साम्राज्यवादका प्रमुख हतियारहरू
- कार्तिक १६, २०८३
भक्तपुर नगरपालिका वडा नं. ९, गछेँ टोलमा रहेको श्री नवदुर्गा मन्दिर भक्तपुर नगरको प्रसिद्ध मन्दिर हो । मानव समाजमा आधारित यस नवदुर्गा भवानीको प्रसिद्ध ङालाकेगु जात्रा मल्लकालीनदेखि हालसम्म निरन्तर सञ्चालनमा रहेको छ । हरेक वर्ष आठ महिना मकुण्डोसहितको र चार महिना मकुण्डोबिनाको जात्रा नवदुर्गा भवानीको विभिन्न तिथिमितिहरूमा विभिन्न तान्त्रिक पूजाआजासहित हुन्छ । हरेक वर्ष सिथि चःह्रे तिथिपश्चात् ऐतिहासिक नवदुर्गा मन्दिरभित्रको चोकमा नवदुर्गाको देवाली पूजा (स्वं छा) हुन्छ । यस वर्ष जेठ ७ गते आइतबारको दिन उक्त पूजा हुन्छ ।
नेवार समुदायमा हरेक वर्ष परिवारको सुस्वास्थ्य, कुल शान्ति, प्रकृतिसँग सामना गर्ने आधारशक्ति प्राप्ति तथा परिवारको सुखशान्तिका लागि कुल देवतालाई पूजा गर्ने परम्परा रहेको छ । नवदुर्गा मन्दिरमा पनि हरेक वर्ष नवदुर्गाको देवाली पूजा हुने गर्दछ । नवदुर्गाको देवाली पूजाको दिनदेखि मनसुन वर्षा सुरु हुने जनविश्वास छ । नवदुर्गाको देवाली पूजाबारे केही जानकारीहरू यसप्रकार छन् ः
नवदुर्गाको देवाली पूजाको दिन बिहानै नवदुर्गा मन्दिरमा लिपपोत गरी सरसफाइ गरिन्छ । नवदुर्गाका देवगणहरूले आ–आफ्नो घरमा पनि सफा गरी पूजाआजाका सरसामानहरू तयार गर्ने गर्छन् । देवगणहरू आ–आफ्नो घरमा तयारी गरिएका स्वं खचा (रङ्गीचङ्गी विभिन्न फूलहरू सजाएर बनाएको तोरण), फूलको माला, पूजा सामग्री तथा भोजका परिकारहरूसहित मन्दिरमा पुग्छन् । सम्पूर्ण देवगणहरू मन्दिरमा पुगेपश्चात् नायो (नवदुर्गाको वरिष्ठ÷मुख्य व्यक्ति) को सहमतिमा देवगणहरूले आ–आफ्नो देवताका मकुण्डोहरू मन्दिरको चोकमा व्यवस्थित तरिकाले राख्छन् । त्यसपछि देवगणहरूले आ–आफ्नो देवताहरूको विधिवतरूपमा पूजा साधना गरी क्रमशः खिं बाजा, तं बाजा, कंश बाजा, भैरव, महाकाली, बाराही, कुमारी, धोम्हा पोमी, महालक्ष्मी (दातिम्हा पोमी), झिम्हा पोमी, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्ह, सिम्ह, श्वेत भैरव र अन्तिममा नकीं (मन्दिरको नित्यपूजा गर्ने मुख्य महिला पुजारी) बाट पूजा र बलि दिने परम्परा छ । पूजा सामग्रीसँगै विभिन्न नेवारी परिकारहरू अण्डा, बारा, चतामारी, सम्हेबजी, गोजा (भात वा चिउराबाट बनाइने परिकार) सतुङ (भुटेको गहुँको पीठोबाट बनाउने परिकार), मासुका परिकार तथा आलुबखडा, काँक्रो आदि चढाउने परम्परा छ । मन्दिरको चोकमा फूलका मालाहरूले झिलिमिली सजाउने र मकुण्डोलाई फूलको तोरणले सजावत गर्ने गरिन्छ । यस दिन भैरव, महाकाली र बाराही तीन जना देवगणले घाजी नं (सेतो जामा) पोशाक लगाउने गरिन्छ । देवगणका सम्पूर्ण परिवार मन्दिरमा उपस्थित हुने र पूजाआजा गरी देवाली पूजा हर्षउल्लासका साथ मनाउने गरिन्छ । देवाली पूजा गरिसकेपछि देवगणहरूलाई भोजन ग्रहण गराइन्छ र पुनः बेलुका देवगण र देवगणका सपरिवारले मन्दिरमा भोज खाने परम्परा छ ।
यसरी नवदुर्गा मन्दिरभित्र नवदुर्गाको देवाली पूजा सम्पन्न गरिन्छ । देवगणहरू वर्षभरि आउने विभिन्न चुनौती तथा सामना समाधान होस्, आफूले गरेको कामको सफलता मिलोस्, दिनदशा राम्रो होस्, परिवारको सुस्वास्थ्य तथा शान्तिको कामना गरी देवाली पूजा गर्ने गर्छन् ।
देवाली पूजाको ८ दिनपश्चात् भक्तपुर दरबार क्षेत्र नजिक इछु टोलमा यो वर्षको अन्तिम ङालाकेगु जात्रा गरिन्छ । जेठ २५ गते भक्तपुर दरबार क्षेत्रको मूल चोकमा सिंजा नकेगु (अन्तिम भोज) ग्रहण तथा रात्रिकालीन नवदुर्गा नाच प्रदर्शन गरिन्छ । जेठ २८ गते आइतबारका दिन भलभल अष्टमीको दिन भक्तपुर नगर परिक्रमा गरी भनपा वडा नं. ९ स्थित ब्रह्मायणी पीठमा नाय्खिं बाजाको साथमा नवदुर्गा जले बिज्याकेगु (अग्नि समायोजन) गर्ने गरिन्छ । यसरी यस वर्षको नवदुर्गाको जात्रा तथा नाच सम्पन्न हुन्छ ।
भक्तपुर नगरको सांस्कृतिक धरोहर नवदुर्गाको जात्रा एवम् नाचलाई संरक्षण एवम् जीवन्त राख्नका लागि सम्बन्धित निकायबाट आवश्यक सहयोगको आशा एवम् विश्वास गर्दै यस जात्रा एवम् नाचलाई व्यवस्थित तरिकाबाट निरन्तररूपमा सञ्चालन गर्ने विश्वास दिलाउन चाहन्छु ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार हुनुहुन्छ ।)
Leave a Reply