भर्खरै :

विभिन्न स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूद्वारा भक्तपुर नगरपालिकामा अवलोकन भ्रमण

विभिन्न स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूद्वारा भक्तपुर नगरपालिकामा अवलोकन भ्रमण

भक्तपुर, ८ जेठ । विभिन्न स्थानीय तहका उपप्रमुख, वडाध्यक्ष तथा उपाध्यक्षहरूको टोलीले सोमबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटी नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरूबारे अनुभव आदानप्रदान ग¥यो ।
टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र सांस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर निरन्तर अघि बढिरहेको बताउनुभयो ।
संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले नीति निर्माण गर्दै जनताको हितको निम्ति शिक्षा र स्वास्थ्यजस्ता विषयहरू न्यून शुल्कमा सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले पारदर्शिता र इमानदारिता नै जनविश्वास जित्ने मुख्य आधार भएको चर्चा गर्दै उपभोक्ता समितिमार्फत काम गर्दा स्थानीय मौलिक सीप र प्रविधिको प्रयोग हुने, रोजगारी पाउने, गुणस्तरीय निर्माण हुने हुँदा भक्तपुर नपाले उपभोक्ता मोडललाई नै जोड दिइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर अहिले विभिन्न स्थानीय तहहरूको अध्ययन भ्रमण गर्ने थलोको रूपमा विकास भइरहेको औँल्याउँदै जनप्रतिनिधिहरूबिचको एकापसको अनुभव आदानप्रदानले हौसला मिल्ने बताउनुभयो ।
चौतारा साँगाचोक गढीका उपप्रमुख सीता थापाले विश्वको ध्यान भक्तपुरप्रति केन्द्रित भइरहेको उल्लेख गर्दै भक्तपुरको सामीप्यता र एकता नै यहाँको सफलताको सूत्र भएको बताउनुभयो ।
लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष मिठुदेवी लामाले भक्तपुरका जनप्रतिनिधिहरू जनताको सेवकको रूपमा खटिनुभएको उल्लेखनीय पक्ष भएको उल्लेख गर्दै भक्तपुर नपा देशकै सानो नपा भएर पनि देशकै लागि उदाहरणीय काम गरिरहेको बताउनुभयो ।
बाग्मती प्रदेश सुशासन केन्द्रका उपाध्यक्ष विनोद बिडारीले विकास निर्माणको काममा उपभोक्ता समितिलाई पारदर्शी बनाउन सकिए विकासले छिटो गति लिने बताउनुभयो ।
टोलीमा महालक्ष्मी नपाका उपप्रमुख लक्ष्मी महर्जन, भोटेकोसी गाउँपालिकाका उपाध्यक्ष दिछेन शेर्पा, महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले, लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष मिठुदेवी लामा, हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्साल लामिछाने, पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, चौतारा साँगाचोकगढी नपाका उपाध्यक्ष सीता थापा र जुगल गाउँपालिकाका वडाध्यक्ष रवीन्द्र घिमिरे र प्रशासनिक कर्मचारीहरूको उपस्थिति थियो ।
नगर प्रमुख प्रजापतिले उपस्थित सबैलाई नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *