भर्खरै :

खानेपानी सर्वसुलभ हुनु आवश्यक

खानेपानी सर्वसुलभ हुनु आवश्यक

जलस्रोतको धनी देश नेपालमा खानेपानीको हाहाकार हुनु विडम्बना नै हो । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि जनताले केही राहत महसुस गरेका थिए । खानेपानी वितरणको सुरुको वर्षमा बाढी पहिरोको कारण लामो समयसम्म खानेपानी आपूर्ति बन्द भएको थियो । त्यसको मर्मत सम्भारपछि वितरण भएको मेलम्चीको खानेपानी फेरि मर्मत सम्भारको कारण देखाएर जेठ १ गतेदेखि बन्द गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट ल्याइएको खानेपानी फेरि बन्द भएका कारण उपत्यकावासीहरू खानेपानीको समस्यामा परेका छन् । मेलम्ची खानेपानी योजनाको संरचना कमजोर भएको कारण बरोबर मर्मत सम्भार गर्नुपरेको देखिन्छ । मेलम्ची खानेपानी योजनाको निर्माणको क्रममा अनुगमन नहुँदा या अनुगमन भए पनि सतही ढङ्गले भएको कारण खानेपानी समस्या निम्तिएको हो ।
सरकारले एक घर एक धाराको नारा अघि ल्यायो । तर, यहाँ एक घर एक धाराको बन्दोबस्त भएको छैन । जहाँ धारा जडान भएको छ त्यहाँ पानी आएको छैन । भक्तपुर नगरभित्रका माथिल्लो भेगमा १५÷२० दिनको एक दिन त्यो पनि एक घण्टा पानी आउँछ । त्यो पानी पनि कहिले आउँछ कहिले आउँदैन । पानी आउने दिन निश्चित नभएर ग्राहकले खानेपानी लिन पाउँदैन । खानेपानीको अभावमा ग्राहकले एकातिर पैसा तिरेर ट्याङ्कर र जारबाट पानी ल्याउनुपर्छ भने अर्काेतिर पानी नआए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा नियमित खानेपानी शुल्क तिर्न उपभोक्ताहरू बाध्य छन् । भक्तपुर नगरको तल्लो भागमा पनि मेलम्चीको पानी आपूर्ति भएको हो । माथिल्लो भेगमा खानेपानीको बन्दोबस्त गर्न पाइप बिछ्याउने काम भइरहेको छ । त्यो पाइप बिछ्याउन नपाउँदै मेलम्चीको खानेपानी बन्द गरिएको छ । त्यसो त भनपाले बोरिङ गर्दै अन्य विकल्प खोजिरहेको छ । कति ठाउँमा खानेपानी वितरण सुरु भएको

छ । पहिले बोरिङबाट वितरित खानेपानी अभावको कारण कति ठाउँमा बन्द भएको छ ।
खानेपानीको स्रोत कम भएपछि नगरवासीहरू इनारको पानी प्रयोग गर्छन् । कति इनारमा पानीको स्रोत छैन भने कति इनारमा खानेपानीको राम्रो स्रोत पाइन्छ । नगरमा रहेको इनारले पनि इनार वरिपरि बसेका स्थानीय जनताको राम्रो स्रोत बनेको छ । पहिले राजकुलोबाट चलेका ढुङ्गेधारा अहिले चलेको छैन । कहीँकतै ढुङ्गेधारा पनि चलिरहेको पाइन्छ । त्यो पनि एक अर्काे महत्वपूर्ण स्रोत बनेको छ । तैपनि, उपत्यकावासीको आशा र विश्वास मेलम्ची खानेपानी नै हो । वर्षैभरि जहाँ जहाँ मर्मत सम्भार तथा पुनः निर्माण गर्नुपर्ने हो गरेर वर्षैभरि उपत्यकामा खानेपानी आपूर्ति हुने बन्दोबस्त सरकारले गर्नु आवश्यक छ । खानेपानीको अर्काे स्रोत वर्षाको पानी पनि हो । वर्षाको पानी सङ्कलन गरेर पनि सुख्खा याममा खानेपानीको व्यवस्था गर्न सकिन्छ । यी स्रोतबाहेक खानेपानी आपूर्ति मन्त्रालयले अन्य स्रोतहरूको पनि खोजीनीति गर्नुपर्छ, खोजीनीति गरेर बोरिङ गर्नुपर्छ र खानेपानी सर्वसुलभ बनाउनुपर्छ । तर, सरकार या सरकारको नेतृत्व गरिरहेका दलका नेताहरू यसतर्फ चिन्तित भएको देखिँदैन । कति भएको काम पनि ढिलाइ हुन्छ । यसले गर्दा जनता खानेपानीको अभावमा मारमा परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *