिल गर्न बर्सेनि हजारौँ विद्यार्थीहरू विदेशतिर आकर्षित भइरहेको बताउनुभयो ।
विश्वविद्यालयहरूलाई शासक दलहरूले योग्यताभन्दा राजनैतिक भागबन्डामा पदाधिकारीहरू नियुक्ति गर्ने थलो बनाएकै कारण ख्वप विश्वविद्यालय सम्बन्धन दिन ढिलाइ गरिरहेको उहाँले बताउनुभयो ।
देशका शैक्षिक संस्थाहरूमा भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले शैक्षिक गुणस्तरमा उचाइ प्राप्त गरिरहेको बताउँदै उहाँले नपाबाट सञ्चालित कलेजहरूको प्रभाव आज देशभरि फैलिँदै जानु गौरवको विषय भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले शिक्षा संसार बदल्ने शक्तिशाली हतियार भएको बताउनुभयो ।
कार्यक्रममा संस्थागत विद्यालय सङ्घ इसानका अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरूको सफलतामा शिक्षक र अभिभावकहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै विद्यार्थीहरूलाई समाज राष्ट्रको हितको लागि काम गर्न प्रेरित गरिरहनुपर्ने बताउनुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष पुष्पलाल सुजखूले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई युग सुहाउँदो शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा विद्यालयका प्रअ राजेन्द्र सुजखुले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्य, सुरेन्द्र साखकर्मी, रोमी शिल्पकार, सविर प्रजापति, तृष्णा सुवाल, केशरीमाया ग्वाछा, सञ्जय तामाङले विद्यालयको सबल पक्षबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमका अतिथिहरूले शैक्षिक वर्षका उत्कृष्ट विद्यार्थी र अतिरिक्त क्रियाकलापका विजेताहरूलाई बधाईज्ञापन गर्दै मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै नयाँ भर्ना भएका विद्यार्थीहरूलाई सोही अवसरमा विद्यालयमा स्वागत गरिएको थियो ।
Leave a Reply