आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहित १६ जना र फरार १६ गरी ३२ जनामाथि राज्यविरूद्धको अपराध, सङ्गठित अपराध, ठगी र किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको निष्कर्ष छ ।
रायसहितको प्रतिवेदन सम्भवतः आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाउने स्रोतले बतायो । शुक्रबार नै बुझाउने तयारी रहे पनि बिहीबार यो प्रकरणमा भुटानी शरणार्थीसमेत रहेका अधिकारवादी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेपछि प्रतिवेदन पेस गर्ने समय लम्बिएको हो ।
पक्राउ परेकामध्ये सार्वजनिक पदमा रहिसकेकाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग र बाँकीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि थप अनुसन्धान गर्नुपर्ने भन्दै दुवै निकायमा लेखी पठाउने राय छ ।
प्रतिवेदन बुझाइसकेपछि थप अध्ययन गर्दा अन्योल नहोस् भनेरै सरकारी वकिलहरूको सहयोग लिइएको छ, प्रहरीसँगै उहाँहरू पनि खटिनुभएको छ ।
पक्राउ अभियुक्तविरूद्ध कसुर गर्दाको भूमिका र संलग्नता अनि सार्वजनिक जिम्मेवारीको अवस्था हेरेर छुट्टाछुट्टै ‘चार्जसिट’ सहित बिगो, कैद र जरिवाना मागदाबी गरिनेछ । अनुसन्धानसम्बद्ध स्रोतले भन्यो, ‘फरार रहेकाको हकमा भने पक्राउ परेपछि कानुनबमोजिम हुने भनेका छौँ ।’
काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले अदालतले दिएको समयभित्र अनुसन्धान टुङ्ग्याएर रायसहितको प्रतिवेदन अभियोजन गर्ने निकाय (सरकारी वकिल) मा पेस गरिने बताए ।
जुन देशका नागरिकलाई नै विदेशी मुलुकको शरणार्थी बनाएर तेस्रो देश लैजाने धन्दा चलाइएको छ, यो सरासर राज्यविरूद्धको अपराध हो, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “यो प्रकरणमा संलग्नलाई ठगी, सङ्गठित र किर्तेका अलाबा राज्यविरूद्धको कसुरमा मुद्दा चलाउन राय दिएका छौँ ।”
सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन नै गायब पारेर तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले गिरोहको योजनाअनुसार फर्जी विवरण थपेको देखिएको छ । त्यसलाई किर्तेको कसुरमा कारबाही गर्नुपर्ने प्रहरी राय छ । कान्तिपुर, जेठ ६ गते
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने काममा ‘सहयोग गर्न’ काङ्ग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले बिचौलियाबाट बुझेको एक करोड फिर्ता दिएको प्रमाण प्रहरीले फेला पारेको छ । पूर्वसांसद आङटावा शेर्पामार्फत उनले सो रकम फिर्ता दिएका थिए । तर, शेर्पाले ३० लाख मात्रै फिर्ता गरेर ७० लाख आफैँ राखेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका बिचौलियाले आफ्नो नाम पोलेपछि उनीहरूलाई फकाउन बालकृष्ण खाणले शेर्पालाई खटाएको पुष्टि भएको छ, अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘पैसा फिर्ता नै गरेको प्रमाणित भएपछि उहाँविरूद्ध थप बलियो प्रमाण भएको छ, बढी बाठो हुँदा यो मुद्दामा उहाँ झन् फस्नुभयो ।”
हाल खाणसहित आङटावा र नरेन्द्र केसी पनि प्रहरी हिरासतमै छन् । खाणकै कार्यकालमा गृहमन्त्रालयमा भुटानी शरणार्थीसम्बन्धी प्रतिवेदन किर्ते गरेर आठ सय ७५ जनाको नाम थपिएको पुष्टि भइसकेको छ ।
शङ्कित थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरी पूरक अभियोग लैजाने तयारी प्रहरीको छ । करिब एक दर्जन व्यक्तिलाई फरार अभियुक्तको रूपमा मुद्दा दायर हुने सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।
१६ जना पक्राउ परेकोमा दुईजनाको बयान नै हुनसकेको छैन । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालयअन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान भएन । उनीहरूको शनिबार बयान गर्न लागिएको छ ।
सङ्गठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ । तर, समय अपुग हुँदा कतिपय विषयमा अनुसन्धान अधुरै छ । नयाँ पत्रिका, जेठ ६ गते
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गरेको गिरोहले पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा नक्कली अनुसूची थपेर ८७५ जनाको नाम थपेको थियो ।
तर, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँमा गरेर जम्मा १०६ जना पीडितले मात्र किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार हालसम्म २३ वटा किटानी जाहेरी प्रहरी कहाँ परेको छ ।
उनीहरू सबैबाट कम्तीमा ५ लाख रूपैयाँदेखि ४५ लाख रूपैयाँसम्म असुली गरेर अनुसूचीमा नाम राखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले गरेको पछिल्लो हिसाबमा जम्मा २३ करोड रूपैयाँ उठाएको देखिएको थियो । मुद्दा दर्तासम्म पुग्दा ५० करोड रूपैयाँको हाराहारीमा पुग्न सक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । त्यसो त सुरूमा यो गिरोहले कम्तीमा एक अर्ब रूपैयाँ उठाएको हुनसक्ने अनुमान गरिएको थियो । अनलाइन खबर, जेठ ६
Leave a Reply