भर्खरै :

प्रमको भारत भ्रमण देशको अहितमा नहोस्

‘जनयुद्ध’ को बेला भारतको संरक्षण र सुरक्षामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्ने तयारी गरेको जानकारी सञ्चारमाध्यममा आएको छ । भारत भ्रमण प्रम दाहालको इच्छा हो या भारतको हो ? त्यो समयले पुष्टि गर्नेछ । प्रम दाहालको भारत भ्रमण नेपालको हितमा हुन्छ या भारतको हितमा हुन्छ ? यो पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । भारत भ्रमणको क्रममा हालसम्म भएका सन्धि सम्झौता नेपाल र नेपालीको हितभन्दा भारतीय शासकहरूको स्वार्थ पूरा गर्न केन्द्रित रहेको छ । अहिले हुने भ्रमण नेपाल र नेपालीहरूको हितमा हुन्छ या भारतको हितमा ? चिन्ताको विषय छ ।
भारतीय शासक र नेपाली शासकहरूको कारण अहिलेसम्म नेपाल–भारत सीमा खुला व्यवस्थित भएको छैन । भएका सन्धि र सम्झौता भारतीय शासकहरूको स्वार्थमा भएको देखिन्छ । नेपाल–भारत प्रबुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले दाहालको भ्रमणमा कर्णाली वा कोसी नदीमा सम्झौता गर्नसक्ने शङ्का व्यक्त गरे । यो भ्रमणमा उनले कोसी र कर्णाली जलाशय आयोजना भारतलाई दिने सम्झौता गर्नसक्ने शङ्का व्यक्त गरे । यदि यो कुरा साँचो हो भने आम जनता सचेत हुनुपर्छ । के कुनै विदेशको भ्रमण गर्नु भनेको सन्धि सम्झौता गर्न हो ? के सन्धि सम्झौता नेपाल र नेपाली जनताको अहितमा गर्नु सरकारको जिम्मेवारी हो ?
अतिक्रमित भूमि फिर्ता लिन सके, अबका दिनमा नेपाली भूमि अतिक्रमण गर्न नदिने प्रतिज्ञा गरे, नेपाली भूमिमा रहेका भारतीय सेना फर्काउन सके प्रम दाहालको भ्रमण सफल हुनेमा शङ्का छैन । भारतले एकतर्फीरूपमा नेपाल–भारत सीमामा बनाएका बाँध तथा तटबन्ध भत्काउन सके र आगामी दिनमा अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध बनाउन नदिए प्रम दाहालको भारत भ्रमणलाई सफल मान्नैपर्छ । प्रम दाहालको भारत भ्रमण केको लागि ? कसको हित गर्न प्रम दाहाल भारत भ्रमणमा जान लागेका हुन् ?
भारत नेपाललाई मित्र र छिमेकी देशको रुपमा बखान गर्छ । तर, भारतीय शासकहरूको दबाब, अतिक्रमण, क्रियाकलाप हेर्दा भारतले नेपाललाई आफ्नो प्रान्त वा उपनिवेश वा शत्रुको रूपमा हेरिरहेको छ । भारत नेपाललाई स–साना स्वार्थ बाँडेर या विकास र आर्थिक सहयोगको सपना बाँडेर कहिले नेपालको जलस्रोत हात पार्ने काम गर्छ त कहिले नेपाली भूमि अतिक्रमण । कहिले अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध निर्माण गर्छ त कहिले नेपाल–भारत सीमामा तटबन्ध बनाएर नेपाली भूमि डुबानमा पार्छ र करोडौँ बराबरको धनजनको क्षति गर्छ । यसकारण, नेपालका प्रमहरूले भारत भ्रमण गर्दा के कस्ता देशको अहितमा असमान सन्धि सम्झौता गर्ने हुन् भन्ने चिन्ता नेपाली जनतामा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *